झुण्डिएको अवस्थामा भाजपा विधायकको शव बरामद, सीबीआई जाँचको माग

0
1212
देवेन्द्र नाथ रे (फाइल फोटो)।

कोलकाता, १३ जुलाईः उत्तर दिनाजपुरस्थित हेमताबादका भाजपा विधायक देवेन्द्र नाथ रेको रहस्यमय मृत्युले क्षेत्रमा सनसनी फैलिएको छ।

आज बिहानै घरनजिकैको एक दोकानको बरन्डामा विधायक देवेन्द्र नाथ रे (६५)-को शव झुण्डिरहेको अवस्थामा बरामद भएको थियो।

परिवार र भाजपाले विधायक रे-को हत्या भएको दाबी गर्दै यसका लागि राज्यको शासक दल तृणमूल कङ्ग्रेसलाई जिम्मेवार ठहऱ्याएको छ।  यसका साथै उनीहरूले सीबीआई जाँचको माग गरेका छन्।

परिवारका एक सदस्यले भने, “यो हत्या हो, आत्महत्या होइन। यसको सीबीआई जाँच हुनुपर्छ।”

भाजपा नेता एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीयले पार्टीले विधायक देवेन्द्र नाथ रे-को मृत्युको सीबीआई जाँचको माग गरेको बताएका छन्।

“भोलि हामी गृहमन्त्रीसँग भेट्नेछौं”, विजयवर्गीयले थपे, ‘यदि राष्ट्रपतिले समय दिएमा उनलाई हामी बङ्गालमा भइरहेको अराजकताबारे बताउनेछौं।’

विधायक रे-को रहस्यमय मृत्युलाई लिएर बङ्गालको राजनीति तातिएको छ। भाजपाले यसलाई ‘तृणमूल कङ्ग्रेसका गुण्डाहरू’-द्वारा गरिएको हत्याको संज्ञा दिँदै उत्तर दिनाजपुर जिल्लामा मङ्गलबार बिहान ६ बजीदेखि बेलुकी ६ बजीसम्म १२ घण्टाको बन्दको आह्वान गरेको छ।

भाजपाका राष्ट्रिय अध्यक्ष जे.पी. नड्डाले यस घटनालाई एक ‘सन्दिग्ध जघन्य हत्या’ बताएका छन्। “यस घटनाले मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा गुण्डाराज र कानून-व्यवस्थाको मशिनरीको विफलतालाई दर्शाउँछ”, भाजपाका राष्ट्रिय अध्यक्षले आरोप लगाएका छन्।

यसैगरी राज्यपाल जगदीप धनखड़ले बङ्गालमा राजनीतिक हिंसा र प्रतिशोध निरन्तर जारी रहेको बताएका छन्।

‘राजनीतिक हिंसा र प्रतिशोध ममता ब्यानर्जीको शासनमा कमी आइरहेको छैन। उत्तर दिनाजपुर जिल्लाको हेमताबादका विधायक देवेन्द्र नाथ रे-को मृत्युले हत्यासमेत धेरै गम्भीर आरोप उठाउँछ’, राज्यपालले ट्वीटमा थप भनेका छन्, ‘सत्य अघि ल्याउन र राजनीतिक हिंसालाई कमजोर बनाउनका लागि व्यापक निष्पक्ष जाँचको आवनश्यकता छ।’

यसैबीच, यी भाजपा विधायकको कमिजको गोजीबाट एक सुसाइड नोट बरामद भएको पुलिसले बताएको छ। पुलिसका अनुसार उनले आफ्नो मृत्युका लागि दुई व्यक्तिमाथि आरोप लगाएका छन्। रे- अनुसूचित जातिका लागि आरक्षित हेमताबादबाट माकपाको टिकटमा विधानसभा चुनाउमा विजयी बनेका थिए। तर पछिल्लो लोकसभा चुनाउ सकिएलगत्तै उनी भाजपामा सामेल भएका थिए।

जानकारीका अनुसार पुलिसले जाँच शुरू गरेको छ। फोरेन्सिक टिम घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। शवलाई पोस्टमर्टमका लागि पठाइएको छ।

प्रारम्भिक जाँचमा रे-को मृत्यु आत्महत्याको मामिला लागिरहेको पुलिसको भनाइ छ।

राज्य पुलिसले आफ्नो ट्विटर ह्याण्डलमा भनेको छ-‘आज बिहान हेमताबादका विधायक देवेन्द्र नाथ रे-को शव उत्तर दिनाजपुरको रायगञ्जमा देबेन मोड़को बलियामा एक मोबाइल दोकानबाहिर छतमा झुण्डिरहेको अवस्थामा बरामद भयो। मृतकको कमिजको गोजीबाट एक सुसाइड नोट प्राप्त भयो। यसमा मृत्युका लागि दुई व्यक्तिलाई जिम्मेवार ठहऱ्याइएको छ।’

यसैबीच राज्य सरकारले यस मामिलाको जाँचको दायित्व सीआईडीलाई सुम्पिएको छ। अर्कोतिर यस घटनाको प्रतिवाद तथा सीबीआई जाँचको मागमा प्रदर्शन गऱ्यो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here