दार्जीलिङ, 13 मईः आज दार्जीलिङ आइपुगेका सांसद राजु विष्टले बङ्गालमा भारतीय जनता पार्टीको सरकार नबने तापनि सङ्कल्प-पत्रमा गरिएको वाचा पूरा र यसका लागि भाजपा वचनबद्ध रहेको दावी दोहोऱ्याएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै उनले उक्त दावी दोहोऱ्याएका हुन्।
उनले स्थायी राजनीतिक समाधानका लागि सबैलाई मिलेर अघि बढ़्ने आउने अपील गरेका छन्।
आउँदा दश-पन्ध्र दिनपछि कोरोना कहर केही कम्ती भएपछि यसबारे गृहमन्त्रीसँग कुरा गर्ने विष्टले बताए।
“केन्द्र सरकारले स्थायी राजनीतिक समाधानका लागि राज्य सरकार र यहाँका प्रतिनिधिहरूलाई निम्ताइयोस् भन्ने मेरो प्रयास रहनेछ”, उनले थपे।
विष्टका अनुसार गृहमन्त्री अमित शाहले दार्जीलिङ पहाड़ आएर गोर्खासम्बन्धी जुन मुद्दाहरूको उल्लेख गरे, त्यो आफैमा इतिहास हो।
उनले सङ्कल्प-पत्रमा वाचा गरिएको गोर्खाहरूका मुद्दा समाधानका लागि आफू एक माध्यम रहेको र आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नभाग्ने पनि बताए।
“हाम्रा क्षेत्रका जति पनि समस्याहरू छन्, ती समस्याहरूको चाँड़ोभन्दा चाँड़ो समाधान गर्नका लागि म कोशिश गर्नेछु”, विष्टले थपे।
अर्कोतिर, उनले जीटीएको प्रशासक पदमा कुनै पार्टीका नेतालाई नराख्ने राज्य सरकारको निर्णय स्वागतयोग्य कार्य रहेको बताउँदै यो स्थायी राजनीतिक समाधानका लागि एक अवसर रहेको बताए।
साथै यस समयमा दुवै मोर्चाका नेतृत्वहरू विमल गुरुङ, अनित थापा र विनय तामाङले स्थायी राजनीतिक समाधानका लागि राज्य सरकारलाई चाप दिनुपर्ने विष्टको भनाइ छ।
“म स्वयं पनि गृहमन्त्रीसँग यसबारे कुरा गर्नेछु। प्रिन्सिपल सेक्रेटरी जीटीएका चेयरम्यान बसेको यो उपयुक्त समय हो। स्थायी राजनीतिक समाधानका लागि वार्ता शुरू हुनसक्छ”, उनले थपे, “ यदि राज्यले पनि वार्तामा भाग लिएर स्थायी राजनीतिक समाधान सजिलै र बिनातनाव हुनसक्छ। यसैले म सबैसँग निवेदन गर्दछु-कृपया गरी जीटीएको कुर्सी हत्याउने होड़मा नलाग्नुस्; किनभने तपाईंहरू जीटीएको कुर्सीतर्फ जति बढ़्नु उति उति जनताबाट टाढ़ा जानुहुन्छ।”
अर्कोतिर, उनले अहिले सबैको प्राथमिकता कोरोना भाइरसलाई पराजित गर्नु हुनुपर्ने पनि बताए। यसका लागि आफू पनि लागिपरेको जानकारी गराए।
उल्लेखनीय छ, आज दार्जीलिङ र खरसाङका विधायकद्वय नीरज जिम्बा र बीपी बजगाइँसँग महाकाल बाबाको मन्दिर पुगेका विष्टले त्यहाँ पूजा अर्चनासमेत गरेका थिए।
Good job sir your right