- ज्ञानेन्द्र खतिवडा
असमको डिगबोईबाट पहाडी अञ्चल दार्जिलिङ जिल्लाको तराई महकुमा सिलगढीको सिरानतलाको सालबारीमा बसाइँ सर्दै आइपुगेका हुन् कवि भवि । असम छँदा नै सुन्दर सुन्दर कविताका स्वाद पाठकलाई चखाइसकेका कवि भविले एकैचोटि दुईवटा क्षेत्रमा बसाइँ सरेका देख्छौँ हामी । ती हुन् – परिवारसहित सालबारीको बसाइँ र अर्को कवितासहित आख्यान विधातिरको बसाइँ ।
बसाइँ नं. १ – असमको डिगबोईबाट दार्जिलिङको सालबारीमा स्थायी बसाइँ ।
बसाइँ नं. २ – कविता विधाबाट उम्दा कथा लेखनतिरको बसाइँ ।
००००००
भारतेली नेपाली आधुनिक कथा साहित्यमा रूप हुँदै शिव पार गर्दै इन्द्रसम्म आइपुग्दा कथाको गरिमाले महत्त्वपूर्ण उचाइ प्राप्त गरिरह्यो । कथाको अनुहार र उद्देश्यलाई रूशिइजस्ता महान् कथाकारहरूले आ-आफ्नै शिल्प र शैली, बान्की र बुनोटको माध्यमद्वारा माथि माथि उकालिरहे । नयाँ नयाँ प्रयोगसहित कलम घोटिरहे । कथामा नयाँ नयाँ प्राण भरिरहे । कथा सिर्जनामा शिल्प र सौन्दर्यप्रति रत्तीभर कञ्जुस्याइँ नगरी सश्रम निर्माणमा जुटिरहे ।
कथामा आधुनिक जीवन भर्ने कथाकारहरू पाइरह्यो नेपाली साहित्यले । सशक्त लेखनभित्रका कथाहरू त्यत्तिकै सौन्दर्य बोकेर आइरहेकै पायौँ हामीले । देश काल र स्थानानुसार यी कथाकार सचेत कलम बोकेर मैदानमा उत्रिरहे । पात्रसहित घटना निर्माणका लागि मनोविज्ञानको आधारभूमिमा विश्वासनीयताको पाइला टेकेरै कथाहरू आइरहे । तिलस्मीय कथाको धुमिल वातावरणसित जुझ्दै यी कथाकारहरू कलम समातेर मैदानमा उत्रिनपुगे ।
समय त कवितासितै कविको जय ध्वनिले आकास पाताल ढाकिरहेको समय थियो । यतिसम्म, साहित्यकार भनेको कवितासित नहेलिएको, कविता नलेख्नेलाई साहित्यकारै नमान्ने समय थियो । तर यी रूशिइ कसैले पनि कविताको बाटो समातेनन् ।
के यी कथाकार कवितातिर असफल रहेर नै कथातिर ढल्किएका हुन् त – भन्ने पनि लाग्छ कहिलेकहीँ । फेरि कहिलेकहीँ लाग्छ – नेपाली पाठकलाई आधुनिक कथाको स्वादबाट कति दिन वञ्चित राखिरहने भनेर दिलोज्यानले लागिपरेका हुन् कि ! यी तीनैजना स्रष्टाको जमाना त कविताले ढलीमली गरेकै जमाना थियो । कविताले एकछत्र शासन गरेकै जमाना । कविता लेख्ने भानुको सर्वत्र पूजा भइरहेको जमाना थियो । नैवेद्यले वाह वाह लुटिरहेकै जमाना थियो । तर कलम चलाए कथातिरै – रूशिइले ।
राम्रो पद्य लेख्नेको गद्य पनि त्यत्तिकै सुन्दर हुन्छ भन्थे इबरा । तर आफैले आफ्नो भनाइलाई झुटो साबित गरे यी दुवै रूशि अग्रजसित मिलेर । कविता नलेखी नै सुन्दर कथाहरू दिन सक्षम बने यी रूशिइ ।
कविताको नैकट्य कलम नपुऱ्याइ पनि कालजयी कथा सिर्जने कथाकारहरू नेपाली साहित्यले पाई नै रह्यो । धेरै सफल कथाकारका कलम कवितामाथि कुदेको उस्तो थाहा लाग्दैन । नेपाली साहित्यमा कविता लेखेर सफलता हासिल गरेका कविहरू आख्यान (कथा) लेखेर सफलताको चुचुरो टेक्नेको सङ्ख्या साँच्चै थोरै पाउँछौँ हामी ।
