दार्जीलिङ, १३ जून : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-पहिलो खेमाका अध्यक्ष विमल गुरुङले लोकसभा चुनाउ र विधानसभाको उपचुनाउमा भएको लज्जास्पद हारपछि राज्य सत्ता पागल भएर पुलिसी अन्याय-अत्याचारमार्फत पहाड़लाई अशान्त पार्ने काम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले यस्तो आरोप लगाएका हुन्। विमलका अनुसार उनीहरूलाई जबर्जस्ती कानुनी माखे साङ्खोमा बाँधेर गोर्खाल्याण्डको माग कहिल्यै गर्न नसक्ने अवस्था बनाउन राज्यसत्ता चाहन्छ।
‘चुनाउपछि शान्त देखिनुपर्ने पहाड़, पुलिस प्रशासनको एकपक्षीय कारबाहीमा परी अशान्त बनिरहेको छ’, गुरुङले बनेका छन्, ‘मलाई झुकाउने उद्देश्यले मेरा जातिमाथि अत्याचार गरिरहेको छ।’ साधारण जनतालाई सन्त्रासमा राख्नका लागि नै बीपी बजगाइँ, मञ्जुला तामाङ, रजनी गुरुङ, ललिता छेत्री, आरपी वाइबा र निमा तामाङहरूलाई पुलिसले पक्राउ गरेको उनको भनाइ छ।
‘हिजो मात्र मिरिक प्रताप गाउँनिवासी हाम्रा कर्मठ कार्यकर्ताद्वय अजय खाती र उत्तम घिसिङको घर कुड्की गरियो। कानूनको रक्षकहरू नै भक्षक बनिरहेका छन्’, उनले थपे, ’८० वर्ष पुगेका आरपी बाइवामाथि गरिएको पुलिसको प्रताड़नाले त मानवताविरुद्ध कार्यले सीमा नाघ्यो। पुलिस – प्रशासनको यस्तो भूमिकाको म कड़ा शब्दमा निन्दा गर्दछु।’
गुरुङले विज्ञप्तिमा थप भनेका छन्, ‘यति धेर अन्याय, अत्याचार र प्रताड़नाहरूबीच पनि मैले मेरो लक्ष्य भुलेको छुइनँ। आज मैले भोगिरहेका कष्टहरू नै भोलिका मेरा सन्तानहरूको उन्मुक्तिको सिँढ़ी हो। आफ्नो लक्ष्य प्राप्त नभएसम्म म मेरो सङ्घर्ष पथबाट पछि हट्ने छुइनँ। मेरा गोर्खा सन्तानहरूको साथ र भरोसाले नै आज हाम्रो साझा मुद्दालाई यतिको उँचाइसम्म पुऱ्याउन सफल भएको छौं। हामी जति हाम्रो लक्ष्यको नजिक पुग्छौं, बङ्गाल सरकारले उति धेरै सताउनेछ भन्ने कुरा पनि मलाई राम्ररी छाह छ।’
राज्य सत्ताको षड़यन्त्रमा परेर गोर्खाल्याण्डको मुद्दा मर्न दिनु हुँदैन भन्ने मान्यता राखेरै आफू मुद्दा बचाउनका लागि लागिपरेको ठोकुवा गुरुङको छ।
‘जातिले मुक्ति प्राप्त नगरेसम्म म मेरो कर्तव्य पथबाट अलिकति पनि पछि हट्ने छुइनँ, यो मेरो प्रतिबद्धता हो’, विमलले भनेका छन्।
यसका साथै राज्य सत्ताले एकता तोड़्न चाहिरहेको गुरुङले बताएका छन्। ‘हामीलाई टुक्रा टुक्रा पारेर हामीमाथि राज गर्न चाहन्छ। म जातीय एकता यथावत राख्न मेरा सन्तानहरूलाई आह्वान गरिरहन्छु’, उनले भनेका छ।
विज्ञप्तिमा उनले प्रत्येक समर्थक र गोर्खाल्याण्ड आन्दोलनकारीहरूको सुरक्षाको पनि ख्याल राखेर विक्षिन्न कानुनी पदक्षेप लिने काम भइरहेको जनाएका छन्। ‘सम्पूर्ण कार्यहरू हाम्रो रणनीति अनुसार नै अघि बढ़िरहेको छ। हामी आतिएर, उड़न्ते खबरहरू सुनेर र क्षणिक आवेशमा आएर विरोधीहरूको रणनीति सफल हुन सहयोग नगरौं’, विमलले भनेका छन्, ‘हाम्रो आपसी भाइचारा बनिरहनु पर्छ। जातीय एकताले नै हामीलाई हाम्रो स्वाभिमानको युद्ध जिताउनेछ भन्ने कुरा प्रत्येक गोर्खाले आफ्नो मुटुमा खिलेको हुनुपर्छ।’