गान्तोक, 13 सेप्टेम्बरः पछिल्लो तीन दिनभित्र सिक्किममा कोरोना सङ्क्रमित 8 जनाको मृत्यु भएको छ।
आज मात्र राज्यमा तीनजनाको मृत्यु भएको छ। मृतकमध्ये दुईजना महिला र एकजना पुरुष रहेका छन्।
राज्यको स्वास्थ्य विभागका अनुसार आज सिङ्ताम शान्तिनगरनिवासी 61 वर्षीय कोरोना सङ्क्रमित महिला मृत्यु भएको छ। विभागका अनुसार यी कोरोना सङ्क्रमित महिला श्वास-प्रश्वास र लिभरसम्बन्धी समस्याले पनि ग्रसित थिइन्।
त्यसैगरी आजै गान्तोक बोझोघारीनिवासी 68 वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उनी 6 सेप्टेम्बरका दिन एसटीएनएम अस्पतालमा भर्ना भएका थिए।
उनी किडनीसम्बन्धी रोगले पनि ग्रसित थिए। आज बिहान 9 बजी उनको मृत्यु भएको बताइएको छ।
अर्कोतिर, आज गान्तोक विकास क्षेत्रनिवासी 42 वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्य विभागका अनुसार उनी पनि किडनीसम्बन्धी रोगले ग्रसित थिइन्।
यसका साथै सिक्किममा आजका दिनसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको कुल सङ्ख्या 16 पुगेको छ। हिजो दुईजना र अस्तिका दिन तीनजनाको मृत्यु भएको थियो।
अर्कोतिर आज राज्यमा कोरोना भाइरसका थप 31 नयाँ मामिला प्रकाशमा आएको छ। यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 2086 पुगेको छ, जसमध्ये 1506 जना स्वस्थ भई आ-आफ्नो घर फर्किसकेका छन्।
अहिले राज्यमा कोरोना भाइरसका एक्टिभ केस 567 रहेको छ।