दार्जीलिङ, 13 मई : यसैवर्षको अन्त्यसम्म दार्जीलिङमा जीटीए र द्विस्तरीय पञ्चायत चुनाउ हुने विनय तामाङले दाबी गरेका छन्। स्वतन्त्र उम्मेदवारको रूपमा दार्जीलिङ विधानसभाको उपचुनाउमा खड़ा भएका तामाङले सोमबार दार्जीलिङ शहरी क्षेत्रहरूमा चुनाउ प्रचार गरे। यसैअवधिमा तृणमूल कङ्ग्रेस समर्थित स्वतन्त्र उम्मेदवार विनय तामाङले यस्तो दाबी गरेका हुन्।
यसअवसरमा उनले विभिन्न ठाउँमा पथसभालाई पनि सम्बोधन गरे। हाल राज्य सरकारले जीटीए एक्ट रिभ्यु गर्ने काम गरिरहेको तामाङले बताए। उनका अनुसार जीटीए एक्ट रिभ्यु कार्य पूरा हुनसाथै जीटीए चुनाउ हुनेछ। उनले थप बताएअनुसार जीटीए चुनाउपछ पहाड़का 8 खण्डलाई बढ़ाएर 12 बनाइनेछ। यसपछि दार्जीलिङ पहाड़मा द्विस्तरीय पञ्चायत चुनाउ हुनेछ।
आज उनले आफ्नो सम्बोधनमा जीटीए र पञ्चायत चुनाउपछि दार्जीलिङ पहाड़मा विकासको भेल उर्लिने दाबी पनि गरे।
अर्कोतिर, आज सिंहमारी तकभर समष्टिअन्तर्गत शान्ति पर्वत शाखाबाट गोजमुमो विमलपन्थी गोजमुमो र गोरामुमोबाट 15 परिवार विनयपन्थी गोजमुमोमा सामेल भएको पनि दाबी गरिएको छ। शहरको 18 नम्बर वार्डमा आज आयोजित चुनाउ प्रचार कार्यक्रमअवधि ती 15 परिवार विनयपन्थी गोजमुमोमा सामेल भएको बताइएको छ। सामेल हुनेहरूमा गोरामुमो नेता अजय एडवर्ड र नीरज जिम्बासँग घनिष्ठ रहेका दिवस राई पनि छन्। आजको चुनाउ प्रचार अभियानमा तामाङसँग तृणमूल कङ्ग्रेसका लोकसभा उम्मेदवार अमरसिंह राई, पूर्व विधायक डीके प्रधान, तृणमूल नेता एनबी खवासलगायत अन्य उपस्थित थिए।