–अशोक प्रशान्त
68 दिनको लकडाउनले कोरोनाको कड़ीलाई तोड़्न सफलता पाउनसकेन, निश्चय नै सङ्क्रमणको गतिलाई मन्द बनाइदियो। तर लकडाउनले सिर्जना गरेको प्रचण्ड अर्थनैतिक दबाउले सरकारहरूलाई लकडाउन क्रमिक रूपमा खोल्दै लैजान बाध्य पार्न साथै कोरोनाको सङ्क्रमण ज्यामितीय आकारमा बढ़्नथालेको छ। भन्नसकिन्न, भोलिको दिनमा सङ्क्रमण यसरी नै बढ़्नथालेको खण्डमा स्वास्थ्य आपात् काल सिर्जना हुनसक्छ र सरकारहरू बाध्य भएर पुनः लकडाउनको बाटोमा अग्रसर हुनसक्छन्। यसै पनि लकडाउनले देशको अर्थव्यवस्थालाई धराशायी बनाइसकेको छ, करोड़ौं मानिसको रोजगार खोसिसकेको छ। अब पुनः लकडाउन देशवासीले सहन सक्नेछैनन्।
यस लकडाउन कालमा हाम्रो देश श्रमजीवी जनताको विराट् विस्थापनको साक्षी हुनपऱ्यो। उद्योगपति, व्यापारी, व्यवसायी, ठेकेदार मालिकहरूका उदासीनताको फलस्वरूप मजदुरहरू रित्तो हात, भोकभोकै, बिनाकुनै साधन सैकड़ौं-हजारौं किलोमिटर हिँड़ेर घर फर्किए। अब प्रश्न उठ्छ–यी मजदुरहरूको व्यवस्थापन कसरी गर्ने? स्थिति साम्य बनेपछि, हुनसक्छ. मजदुरहरू पुनः तिनै कामहरूमा फर्कनेछन्, केही मजदुरहरू आफ्नै ठाउँमा जम्न कोशिश गर्नेछन् भने मजदुरहरूको एउटा राम्रै जत्थाले नयाँ क्षेत्रलाई आफ्नो गन्तव्य बनाउनसक्ने छन्। यस्तो भएको खण्डमा भोलिको दिनमा दार्जीलिङ अनि सिक्किममा प्रवासी मजदुरहरूको चाप सृष्टि हुनसक्छ, यहाँको जनसाङ्ख्यिकीमा पनि ठूलो परिवर्तन आउनसक्छ।
सामाजिक सम्पदाहरूको निर्माण मजदुर, किसानहरूले गर्दछन्। मूल रूपमा पूँजीको उत्पादन पनि मजदुरहरूले गर्दछन्। मजदुर, किसान भएनन् भने पूँजी आफैले केही गर्नसक्दैन, देश र अर्थव्यवस्था एकै इञ्च पनि अघि बढ़्नसक्दैन, जुन कुरा लकडाउन कालमा मजदुरहरू घरमा बस्नपर्दा नै देखियो। प्रचुर मात्रामा जनशक्तिको उपलब्धता कुनै क्षेत्रको अर्थनीतिको विकासमा सहायक हुन्छ तर हाम्रोजस्तो पहाड़ी अर्थतन्त्रमा प्रवासी मजदुरहरूको संकेन्द्रणले यहाँका रैथाने मजदुर, किसान र अन्ततः आबादीलाई नै विस्थापित गरिदिने आशङ्का रहन्छ। यसै पनि दार्जीलिङ अनि सिक्किम पहाड़ उद्योग, व्यापार, ठेकेदारीलगायत हरेक प्रकारको व्यवसायका लागि बाह्य मजदुरहरूमाथि नै भर परिरहेको छ।
दार्जीलिङ पहाड़मा होटल उद्योगमा स्थानीयहरूको नगण्य अंशग्रहण छ, सिक्किमका होटलहरूमा पनि बाहिरकै जनशक्ति संलग्न छ। सिक्किमको पूर्व सरकारले यसै समस्यालाई हृदयङ्गम गरी राज्यमा होमस्टे पर्यटनलाई सरकारी सहयोगमा व्यापक बढ़ावा दिएको थियो। सिक्किमको सिको गर्दै दार्जीलिङ पहाड़मा पनि मानिसहरूले आफ्नै लगानीमा भए पनि होमस्टे पर्यटनलाई प्रोत्साहन दिए। तर, दार्जीलिङ पहाड़ी क्षेत्रमा चियाबाहेक अन्य उद्योग-धन्धाहरूको सङ्ख्या नगण्य छ। चिया उद्योगमा पनि पहाड़वासीको सहभागिता मजदुर एवं म्यानेजमेण्टसम्म सीमित छ। यस्तो स्थितिमा देशका ठूला शहरबाट फर्केका युवा जनशक्तिको व्यवस्थापन कठिन चुनौती बनेको छ।
