दार्जिलिङ, १३ दिसम्बरः शहीद हवलदार सतपाल राईको आज पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गरियो।
बिहान करिब १०.३० बजेदेखि अन्तिम यात्रा शुरू भएको थियो। किराती धर्म परम्पराअनुसार शहीद राईको अन्तिम संस्कार गरिएको हो।
शहीद राईलाई श्रद्धाञ्जली अर्पण गर्न र अन्तिम यात्रामा सामेल हुन आज सयौँ मानिस जुटेका थिए।
सेनाका वरिष्ठ अधिकारीहरूलगायत दार्जिलिङ सांसद राजु विष्ट, दार्जिलिङका विधायक नीरज जिम्बा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ तथा अन्य नेतृत्व पनि उपस्थित थिए।
सयौँ मानिसहरूले यस अन्तिम यात्रामा जुटेर शहीद सतपाल राईलाई श्रद्धाञ्जली अर्पण गरे।
उल्लेखनीय छ, शहीद राईको पार्थिव शरीर हिजो राति करिब ८.३० बजे तकदा चियाकमानस्थित कटुसे गाउँ ल्याइपुऱ्याइएको थियो, जहाँ सयौँ मानिसले उनीलाई श्रद्धाञ्जली चढ़ाएका थिए।
यसभन्दा अघि हिजो दिल्लीबाट विशेष विमानमार्फत् शहीद सतपाल राईको पार्थिव शरीर बाघडुग्रा हवाइअड्डा ल्याइपुऱ्याइएको थियो। त्यहाँबाट सोझै बेङ्डुबी सैनिक छाउनीमा लगी त्यहाँ भारतीय सेनाले शहीद राईलाई पूर्ण सैनिक सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेको थियो।
त्यसपछि सड़क मार्ग भएर शहीद राईको पार्थिव शरीर तकदा चियाकमान ल्याइपुऱ्याइएको थियो।
स्मरणरहोस्, ८ दिसम्बरका दिन तमिलनाडुको कुन्नुरमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा देशका पहिलो चिफ अव् डिफेन्स स्टाफ जनरल विपिन रावतसँगै उनका पर्सनल सेक्युरिटी अफिसर हवलदार सतपाल राईलगायत अन्यले ज्यान गुमाएका थिए। शव पूर्ण जलेका कारण चिह्नित गर्न डीएनए टेस्ट गर्न परेको थियो। यसैले डीएनए टेस्टको रिपोर्ट आउन केही ढिलो भएको कारण शहीद सतपाल राईको पार्थिव शरीर दिल्लीबाट तकदा चियाकमान ल्याउन केही दिन समय लागेको थियो।