दार्जीलिङमा प्राकृतिक आपदा : विष्टद्वारा प्रधानमन्त्रीलाई पत्राचार

0
1120
राजु विष्ट (फाइल फोटो)।

दार्जीलिङ, 13 जुलाई : पछिल्ला केही दिनयता लगातार परिरहेको पानीको कारण प्राकृतिक प्रकोप झेलिरहेको दार्जीलिङको समस्या र स्थितिबारे सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन्। उनको कार्यालयबाट एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएका छन्।

विज्ञप्तिका अनुसार उनले नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका चेयरम्यानसमेत रहेका प्रधानमन्त्री मोदीलाई दार्जीलिङ पहाड़ले झेलिरहेको विषम परिस्थितिबारे अवगत गराउनका साथै राहत एवं बचाउँ कार्यहरूमा सहयोगका लागि अतिरिक्त राहतकर्मी प्रदान गर्नुपर्ने, सीमा सड़क सङ्गठन र क्षेत्रमा सक्रिय अन्य केन्द्रिय सङ्गठनहरूलाई सड़क सफा गर्नहेतु नागरिक प्रशासनलाई सहयोग गर्नका लागि अतिरिक्तकर्मी प्रदान गर्नुपर्ने तथा चाँड़ोभन्दा चाँड़ो राहत र पुनर्निर्माण कार्यमा सहयोग गर्नुपर्ने निर्देश दिइने माग गरेका छन्।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार सांसद विष्टले दार्जीलिङको प्राकृतिक आपदाबारे संयुक्त सचिव एवं केन्द्रिय आपदा प्रबन्धन (गृह मन्त्रालय)-का प्रभारी सञ्जीव कुमार जिन्दलसँग पनि कुराकानी गरी दार्जीलिङ र कालेबुङ जिल्ला अधिकारीहरूलाई सक्दो सहायता प्रदान गर्न तथा दार्जीलिङ र कालेबुङ जिल्लामा प्राकृतिक प्रकोपको क्षयक्षति बुझ्नका लागि एक टीम पठाउनेपर्ने माग गरेका छन्। यसअवसरमा संयुक्त सचिव एवं केन्द्रिय आपदा प्रबन्धन (गृह मन्त्रालय)-का प्रभारी जिन्दले राहत-बचाउँ र पुनर्निर्माण कार्यका लागि पर्याप्त सहयोग गर्ने आश्वासन दिएको पनि विज्ञप्तिमा बताइएको छ।

यसैगरी दार्जीलिङका सांसदले राष्ट्रिय आपदा प्रबन्धन बल (एनडीआरएफ)-का महानिर्देशक एसएन प्रधानसँग पनि कुराकानी गरी स्थितिबारे जानकारी लिए। यसअवसरमा एनडीआरएफका महानिर्देशकले अघिबाटै दार्जीलिङ पहाड़मा राहत एवं बचाउँ कार्यका लागि एनडीआरएफका जवानहरू तैनाथ गरिएको जानकारी गराए। कुराकानीअवधि विष्टले दार्जीलिङ पहाड़मा थप एनडीआरएफका जवानहरू तैनाथ गरिनुपर्ने बताए। ताकि पैह्रो प्रभावित गाउँहरूले समयमा नै राहत तथा बचाउँ कार्यको सहयोग प्राप्त गर्न सकियोस्। विज्ञप्तिमा सांसदको कुराकानीपछि एनडीआरएफले दार्जीलिङ र कालेबुङ जिल्लामा राहत एवं बचाउँ कार्यका लागि एक समर्पित निगरानी कक्ष स्थापित गरेको बताइएको छ।

यसका साथै सांसद राजु विष्टले पछिल्लो 7 जुलाईको मध्यराति सुकेपोखरीनजिक पुबुङ फाटकस्थित चटाइधुरामा गएको पैह्रोको चपेटमा परी ज्यान गुमाउने कुमार लोप्चन (60) र उनकी श्रीमती  बाल कुमारी लोप्चन (55) तथा पछिल्लो बुधवार राष्ट्रिय राजमार्ग-10 स्थित बाघपुलनजिक इनोभा दुर्घटना परेका चालक राकेश राई अनि पर्यटकत्रय अमन गर्ग, गौरव शर्मा र गोपाल नरवानीका परिवारप्रति संवेदना प्रकट गर्नका साथै आफू र आफ्नो कार्यालयले दार्जीलिङ पहाड़को स्थितिमा जानकारी लिनका लागि लगातार दुवै जिल्लाका जिल्लापाल कार्यालयसँग सम्पर्क गरिरहेको बताएका छन्। साथै विष्टले पहाड़का पैह्रोप्रभावित मानिसहरूलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here