दार्जीलिङ, 13 अक्टोबर : आगामी वर्ष चियाश्रमिकहरूलाई प्रदान गरिने बोनसको छिनोफानो मार्च-अप्रेल महिनाभित्रै हुनपर्ने माग माकपाको श्रमिक एकाइ दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनले गरेको छ।
यदि मार्च-अप्रेल महिनाभित्र बोनसको छिनोफानो नभएको खण्डमा दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनले आन्दोलन चर्काउने चेताउनी दिएको छ।
आइतवार यसै विषयमा युनियनले पार्टी कार्यालयमा एक सभाको आयोजन गरेको थियो। यस सभामा दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई यसपालिको बोनस दुई किश्तीमा वितरण गर्ने विषय तथा अर्को वर्षको बोनस विषय लिएर व्यापक चर्चा-परिचर्चा भएको थियो।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युनियनकी दार्जीलिङ जिल्ला कार्यकारी सदस्य रेजिना राईले भनिन्, “यसपालि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतकै दरले बोनस दिने तय भए तापनि दुई किश्तीमा दिने भएकोले पहाड़का धेरै चियाश्रमिक असन्तुष्ट बनेका छन्। हामी 20 प्रतिशतको बोनस एकै किश्तीमा होस् भन्ने अड़ानमा थियौं। तरै पनि पहिलो 12 प्रतिशतको बोनस 10 दिनभित्र प्रदान गरिने भएको छ। तर, रहल 8 प्रतिशतको बोनस पनि 31 दिसम्बरभित्र भुक्तान गरिसक्नुपर्छ। किनभने, यो बोनस 2018-19-को हो। यदि 31 दिसम्बरभित्र पनि यो बोनस वितरण नगरिए सोझै बोनस ऐनको उल्लङ्घन हुनेछ। यसो भएको खण्डमा दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियन कानुनी लड़ाइँ पनि लड़न तयार छ।”
एक प्रश्नको उत्तरमा उनले भनिन्,“चियाबगान मालिक सङ्गठन डीटीए (दार्जीलिङ टी एसोसिएशन)-का मुख्य सल्लाहकार सन्दीप मुखर्जीले रहल 8 प्रतिशतको बोनसका लागि बैठक अर्को वर्ष 2020-को मई महीनामा गर्ने कुरा गरिरहेका छन्। यो कुनै पनि स्थितिमा हुन दिइने छैन। यसपालिको बोनस यसै वर्षको 31 दिसम्बरभित्र भुक्तान गरिसक्नुपर्छ।”
यसरी नै अर्को वर्ष 2019-20-को बोनस सम्झौता मार्च-अप्रेल महीनाभित्रै हुनपर्ने माग गर्दै यसो नभए आन्दोलन गर्ने पनि राईले चेताउनी दिइन्।
“दार्जीलिङ पहाड़को पहिलो चिया वा फर्स्ट फ्लसको चिया टिप्ने समय मार्च-अप्रेल महिना हो, यसैले यसै समय दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस सम्झौता हुनपर्छ। किनभने, चियाबगान मालिकवर्गले विगत कैयौं वर्षदेखि दशैं नजिक आएपछि मात्रै बोनसका लागि बैठक शुरु गर्छ, जसको फलस्वरूप यसपालि दार्जीलिङ पहाड़का चियाश्रमिकहरू बोनसबिना नै दशैं मनाउन बाध्य बनेका छन्। अब अर्को वर्षदेखि यस्तो स्थिति आउनै दिइनेछैन”, रेजिना राईले भनिन्।
उल्लेखनीय छ, दार्जीलिङमा मार्च-अप्रेल महिनामा फर्स्ट फ्लसको चिया उत्पादन हुनेगर्छ, जसको मोल विश्व बजारमा धेरै रहेको बताइएको छ। यसैकारण अबदेखि दार्जीलिङ पहाड़का श्रमिक सङ्गठनहरूले यो फर्स्ट फ्लसको चिया उत्पादनको समय नै बोनस सम्झौता गर्ने योजना बनाइरहेका छन्।