दार्जीलिङ, 13 जूनः राष्ट्रिय राजमार्ग 10 को विकास र जीर्णोद्धार सम्बन्धमा आफूले गरेको पहलबारे केन्द्रीय सड़क, परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले समयमै हस्तक्षेप गरी मन्त्रालयले जनताको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चालेको जानकारी गराउँदै दार्जीलिङका सांसद राजु बिष्टले केन्द्रीय मन्त्रीप्रति आभार प्रकट गरेका छन्।
सांसद बिष्टले आज यस सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्,-‘सड़क, परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले राष्ट्रिय राजमार्ग 10 सम्बन्धित मैले उठाएको मुद्दालाई संज्ञानमा लिएर यसको समाधानका लागि आवश्यक कदम उठाएकोमा हार्दिक आभार व्यक्त गर्दछु।‘
उल्लेखनीय छ, यसै वर्षको 31 जनवरीका दिन दुर्घटनामा परी एउटा वाहन टिस्टा नदीमा झर्दा एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएपछि सांसद बिष्टले राजमार्ग 10 का मरम्मती र विकासको माग गर्दै गडकरीलाई पत्र लेखेका थिए।
उनले केन्द्रीय मन्त्रीलाई लेखेको पत्रमा राजमार्ग 10 विस्तारसँगै यसलाई सबै मौसम अनुकूल सड़कमा रूपान्तरण गरिनुपर्ने, राजमार्ग 10 का टिस्टा नदीतर्फको किनारमा गार्डरेल तथा छेकाबार निर्माण गर्नुपर्ने र राजमार्ग 10 मा मेडिकल स्टाफसहितको बचाउ तथा उद्धार टोली तैनाथ गर्नुपर्ने आदि माग राखेका थिए।
यी मागलाई सकारात्मक रूपमा लिएर मन्त्रालयले काम शुरु गरिसकेको मन्त्री नितिन गडकरीको पक्षबाट आफूलाई जानकारी गराइएको बिष्टले बताएका छन्।
उनका अनुसार केन्द्रीय मन्त्री गडकरीले आज आफूलाई पत्र पठाएर मन्त्रालयले सम्बन्धित पहल शुरु गरेको जानकारी दिएका छन्।
सांसद राजु बिष्टका अनुसार गडकरीले लेखेको पत्रमा भनिएको छ,-‘अनुसन्धानपछि राजमार्ग 10-मा प्रमुख भिरालो ठाउँमा पुनर्मरम्मती तथा पैह्रो न्युनीकरणका लागि पश्चिम बङ्गाल राज्यको जनकार्य विभागले विस्तृत योजना रिपोर्ट तयार पार्ने काम गरिरहेको छ। यो कार्य नेशनल इन्फ्रास्ट्रक्चर पाइपलाइन (एलआईपी) अन्तर्गत प्रस्तावित छ र हामीले यसै वित्तीय वर्ष (2021-22) नै काम प्रदान गर्ने योजना बनाएका छौं।‘
यसैगरी सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर अनियन्त्रित वाहनलाई टिस्सा नदीमा खस्नबाट जोगाउन वर्तमानमा चलिरहेको कार्यअन्तर्गत अधिक क्रस बेरियर निर्माण गरिने केन्द्रिय मन्त्रीले जानकारी दिएका छन्।
यसका साथै मन्त्रालयले हालै तयार पारेको दुर्घटना प्रबन्धन सेवा नीति अन्तर्गत सबै राष्ट्रिय राजमार्गमा उद्धार एम्बुलेन्स, पेट्रोलिङ वाहन, क्रेन वाहनसहितको परियोजना लागू गरिने भएकाले राजमार्ग 10-लाई पनि यसै प्रावधानमा समावेश गरिने केन्द्रीय मन्त्रीले जानकारी दिएका छन्।
कोविड महामारीका यस कठिन समयमा पनि जनताको सुरक्षा सुनिश्चित गर्न केन्द्रिय मन्त्रालयले प्रभावकारी कदमका लागि कडा परिश्रण गरिरहेको उल्लेख गर्दै सांसद बिष्टले मन्त्री तथा मन्त्रालयप्रति आभार व्यक्त गरेका छन्।
साथै उनले कालेबुङ, दार्जीलिङ, सिलगढ़ी, डुवर्स तथा सिक्किमका मानिसहरूको जीवनरेखाका रूपमा रहेको राजमार्ग 10-को विकास स्थानीय क्षेत्रका जनताका लागि वरदान साबित हुने भएकाले पश्चिम बङ्गालको सरकारको जनकार्य विभागका अधिकारीहरूलाई विस्तृत विवरण रिपोर्ट (डीपीआर) तयार पार्ने कार्यलाई द्रूत गति दिन आग्रह गरेका छन्।