कथाकार गुरुप्रसाद मैनालीको कविता छ/ छैन थाहा छैन1 विशेश्वरप्रसाद कोइराला कथा/उपन्यास लेखनमा अत्यन्त प्रखर थिए । कविताको क्षेत्र नगन्य नै रहे । दुई-चार हिन्दी कविता हंसमा प्रकाशित गरे कि ! गोविन्द गोठालेको कविता ‘न’ कै बराबर रह्यो । विजय मल्ल भने कविता र गद्य लेखाइमा बराबरी शक्तिसम्पन्न पाउँछौँ । त्यसरी नै भिक्षुले पनि कविता र आख्यान क्षेत्रमा बराबर कलम चलाए । तर, भिक्षु कथाकारकै रूपमा ज्यादा जानिन्छन्/ मानिन्छन्।
यता, रूपनारायण सिन्हाको कविता छैनकै बराबर रह्यो। शिवकुमार राईको डाँफेचरी माछाको मोल र फ्रन्टियरको समकक्ष हुनैसक्दैन । इन्द्रबहादुर राईको पनि कविता छैन । तर, यी तीनैजना कथाकारले कथा साहित्यमा आ-आफ्नै कोसे-ढुङ्गो निर्माण गरेर नेपाली कथा साहित्यलाई शैली, शिल्प र सौन्दर्यले हृष्टपुष्टसहित धनी बनाए । परम्पराबाट हटेर मन-मस्तिष्कलाई खुराक दिने विषय टिप्नपुगे । विश्व कथा साहित्यको परिपाटीलाई अध्ययन मनन र चिन्तन गर्दै नेपाली कथाको विषय चयन र स्वरूपलाई नयाँ बान्कीमा ढाले । मनोविज्ञानको आँखाले कथा निर्माणलाई देख्नथाले।
00000
हाल असमेली भूभागबाट सालबारी आइपुगेका कवि भविलाल लामिछाने कवितामा जति पोख्त छन्/थिए त्यत्ति नै (अझ बढी नै होला) पोख्त कथा साहित्यमा देखियो । उनको विशेषता अझ सारा संसारले लामो कथा पढ्न छोडे भन्ने भनाइलाई भूल साबित गर्दै लामा लामा कथामा नै हात बढाइरहेको पायौँ । कथाको उचाइलाई अझ उकालो नै धकेलिरहेको पायौँ । लामिछानेको कलमबाट नि:सृत कथाहरू अत्यन्त सुन्दर निर्माण लाग्छ । र लाग्छ, अड्चनरहित सललल बग्नसकेका । यति हुँदाहुँदै पनि तर पाठक पहिलोचोटि कथाको लम्बाइले अत्तालिन सक्छ । निस्सासिन सक्छ । टिस्टामात्र देखिरहेको आँखाले ब्रह्मपुत्रलाई सागर नदेख्ला भन्नु छैन । भविले कथालाई ब्रह्मपुत्र जत्तिकै लामो र समुद्र जत्तिकै फैलावट दिएर सिर्जिएका छन् । उपन्यासको ठेली नपढ्ने पाठक एकचोटि भविको अर्धासत्यमा डुब्नु त परै जावोस् देख्नसाथै निस्सासिएला कि भन्ने लाग्छ । तर, अर्धासत्यका पानाभित्र डुबेपछि भोक तिर्खा र निद्रा माया मारेर पनि नयाँ अनुभव र अनुभूतिमा चुर्लुम्म नडुबी निस्कनै सक्दैसक्दैन भन्ने मलाई लाग्छ । त्यसपछि डुबिरहने इच्छा घरी घरी जागिरहन्छ।
असमका दुई स्रष्टा अवि र भवि कवितामा आ-आफ्ना बलिया पहिचान बनाएरै असमलाई बाई बाई गर्दै बसाइँ सरेका हुन् । अविनाश श्रेष्ठले धेरै अघि नै बाई बाईमा आफ्नो हात ब्रह्मपुत्रलाई हल्लाइराखेर साथमा शक्तिशाली कविताहरू च्यापेर बाहिरिएका थिए भने भविलाल लामिछानेले जीवनको उत्तरार्धमा बाई बाईको हात हल्लाए । तर कवितामा जति ख्यातिनाम पाए बसाइँ सराइपछि गद्य लेखनमा पनि त्यतिकै ख्यातिनाम अर्जन गरेको पाउँदैछौँ । अविले धेरै अघि नै तान्या, इन्द्रकमल र अन्धकारजस्ता कथा सङ्ग्रह दिन सफल बने । यता, भविले अर्धासत्य । असमबाट बाहिरिए पछिका बेजोड उपलब्धि हुन् यी दुई स्रष्टाका दुवै कथा सङ्ग्रह ।
