गान्तोक, 13 मई : उत्तर सिक्किममा 300 होइन, तर करिब एक हजार चौरी गाई मरेका उत्तर सिक्किम जिल्ला प्रशासनले बताएको छ। पछिल्लो शनिबार अर्थात् 11 मईको उत्तर सिक्किमको मुकुथाङमा चौरी गाईहरू मरेको घटना प्रकाशमा आएपछि जिल्ला प्रशासनले सतर्कता देखाएको छ।
अत्यधिक हिमपातको कारण खाद्यान्न्न कमीले ती चौरी गाईहरूको मृत्यु भएको उत्तर जिल्ला प्रशासनले जनाएको छ। यद्यपि प्रतिदिन चौरी गाईको मृत्युको सङ्ख्या बढ़िरहेको छ। उत्तर जिल्लाका जिल्ला अधिकारी राज यादवका अनुसार मृत चौरी गाईको सङ्ख्या एक हजारभन्दा अधिक पुगिसकेको छ। उनका अनुसार जिल्ला प्रशासन र पशु विशेषज्ञ एक टोली मुकुथाङ र युमथाङ पुगिसकेको छ।
पशु चिकित्सा विभाग र जिल्ला प्रशासनको टीमले बाँचेका चौरी गाईहरूको उपचार गर्नका साथै खाद्यान्न दिन शुरु गरेका छन्। मुकुथाङ र युमथाङमा बाँचेका अन्य चौरी गाईहरूको अवस्था पनि सोचनीय रहेको बताइएको छ। यद्यपि यी चौरी गाईहरूलाई बचाउन प्रशासनले उपचार र खाद्यान्नको व्यवस्था गरिरहेको छ।
शनिबार एकै ठाउँमा करिब तीन सय चौरी गाई मृत भेटिएपछि उत्तर जिल्ला प्रशासन सतर्क बनेको थियो। मुकुथाङ र युमथाङको हिउँले ढाकिएका अन्य ठाउँहरूमा थप चौरी गाईहरू मरेको हुनसक्ने त्यसबेला जिल्ला प्रशासनले आशङ्का जताएको थियो।
जिल्लापाल यादवका अनुसार पछिल्लो दिसम्बर महिनादेखि अत्यधिक हिउँ परेपछि ती चौरी गाईहरू एक ठाउँ थुनिएका थिए। जसको फलस्वरूपमा खाद्यान्नको कमीले यति धेरै सङ्ख्यामा चौरी गाईको मृत्यु भएको हो। यद्यपि अत्यधिक हिउँको कारण खाद्यान्नको कमीले चौरीहरूको मृत्यु भएको कारणसँग धेरै सहमत छैनन्।
चीनको सीमादेखि जोड़िएको उत्तर सिक्किममा भारतीय सेनाले आफ्नो चौकी विस्तार गरेदेखि चौरी गाईहरूको चरण क्षेत्र मासिँदै गएकोले चौरीको मृत्यु प्रतिवर्ष भइरहेको उषा लाचुङ्पा बताउँछिन्। उनी वन विभागकी अवकाशप्राप्त प्रिन्सिपल चिफ रिसर्च अफिसर हुन्। अत्यधिक हिमपातले खाद्यान्नको कमीका कारण प्रतिवर्ष चौरी गाईहरू मर्दै आएको कुरालाई उनले स्वीकारे तापनि चौरी गाईहरू ठूलो सङ्ख्यामा मर्नुको कारण उत्तर सिक्किममा सेनाको चौकी र ढाँचागत विकासले चरण क्षेत्र मासिनुलाई प्रमुख मान्छिन्।
“चौरी चर्ने धेरजसो ठाउँमा सेनाले आफ्नो क्याम्प बनाएपछि हरियो घाँसपात मासिएको छ”, उनले थपिन्, “घाँसपात मासिएपछि चौरी गाईहरूका लागि खाद्यान्नको अभाव हुनु स्वाभाविकै हो।”
उनका अनुसार विभागबाट चौरी गाईहरूले खाद्यान्न व्यवस्था गरेको खण्डमा पनि ती खाद्यान्न चौरी गाईहरूसम्म सटिक रूपले पुग्ने कुरामा शङ्का छ। किनभने चौरी गाईहरू उच्च स्थानमा रहने हुनाले त्यहाँसम्म खाद्यान्न पुग्न कठिन छ।
“हिमालको गहना नै चौरी गाई हो। चौरी गाई नै नरहेपछि हिउँको के अर्थ?”, उनी भन्छिन्, “चौरी गाईहरू बचाउन विभागले सटिक पहल गर्नुपर्छ।” अहिले उत्तर सिक्किमको उच्च हिमाली स्थानमा चौरी गाईसँगै चौरी पाल्दै आएका ‘डोक्पा’ समुदायको पनि अस्तित्व सङ्कटमा परेको उनी बताउँछिन्।
यसभन्दा अघि 1994 सालमा पनि चौरी गाई मरेको घटना उनी सम्झिन्छन्। यद्यपि त्यसबेला अहिलेको जस्तो धेरै सङ्ख्यामा भने चौरी गाईहरू मरेका थिएनन्। यसका साथै चौरी गाई मात्र होइन, तर उत्तर सिक्किममा पाइने अन्य वन्यपशु नै विलुप्त बन्दै गइरहेको उनले बताएकी छन्।
अर्कोतिर मुकुथाङमा पेमा थिन्लेका पनि दर्जनौं चौरी मरेका छन्। वर्षौंदेखि चौरी पाल्दै आएका पेमा थिन्लेले जनसंवादलाई टेलिफोनिक बताएअनुसार उनका बाँचेका अन्य चौरी गाईहरूको अवस्था पनि चिन्ताजनक छ।
“यसरी भकाभक सयौं चौरी मरेको पहिलोपटक हो। वर्षमा 8-10 वटा चौरी हिउँले मर्ने गर्थे, तर यसपालि अस्वाभाविक रूपले सयौं चौरी भकाभक मरे”, पेमा थप्छन्, “जति बाँचेका छन्, त्यसमध्ये धेरैजसो कमजोर भएका छन्। आँखाबाट लगातार आँसु झारिरहेका छन्। ती चौरीहरू पनि बाँच्छन् जस्तो लागिरहेको छैन।”
उनका लगभग 200 चौरी गाई छन्। रहल चौरीहरू बचाउनका लागि घाँसपातको जोहो गर्न उनी अहिले लागिपरेको बताउँछन्।