- – उदय थुलुङ
किन ढाँट्नु ! मैले आजसम्म पढ्न पाएको छुइनँ, एक कली मुस्काई उपन्यास। म जुन वर्ष जन्मिएछु, त्यही साल प्रकाशित भएको रहेछ, यो उपन्यास।
मङ्पुबाट प्रकाशित उपन्यासहरूमध्ये पहिलो मानिए तापनि उनले यो उपन्यास लाटपञ्चर वा टिस्टा बजारमाथि सोरेङमा कार्यरत छँदा लेखे होलान् भन्ने लाग्छ।
मन्सोङ कुलैनबारीको बर्मेक विभाग अन्तर्गत पाँच नम्बर धुरामा ८ अप्रेल १९४६ सालमा जन्मेर जीवनलाई स्थायी ठेगाना दिए मङ्पुमा । उनी २० अप्रेल १९९८ मा बिते। मङ्पुले उनलाई, मङ्पुका प्रथम उपन्यासकार यसैकारण भन्ने गर्छ।
दीपलाल राई राम्रै घरका सदस्य थिए। मन्सोङ कुलैनबारीका मन्सी थिए उनका बाजे सुवीर राई। बाबु रणसिँह राई पनि पछि मन्सी नै बने। दुई काका वीरबहादुर र खड्कबहादुर क्रमैले कुलैनबारीकै अधिकारी र भारतीय सैनिक सेवामा खटे। उनका आफ्नैचाहिँ दुई भाइ, चार बहिनी थिए।
उनले प्राथमिक शिक्षा मन्सोङ कुलैनबारीमा ग्रहण गरे। आठौँ श्रेणीसम्म सरस्वती जुनियर हाई स्कुल (उसबेला) मङ्पुमा पढेपछि कालेबुङको कुमुदिनी विद्याश्रम गई बाह्रौँ श्रेणी पास गरे। त्यसपछि विविध कारणले गर्दा उनी पढाइमा अघि बढ्न सकेनन्। त्यसपछि १९६४ सालतिर आफ्ना मन्सी पिता र केही समाजसेवी बुज्रुगहरूका सहायतामा सञ्चालन गरिएको लाटपञ्चर जुनियर हाई स्कुलमा सातौँ श्रेणीसम्म पढाउने कार्य गरे।
फेरि टिस्टा बजारमाथि सोरेङ भन्ने ठाउँमा गई प्राथमिक पाठशालाको सहशिक्षक बने। त्यसपछि उनी फेरि मन्सोङ कुलैनबारीको किरानी बनेर पुगे। पछि सोही पदमा उनी मङ्पु आए र यहीँका स्थायी बासिन्दा बने।
दीपलाल राई कर्तव्यपरायण थिए। उनी आफ्नो सरकारी नोकरी र जिम्मेवारीप्रति इमानदार रहन्थे। अवकाश लिँदा उनी सिन्कोना निर्देशालयको सप्लाई अफिसरको पदमा कार्यरत् थिए – मेरो संज्ञानानुसार।
दीपलाल राई, मानवता र जातिप्रेमको भावनाले भरिएको हृदय बोकेर हिँड्थे। आफु बसेको समाजमा भेटेजति, देखेजति दुःखी गरिब, असहाय, अनपढहरूलाई सकभर सहयोग गर्थे। सङ्घ-संस्थाहरूलाई आर्थिक-शारीरिक सहयोग पुऱ्याउँथे। कुलैनबारीको सेवामा रहँदा मजदुरहरूका व्यक्तिगत तथा पेसागत समस्याहरूका समाधान गरिदिन अधिकारीवर्गसित बोलिदिन्थे ; सहयोग सुझाउ दिन्थे।
उनी गोर्खा लिग पार्टीसँग सम्बन्ध राख्न पुगे तापनि छिट्टै सम्बन्ध छुटाएर स्वतन्त्र भई बसे। आफ्नो स्वतन्त्र विचारलाई साहित्यमार्फत समाजका लागि सम्प्रेषण गर्ने उनले निधो गरे। राज गर्ने विभिन्न दाउपेच नीति उनलाई मन पर्दैनथियो।
पाठ्यपुस्तकमा पढेका कथा, कविता आदिद्वारा सानैमा विमुग्ध भएका उनको मनले ठुलो भएपछि नेपाली, हिन्दी साहित्यका पत्र-पत्रिकालाई खुबै रुचायो। यो रुचिले साहित्य पढ्ने र लेख्ने अभ्यास गरायो।
बिस्तारै उनका रचनाहरू दीयो, अञ्जुली, दियालो, बाँसघारी, साहित्य सङ्केत, पारिजात, रेखा, सिन्कोना, सुनचरी, बिहान, चौबन्दी आदि साहित्यिक पत्रिकादिमा सन् १९६७ अघि-पछिदेखि छापिँदै आए।