यस्ता जादूमय कथा सिर्जना गर्न कथाकार भवि कविले कुन कुन उपाय अवलम्बन गरे त भन्ने नौवटै कथा पढिसके पछि मलाई केही घोत्लिने इच्छा भयो ।
जतिचोटि कथा छिचोले पनि दुई चार कथा त यति ताजा लाग्छन् कि पहिलोचोटि नै पढ्दैछु भन्ने भान हुन्छ । यो सधैँ हरियो नै लागिरहने उब्जाउको माटो र मल के हुनसक्ला भन्ने लागिरह्यो मलाई ।
साँच्चै लगातार गुड खाँदाको तितो पटक्क अनुभव हुँदैन भविका कथा पढ्दा । भविको भाषामा एउटा छुट्टै नयाँपन पाउँछौँ हामी । उनको भाषा प्रयोगमा असमतिरको मिठास पनि पाइन्छ कि जस्तो अनुभव हुन्छ । हामीले दार्जिलिङतिर प्रयोगमा नल्याएका शब्दहरू भविका कथामा प्रशस्त पाइन्छन् । भाषामा नौलो स्वाद आएर पनि कथाले तानेको हो कि ! प्रायै: भविले चलाउने भाषाभित्र विशेष्यको अघिल्तिर सङ्ख्यावाचक विशेषण नबसेर पछिल्तिर बसेको धेरै ठाउँ पाइयो । उखान र तुक्काको प्रयोग पनि मज्जाले पाइन्छ । ‘मर् त मरो’ जस्ता थेगो यता प्रयोगमा नआएर मज्जा लागेको हो कि ! यस्तै यस्तै हुनसक्ला भविका कथामा लुकेका मिठास । ठाउँ ठावै आएको एउटा शब्द हो माचो । यो माचो शब्द बृहत् शब्दकोशमा पनि खोजेँ । पाइएन । यस्ता धेरै शब्द हामी दार्जिलिङेलाई नौलो लाग्दो हो भन्ने लाग्छ मलाई ।
यी भए भाषाका कुरा । उनका कथा पढ्दैजाँदा बिच बिचमा भेटेका कुरो मात्र गरेँ । उनको गद्य लेखाइ काव्यात्मक छ । काव्यात्मक भाषाभित्र एउटा थाहा नपाइँदो ध्वनि हुन्छ । काव्यात्मक भाषामा आएको ध्वनिले सङ्गीतकै कुनै सुर समातेको हुन्छ र त्यसमा नै पाठकलाई लट्याउने शक्ति रहेको हुन्छ । पारिजातले चलाएकी गद्य भाषालाई हामी उदाहरणको रूपमा मान्न सक्छौँ ।
त्यसपछि भविको कथामा आएको टेक्निक विधाभञ्जन पनि अर्को कारण हो कि – मलाई लाग्छ । अझ यो टेक्निकलाई विधा मिश्रण भन्दा उत्तम होला कि ! भविले कथामा पात्रलाई यात्रामा निकालेका छन् । र, जुन जुन कथा यात्राको पोयो समातेर हिँडेको देखिन्छ ती ती कथा जीवन्त बनेका छन् । लामा आयामका कथामा कला र शिल्पलाई सँगसँगै लिएर सन्तुलित बनाइराख्नु निकै गाह्रो काम हो । भविमा यो क्षमता पनि देखियो ।
लामा कथा लेख्नलाई सर्जकमा प्रशस्त धैर्य चाहिन्छ । भाषासहित कथामा शिल्प र सौन्दर्यमाथि सन्तुलन बनाइराख्न धेरै सचेत रहनुपर्ने हुन्छ । भवानी भिक्षुका लामा कथाले पनि कतै कतै पाठकका ध्यान खिचिरहन नसकेझैँ प्रतीत हुन्छ । तर यता भविका लामा कथाहरूले शुरूदेखि अन्तसम्म नै पाठकलाई बाँधेर राख्न सक्षम बनेको देखियो ।
