वेतनको मागमा होटल सेन्ट्रल हेरिटेजका कर्मचारीहरूले गरे धरना प्रदर्शन

0
1163

दार्जीलिङ, 13 सेप्टेम्बरः दार्जीलिङको एक प्रख्यात होटल सेन्ट्रल हेरिटेजअघि आज (आइतबार) सयौँ कर्मचारीहरूले धरना प्रदर्शन गरे।

कर्मचारीहरूमाथि अन्याय बन्द गर्नुपर्ने, कोरोनाकालमा होटल मालिकले मानवता देखाउनुपर्ने जस्ता नाराहरू लगाउँदै यी कर्मचारीहरूले आज लगभग दिनभरि नै धरना प्रदर्शन गरेका थिए।

यसका साथै यस होटलका कर्मचारीहरूलाई वेतन नदिइएसम्म होटल खोल्नै नदिने पनि उनीहरूले चेताउनी दिएका छन्।

उल्लेखनीय छ, कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन शुरू भएकै समयदेखि होटल सेन्ट्रल हेरिटेजले आफ्ना सम्पूर्ण कर्मचारीलाई कामबाट हटाइदिएको आरोप छ।

यस होटलमा कुल 120 जना कर्मचारी कार्यरत् थिए भने हाल यी सम्पूर्ण कर्मचारीले एकै पैसा पनि नपाएको गुनासो पनि छ।

यसै विषयलाई ध्यानमा राखेर आज बिहानदेखि यस होटलअघि कर्मचारीहरूले धरना प्रदर्शन शुरू गरेका हुन्।  धरना प्रदर्शनमा अन्य होटलका कर्मचारीहरूले पनि सहयोग गरेका थिए।

‘कोरोना सङ्कटको समय मानवता देखाऊ’, ‘तलब चाहियो’, ‘तलब देऊ’ जस्ता नाराहरू लेखिएका प्लाकार्डहरू हात-हातमा लिएर धरनामा बसेका कर्मचारीहरूले आफूहरूमाथि अत्यधिक अन्याय भएको पनि आरोप लगाएका छन्।

ज्ञात रहोस्, होटल कर्मचारीहरूमाथि आइपरेको समस्यालाई ध्यानमा राखेर नै गत केही महिनाअघि दार्जीलिङमा गोर्खा एकता कर्मचारी सङ्गठन पनि खोलिएको छ।

यसै सङ्गठनको अगुवाइमा नै आज यस होटलअघि धरना प्रदर्शन गरिएको हो।

यी कर्मचारीहरूको आन्दोलनलाई सहयोग प्रदान गर्न अघि आएका गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ शाखा समिति अध्यक्ष एजय एड्वर्डले पनि होटल सेन्ट्रल हेरिटेजका कर्मचारीहरूमाथि अत्याचर भइरहेको आरोप लगाएका छन्।

यसबारे बोल्दै उनले भने, “होटल सेन्ट्रल हेरिटेजका शाखाहरू सिलगढ़ी, सिक्किमतिर पनि छन्। तर, देशमा लकडाउन घोषणा भएदेखि यता यस होटलका मालिकले कर्मचारीहरूलाई एकै पैसा पनि दिएको छैन। जसको विरोधमा यी कर्मचारीहरू सड़कमा आउँदा होटल मालिकले यी कर्मचारीहरूको विरोधमा मुद्दा दर्ता गर्ने चेताउनी दिएको सुनिँदैछ। यदि यस होटलका मालिकले आफ्ना कर्मचारीहरूविरुद्ध चाहे उच्च न्यायालय मुद्दा दर्ता गरोस् या सर्वोच्च न्यायालयमा, हामी कर्मचारीहरूलाई पूर्ण साथ दिनेछौँ।

उनले थप भने, “हामी पनि कुनै होटलअघि यसप्रकारको नाराबाजी साथै धरना प्रदर्शन भएको चाहँदैनौं, तर यी कर्मचारीहरूको अवस्था नै सड़कमा आउने भइसकेको छ। उनीहरूको भोको पेट, विकट आर्थिक स्थिति हेरिसक्ने अवस्थामा छैन। यसैले बाध्य बनेर नै आज उनीहरूले धरना प्रदर्शन गर्न परिरहेका छन्। यसैले आगामी दिनमा यी कर्मचारीहरूले आफ्नो हकका लागि जस्तो निर्णय लिनेछ, त्यसलाई गोरामुमोले पूर्ण साथ दिनेछ।’’

उनका अनुसार होटल कर्मचारीहरूलाई लकडाउनअवधिको वेतन दिनका लागि होटल मालिक, जीटीए र कर्मचारी सङ्गठनहरूमाझ जुन सम्झौता भएको थियो, त्यस सम्झौतालाई पनि होटल सेन्ट्रल हेरिटेजले पालन गरेको छैन।

आजको एकदिने धरना प्रदर्शन कार्यक्रमले होटल मालिकमाथि कुनै असर नपरे आगामी दिनमा के कस्तो पहल गर्नुपर्ने, त्यसबारे आउँदो दिनले बताउने गोर्खा एकता कर्मचारी सङ्गठनका सचिव साहिल थापाले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here