उनका प्राप्त प्रकाशित कथाहरू, तिस-एकतिस छन्। अप्रकाशित कथा सङ्ग्रहको पाण्डुलिपि धरतीको ऋण (१९८४) –को टुङ्गो छैन। उसरी नै डी. कुमार परियारद्वारा सम्पादित/सङ्गृहीत कथा सङ्ग्रह समिधाको पाण्डुलिपि अप्रकाशित तर सुरक्षित छ।
उनले लेखे उपन्यास एक कली मुस्काई (१९६७) र पगली (१९७३)। दुवै प्रकाशित भए। दुई किनार र एक मुट्ठी माटो उपन्यास पाण्डुलिपिमै रहे, प्रकाशित भएनन्।
उनका लेखनले जटिल विषय र शिल्पशैली समातेको देखिँदैन। उनी प्रयोगवादी छैनन्। रोमान्टिक कालका मिलन-बिछोड, प्रेम-विरह, हाँसो-रोदन अथवा स्वैरकल्पना सँगसँगै समाजमा व्याप्त गरिबी, अराजकता, कुसंस्कार आदिको चित्रण उनको लेखनको मूल स्वर रहेको पाइन्छ।
दीपलाल राईका समकालीनहरूजस्तै कृष्ण गिरी, मोहन ठकुरी, गुप्त प्रधान, प्रदीप गुरुङ, पूर्ण राई, समीरण छेत्री, आर्य लामिछाने, शरद् छेत्री, दिल सुब्बा, रामलाल अधिकारी प्रभृतिले साहित्यको मूल्यलाई ध्यानमा राखेर कथा लेखनको परिपाटी र प्रवृत्तिलाई सचेततापूर्वक अघि बढाए।
साठीको दशककै आयामिक आन्दोलनलाई पनि यी लेखकहरूले संज्ञानमा राखे। दीपलाल राई भने प्रकाश कोविद, प्रकाश राणाहरू झैँ त्यसदेखि प्रभावित नभई निजात्मक लेखन शिल्पमा निमग्न र अटल बसे।
समकालीन कथाकारहरूका तुलनामा उनका कथाहरू प्रायः नै प्रणय-प्रीति र यौन कामनाका वरिपरि विचरण गर्छन्। उनी सरल बोधगम्य र मुक्त शैलीले कथा बुन्छन्। विचार र विश्लेषणको दृष्टिमा उनका कथाहरू सतही लाग्छन्।
एक कली मुस्काई उपन्यासको पृष्ठभूमि कुलैनबारी हो रहेछ। यसलाई नयाँ चेतनाले पढ्नुपर्ने आवश्यकता रहेछ। “श्री राईको यस उपन्यास साधारण पाठक र युवा समूहबिच चर्चित भए तापनि उपन्यास साहित्यको श्रेणीमा कहिल्यै समीक्षित हुनसकेन” पनि भनिँदो रहेछ; तर उपन्यासमा लेखकले एक ठाउँमा भनेका छन्’ रे – ‘विद्यार्थी समुदायको यो छाडा वातारणले हाम्रो समाजलाई अझ उन्नत बनाउला कि भन्दा त दिन प्रतिदिन अवनतिको खाल्डोतिर जाकिरहेको छ। आजको विद्यार्थी समुदायभित्र प्रेम एउटा केटाकेटीले खेलाउने भाँडाकुटी हुन गएको छ अनि वासनापूर्तिको एउटा साधन मात्र।’
त्यसो भए एक कली मुस्काई उपन्यासले समाजलाई भनेको अन्तिम उद्देश्यात्मक कथा-सङ्केतको सार यही होला पनि। पगली उपन्यास पनि वियोगान्त, दुखान्त र पूर्ण रूपले प्रेम प्रसङ्गमा आधारित उपन्यास हो रे। प्रेममा आइरहेको उच्छृङ्खलता, रुढिवाद र स्वार्थान्धताले पथभ्रष्ट भइरहेको युवापिँढीले निर्माण गरिरहेको विसङ्गत समाजप्रति चिन्तना गरिएको उपन्यास भन्छन् यो पढ्नेहरूले।
एक कली मुस्काई उपन्यास शारदा प्रकाशन दार्जिलिङले १९६७ मा र पगली उपन्यास उपासक ब्रदर्स कालेबुङले १९७३ सालमा प्रकाशित गरेपछि उनका अरू पाण्डुलिपिहरू अप्रकाशित नै रहे।
दीपलाल राईले आफ्नै सुरमा लेखिरहे, तर लेखिनै रहे। उनले आफ्नो संज्ञानले लेखे, प्रतिस्पर्धाले लेखेनन्। जे देखे, त्यो लेखे। अरूले भनेको भरमा लेखेनन्। कुदेनन् पनि। बुटपट्टी कसेनन्।
तर यी सब गर्नुपर्थ्यो कि उनले !
देखिनलाई छर्लङ्ग।
-मङ्पु