कथा पढ्न शुरू गर्दा नै म सम्झन्छु कथाकार लामिछाने पनि कथा लेखिसकेपछि उक्त कृतिको नाम जुराउनमा पटक्कै टाउको दुखाउँदैनन् । नत्र सङ्ग्रहको नाम अर्धासत्य राख्ने नै थिएनन् । अर्धसत्य भन्दा हुने कथा सङ्ग्रहलाई अर्थै नलाग्ने शब्द अर्धासत्य जुराउने थिएनन् । मलाई त सम्झन्छु यो अर्धासत्य शब्दको मोहमा कथाकार किन परे होलान् । असत्य कुराको पूरा भाग आधा भाग भन्ने नै हुँदैन/ हुनैसक्दैन। असत्य भनेको अस्तित्वमा नै नभएको कुरो हो । सङ्ग्रहभित्रका मास्टर पिस दुईचार कथाका नाम पनि अझ मिठा मिठा राख्नसक्थे । मणिपुरको यात्रालाई लिएर लेखिएको कथाको शीर्षक यो कथा होइन त्यस्तो सुन्दर कथाको शीर्षक किन यति हल्का भन्न मन लाग्यो । नेपाली कथा साहित्यमा एउटा निधि बनेर बस्नेछ यो कथा ।
नेपाली साहित्यका महान् कथाकार र सफल कवि विजय मल्ल पनि आफ्नो रचनाको शीर्षक जुराउनमा निकै सकसमा पर्थे रे भन्ने कतै पढेको थिएँ वा सुनेको थिएँ। हुन पनि उनको पाटन शीर्षकको कथामा पाटन कतै कुनै सन्दर्भमा पनि आउँदैन ।
0000
यी महान् कवि/कथाकारद्वय साँच्चै सिर्जनामा महान् छन् । विजय मल्लले नेपाली कथा साहित्यलाई धनी बनाएर गए । हामीसित यतिबेला कवि/कथाकार भविलाल लामिछाने छन् । उनले पनि कथा साहित्यलाई माथि माथि नै उचाल्नेछन् आशा गरौँ । शीर्षक वा नाममा के छ र ? पाटन कथाभित्र जे छ हामीलाई चाहिएको त्यही हो । अर्धासत्यभित्र जे छ हामीलाई चाहिएको त्यही हो । नाममा के छ….!!!
कथाकार/कवि भविको जय हो ।
अझ दूषित राजनीतिले थोत्रो बनाएको जिन्दावादजस्ता पवित्र शब्द नै प्रयोग गर्छु साहित्यकारका लागि –कथाकार भविलाल लामिछाने जिन्दावाद !!!
0000
मैले नेपाली साहित्यका महान् कवि, कथाकार र सम्पादक अविनाश श्रेष्ठ (मेरा मित्र भनेर सम्बोधन गर्दा पनि गर्वबोध गर्नसक्ने स्रष्टा)-लाई प्रश्न राखेको थिएँ । उहाँले विजय मल्लको अन्तिम कथा सङ्ग्रह मान्छेको नाच सम्पादन गर्नुभएको हो । उहाँको भनाइ हेरौँ – मैले विजय मल्लको तेस्रो र अन्तिम कथा सङ्ग्रह ‘मान्छेको नाच’ सम्पादन गरेको छु । त्यो सङ्ग्रह उनको मृत्युपछि मात्र प्रकाशित हुनसक्यो । त्यस सङ्ग्रहमा उनको यस प्रकारको बानीबारे भूमिकामा मैले चर्चा गरेको छु । समकालीन साहित्यको सम्पादक छँदा मैले पनि उनका तीन-चारवटा कथा, लघुउपन्यास आदिको नामकरण गर्ने अवसर पाएको थिएँ।
उहाँले विजय मल्लको पाटन कथामाथि त अझ रोचक घटना लेख्नुहुन्छ- पाटन कथाको नामकरणको कथा पनि रमाइलो छ। विजय मल्लले कुनै पत्रिकालाई पठाएको कथाको पाण्डुलिपि पछाडिपट्टि किनारमा आफू पाटन गएको सम्झन उनले मिति र पाटन लेखेका रहेछन् । सम्पादकले त्यसैलाई कथाको शीर्षक ठानेछन् र कथाको शीर्षक पाटन राखिदिएछन् ।
यो पनि सबैमा जानकारी होस् भन्दै मित्र अविनाश श्रेष्ठलाई हार्दिक धन्यवाद भन्छु ।
अन्त्यमा यति उत्कृष्ट कृति प्रकाशनका लागि कवि लील बहादुर सोनार र राम्रो मुद्रणका लागि बुक-आन्टलाई पनि धन्यवाद दिन्छु ।