एनएच-10 घरी खुल्दै, घरी बन्द हुँदै

0
1116
एकतर्फी बाटो खुलेपछि वाहनहरू गुड्दै।

कालेबुङ, 13 जुलाई : कालीझोड़ानजिक सेती झोड़ामा परेको पैह्रोको कारण बन्द भएको राष्ट्रिय राजमार्ग 10 -मा  शनिवार अपराह्नदेखि पुनः अस्थायी रूपमा यातायात सुचारू बनेको छ। शुक्रवार बेलुकीदेखि नै राजमार्गमा  वाहनहरूको आवागमन एकतर्फी रूपमा खुला गरिएको थियो। तर, आज बिहान करिब 8ः30 बजे पुनः त्यसै ठाउँमा पैह्रो झरेपछि एकतर्फी रूपमा खुला भएको यातायात पनि ठप्प बनेको थियो।

अर्कोतिर, राजमार्गमा पर्ने 29 माइल र गेल बीचमा पनि राजमार्गको एक चौथाइ सड़क पैह्रोले सोहोरेर बगाएको छ। जसको रूपमा राजमार्गमा जोखिम थप बढ़ेको छ। लगातार पानी परिरहेको त्यहाँ सड़क पूर्ण रूपले सोहोरिएर टिस्टामा बग्ने खतरा बढ़ेको छ। पैह्रो गएको उक्त ठाउँमा पनि एकतर्फी वाहनहरूको आवागमन खुला राखिएको छ। जसको फलस्वरूप दुवै ठाउँमा  वाहनहरूको लामो जामको समस्या देखिएको छ।

उल्लेखनीय छ, पछिल्लो एक साताभन्दा अधिक समयदेखि लगातार परिरहेको पानीको कारण  राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा गएको पैह्रोले यातायात वाधित बनिरहेको छ। पैह्रोले सबैभन्दा धेरै दुःख सेती झोड़ामा  दिइरहेको छ। घरी घरी माथिबाट झरिरहेको पैह्रोले कालेबुङ र सिक्किमलाई सिलगढ़ीसँग जोड़्ने  जीवनरेखा एनएच 10-लाई मात्र ठप्प बनाइरहेको छैन, तर पैह्रो सोहोर्ने कार्यमा पनि उतिक्कै बाधा पुर्‍याइरहेको छ। यसैले राजमार्गमा अस्थायी रूपमा यातायात खुला भए तापनि जोखिम बढ़िरहेको छ।

स्मरणरहोस्, बिहीवार बिहान सेती झोड़ामा गएको पैह्रो हटाउने कार्यमा पीडब्ल्यूडी विभाग लागिपरेको छ। विभागका मशिनहरू राजमार्गमा थुप्रिएको पैह्रो हटाउनमा लगातार खटिएका छन्। यद्यपि घरी घरी झरिरहने पैह्रोको कारण पैह्रो पूर्ण रूपले हटाउन भने विभागले सकिरहेको छैन।

आज 6 घण्टा खटिँदा पनि राजमार्गमा थुप्रिएको पैह्रो सम्पूर्ण रूपले हटाउन नसकेपछि विभागले हिजो बेलुकीजस्तै राजमार्गमा थुप्रिएको पैह्रोलाई सम्याएर एकतर्फी बाटो खुला गरेको छ। पैह्रो सम्पूर्ण रूपले हटाएपछि मात्र राजमार्गमा वाहनहरूको दुईतर्फी आवागमन  खुला हुने विभागको भनाइ छ। आज तेस्रो दिन पनि राजमार्गमा  यातायात बाधित बनेपछि यात्रुहरूले अत्यधिक समस्याको  सामना गरे।

अर्कोतिर, स्थानीय 32 नम्बरनजिक गएको  मार्ताम पैह्रोको कारण पनि आज दिनभरि  वाहनहरूको आवागमन घरी घरी बाधित बनिरह्यो। यो ठाउँमा हिजो पनि यातायात बाधित बनेको छ। घरी घरी यातायात बाधित बनेकै कारण वाहनहरू वैकल्पिक मार्ग भएर गुड़ेका थिए। माथिबाट झरिरहने पैह्रोको कारण यहाँ यातायातको जोखिम पनि बढ़ेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here