कालेबुङ, 13 नोभेम्बरः माकपा नेता तारा सुन्दासले कालेबुङ नगरपालिकाले मनमानीपूर्वक वार्क अर्डर ननिस्किकनै निर्माणकार्य शुरु गरिरहेको आरोप लगाएका छन्।
आफ्नो आरोपलाई बल दिन उनले वार्ड नम्बर 9 स्थित बाटो, 11 माइलको शौचालय र सेवा सदनको बाटोको उदाहरण दिएका छन्। यी निर्माणकार्यहरूको वर्कअर्डर नपाइकनै निर्माणकार्य शुरु भएको उनको ठोकुवा छ।
उनले भोलि अर्थात् 14 दिसम्बरको दिन मात्र टेण्डर खोलिएर वर्कअर्डर पाउने काम कसरी अघिबाटै शुरु भयो भन्ने नगरपालिकालाई प्रश्न गरेका छन्।
नगरपालिकामार्फत् भइरहेको यस्तो आफूखुशी कार्यलाई लिएर जिल्लापाल, जीटीएका मुख्यसचिव नगरपालिका मन्त्रालयका मुख्यसचिवसम्म जाने बताए।
“टेण्डर खोलिएको छैन, टेण्डर भएकै छैन, ठेकादारले कसरी काम पायो?”, उनले प्रश्न गरे। यी माकपा नेताले कालेबुङ नगरपालिकाका सबै काम एकैजना ठेकादारले मात्र पाइरहेको पनि बताए।
“यदि मैले भनेका कुराहरू गलत छ भने ममाथि मानहानिको मुद्दा हाल, तर टेंड़ो आँखा हेरेर धम्की दिने काम नगर”, उनले थपे, “तारा सुन्दास डराउने भए, पहिला नै झण्डा फेरेर अर्को पार्टीमा गइसक्ने थियो। रातो कफन ओढ़ेर त्यसै बस्नेथिएन।”
यसका साथै उनले कालेबुङ नगरपालिकाअन्तर्गत निर्माणकार्यका मजदूरहरू ल्याउने काम पनि एकैजनाले पाइरहेको ठोकुवा गरे।
अर्कोतिर, सरकारको नियमअनुसार जिल्लादेखि बाहिरका श्रमिकहरू ल्याउन नपाउने नियम रहेको तर कालेबुङमा यो नियमको ठाड़ो उल्लङ्घन भइरहेको पनि बताए।
यसैबीच, माकपा नेता तारा सुन्दासले लगाएको आरोपलाई नगरपालिका अध्यक्ष रवि प्रधानले खारेज गर्दै जनताको हितलाई ध्यान राखेर निर्माणकार्य शुरु गरिएको बताए। उनको दाबीका अनुसार 17 लाखमा कसैले काम गर्न अघि नआएपछि नगरपालिकाले हस्तक्षेप गरेर निर्माणकार्य शुरु गराएको उनको दाबी छ।
“हामीले टेण्डर प्रक्रिया गर्दा गर्दै पनि कसैले टेण्डर नै हालेन भने हाम्रो गल्ती के छ”, नगराध्यक्ष प्रधानले प्रश्न गर्दै भने, “हामी जनप्रतिनिधि भएकोले जनताको गुनासोलाई ध्यानमा राखेर काम गरेका हौं।”
नगरपालिकाले दोस्रोपटक टेण्डर आमन्त्रित पनि गरेको औ त्यति पैसामा रोड निर्माणकार्य गर्न कुनै ठेकादार अघि नआउने निश्चित भएकोले सरकारको पक्षबाट नगरपालिकाले एक प्रस्ताव पारित गरी विभागीय कार्यको रूप गरिरहेको प्रधानको स्पष्टीकरण छ।