सिक्किमको अवस्था अलि भिन्न छ। सिक्किममा पूर्व सरकारले गरेको औद्योगिक क्रान्तिको कारण प्रचुर युवा जनशक्तिलाई खपाउने अवसर सिर्जना भएको छ। दूरदृष्टिसम्पन्न पूर्व सरकारको नीतिको कारण केवल 7096 वर्गकिलोमीटर क्षेत्रफल अनि साड़े 6 लाखजति जनसङ्ख्या भएको राज्यमा 50 भन्दा धेर फार्मास्युटिकल कम्पनी, 20 वटाभन्दा धेर जलविद्युत उद्योगहरूको कारण पचासौं हजार स्थानीय युवा जनशक्तिलाई व्यवस्थापन गर्नसक्ने आधार तयार भएको छ। यद्यपि दक्ष जनशक्तिको निर्माण अझै पनि सिक्किमको चुनौती हो तर कोरोनाको महामारीले आज विश्वको अर्थव्यवस्था नै छताछुल्ल पारेको, मानिसहरू बेरोजगार बनेको अवस्थामा सिक्किममा फार्मास्युटिकल उद्योग, जलविद्युत उद्योगजस्ता दीर्घमियादी उद्योगले कमसेकम बेरोजगारीको हाहाकार सिर्जना हुनदिएको छैन। पर्यटन उद्योग बन्द भएकाले होटलहरू, होमस्टेहरू बन्द छन्। यस्तो अवस्थामा सरकारहरूले वैकल्पिक अवसरहरूको जोहो गर्न जरूरी छ। हामी मानिसहरू, श्रमजीवीहरूको आवागमनलाई रोक्नसक्दैनौं, तर स्थानीय जनशक्तिका लागि रोजगारको पक्का बन्दोबस्त र उपलब्ध जम्मै अवसरहरूमा स्थानीयहरूको आधिपत्य सुनिश्चित गर्नसक्छौं।
आजको परिस्थितिमा प्रवासी मजदुरहरूको अनुप्रवेशलाई रोक्न स्थानीय सरकार, प्रशासनले व्यापक स्तरमा कामहरू गर्नुपर्नेछ। यो जिम्मावारी दार्जीलिङ-कालेबुङको जीटीए प्रशासन, सिक्किम सरकार अनि पश्चिम बङ्गाल सरकारको हो। विगतमा अनि वर्तमानमा पनि सही औद्योगिक नीतिको अभावमा पश्चिम बङ्गालबाट लाखौंको सङ्ख्यामा शारीरिक र बौद्धिक श्रमिकहरू अन्य राज्यहरूमा गएका छन्। पश्चिम बङ्गाल पनि बिहार र यूपीकै जस्तो श्रमजीवी निर्यातक राज्य बन्नपुगेको अवस्थामा आज घर फर्केका श्रमजीवीहरूलाई व्यवस्थापन गर्नु चुनौती रहेको छ भने जीटीए प्रशासनले पनि पहाड़को जनसाङ्ख्यिकीय सन्तुलनलाई कायम राख्दै घर फर्केका युवा जनशक्तिलाई सही ढङ्गमा व्यवस्थापन गर्नु ठूलो चुनौती रहेको छ। सिक्किममा अन्य राज्यक्षेत्रबाट प्रवासी मजदुरहरूले यसलाई आफ्नो गन्तव्य नबनाऊन् भन्ने सुनिश्चित गरिनु अनि उपलब्ध जम्मै उद्योग-धन्धाहरूमा युवा जनशक्तिलाई संलग्न गराउने पहल गरिनु जरूरी छ। पर्यटन सिक्किमको ठूलो उद्योग भएकाले यसलाई सुचारू बनाउन व्यापक र सूक्ष्म योजनासहित काम गर्नुपर्नेछ।
कठिनाइहरूले, चुनौतीहरूले अवसर पनि ल्याउँछन्। कोरोना महामारी, महालकडाउन, स्वास्थ्य आपात् काल, वैश्विक आर्थिक विध्वंस, ऐतिहासिक बेरोजगारीजस्ता जम्मै प्रतिकूल परिघटनाहरूले अन्ततः हामीलाई जीवनमा फर्कनका लागि नयाँ परिस्थिति प्रदान गरेको छ। तीव्रगतिमा अघि बढ़िरहेको विश्वमा हामीले गतिलाई पक्रन नसक्दा पछि पऱ्यौं होला, अहिले त समयले पनि हामीलाई पर्खेको छ। महान अवसरको रूपमा यसलाई उपयोग गरौं।