गान्तोक, १३ सेप्टेम्बरः सामाजिक भ्रमणका क्रममा आज पश्चिम सिक्किमको योकसम-टाशिडिङ निर्वाचन क्षेत्र पुगेका पवन चामलिङलाई पार्टी कार्यकर्ता एवं स्थानीय मानिसहरूले भव्य स्वागत जनाए।
पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष चामलिङलाई टाशिडिङस्थित रङ्गीत पुलमा पार्टीका वरिष्ठ नेतृत्व, युवा-चेली एवं स्थानीय जनताले स्वागत जनाएका हुन्।
यसअवधि उनीहरूले ‘पवन चामलिङ जिन्दावाद’, ‘गरीबका नेता आयो है’-जस्ता नारा लगाएका थिए।
यस सामाजिक भ्रमणका क्रममा चामलिङले गाङ्गेप, च्याखा, थाङ्चुङ, टाशिडिङ बजार, मेर्दाङ, च्याकथाङ, लेकशेप, रेसी आदि गाउँका शोकाकुल परिवारहरूसँग भेट गरी उनीहरूलाई समवेदना प्रकट गरे।
साथै उनले स्थानीय वयोवृद्ध र विमारीहरूसँग पनि भेट गरी सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरे।
यसअवसरमा स्थानीय जनताले अहिले सरकारमा पूर्व मुख्यमन्त्री चामलिङ नभएकाले सिक्किम र सिक्किमेली जनताले दुःख भोग्न परिरहेको गुनासो व्यक्त गर्दै जनताका लागि एसडीएफ पार्टी नै सरकारमा आउनुपर्ने बताएको एसडीएफ प्रचार-प्रसार मामिला सचिव विष्णु दुलालले जानकारी गराएका छन्।
पूर्व मुख्यमन्त्री पवन चामलिङले उनीहरूलाई सिक्किम र सिक्किमेली जनताका सुख-दुःखमा आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिने प्रतिबद्धता जाहेर गरेको पनि दुलालले जानकारी गराएका छन्।
यस भ्रमणमा एसडीएफ पार्टीका सबै तहका पदाधिकारीहरू पनि उपस्थित थिए।