गान्तोक, 13 जून : सिक्किमका गौरव तथा अन्तरराष्ट्रिय आर्चरी खेलाड़ी तरुणदीप राई 2020 टोक्यो ओलम्पिकका लागि छनोट भएका छन्। नेदरल्याण्ड्समा सम्पन्न विश्व च्याम्पियनशीपमा क्यानडालाई 5-3 ले पराजित गरी तरुणदीप र उनको समूह टोक्यो ओलम्पिकका लागि छनोट भएका हुन्। तरुणदीपको टीममा उनीसँगै अतनु दास र प्रवीण जाधव रहेका छन्।
टोक्यो ओलम्पिकमा स्थान सुनिश्चित गरेका तरुणदीप राई, अतनु दास र प्रवीण जाधवको टीम विश्व च्याम्पियनशीपको फाइनलमा समेत पुगेका छन्। मूल रूपमा दक्षिण सिक्किमको नाम्ची निवासी तरुणदीप राईले एशियन गेम्समा रजत पदक जितिसकेका छन् भने उनी देशको प्रतिष्ठित खेल पुरस्कार अर्जुन पुरस्कारले पनि सम्मानित भइसकेका छन्।