एउटा साँचोजस्तै कथा

0
964

– सञ्जीव छेत्री

एकप्रकारले भन्नु हो भने आक्रोशको आवेगमा निर्णय लिएर अनि बाँच्नुका लागि पनि भनेर मैले यो पेसा समातेको।

– अनि मैले देखेँ, भोगेँ, बुझेँ – मान्छे सब नैतिकता, मर्यादा र सभ्य आचरणका आवरणहरू मिल्काएर एकैछिनमा पाशविकताको पराकाष्ठा नाघ्ने कोसिस गर्न थाल्छन्।

– देखिँदा सफा देखिएको एउटा मान्छे कति घृणित, निकृष्ट र खुङ्खार भएर देखिइन सक्छ – मैले देखेकी छु। मान्छेहरूका विकृत मन; प्रायः जानेर अभ्यस्त भइसकेकी छु।

तर त्यो मान्छे ?

कत्ति मायालाग्दो मान्छे हो ऊ। एउटै इच्छा र सपनालाई डोहोऱ्याएर लामो बाँचिरहन सक्ने। हुन त आज उसलाई देखेपछि लागिरहेछ – म पनि ऊजस्तै भइदिन सकेकी भए आज यस ठाउँमा हुने थिइनँ।

अन्तै हुन्थेँ, कतै हुन्थेँ।

कहाँ हुन्थेँ हुँला ? आह !

x x x

हिजो उसको कल रिसिभ गरेकी थिएँ।

‘‘………….. मा आउनु सक्छौ ?’’ – उताबाट।

‘‘मलाई चिन्नु …………………..’’ – म।

‘‘हुन्छ, हुन्छ। तिमी आऊ न।’’

‘‘…………………………………………’’

‘‘तिमी नसुर्ताऊ न। आऊ मात्रै।’’

‘‘एड्रेस दिनुहोस् न प्रपर। त्यहीँ आउने।’’ – म।

‘‘……………………………………’’ – पूरा ठेगाना उताबाट आएपछि फोन राखियो।

x x x

ठुलो बजारको साँझलाई चिर्दै म निस्कन्छु। पुग्छु।

राम्रो उँचाइको, रातो वर्णको, सुलुत्त परेको नाक र ठुला – ठिकैका आँखा भएको एकप्रकारको आकर्षक मान्छेले बोलायो।

पसेँ ऊसितै कोठाभित्र।

x x x

गल्लीमा मान्छेहरूका भीड भएर पनि कोठामा शून्यता अनुभव गरेँ एकप्रकारको। पिन-अपहरू नियालेँ। जीवनमा कुनै उल्लास बाँकी नभएको तर झिनो आशा समातेर बाँचिरहेको मान्छेले बटुलेका जस्ता ती नक्साहरू।

‘‘तपाईंकै कोठा हो?’’ – सोध्न मन लाग्यो।

‘‘हो।’’ – मात्र भन्यो।

कस्तो मान्छे ? मतिर राम्ररी हेरेको पनि छैन।

चारैपट्टि हेर्छु।

रक्सी, दुईवटा ग्लास, केही सोडा अथवा पानी, अलिकति रक्सीको साथी तरकारी र अरूरू… केही पनि छैनन्।

‘‘मैले तिमीलाई किन कन्ट्याक गरेको भन त !’’ – मायालाग्दो मान्छेले सोध्यो।

‘‘किन ?’’ – प्रश्नै गरिदिन्छु।

‘‘सम्झ, आज मैले तिमीलाई बिहे गरेर ल्याको।’’

– अप्रत्याशित; एकदमै अप्रत्याशित कुरा हुनसक्छ मेरा लागि यो – भनेर उसलाई के थाहा।

म यहीँदेखि ऊसँग छक्क पर्न थाल्छु। धेरै अनौठा र अप्ठ्यारा भोगेकी छु। यो अर्को अनौठो कुरो मेरा लागि।

‘‘अब तिमीले के गर्नुपर्छ थाहा छ ?’’ – ऊ फेरि।

अवाक् जस्तै म।

‘‘खाना पकाऊ।’’ – अह्रायो।

उसको त्यो काम अह्राइले एकप्रकारको रिस उठे पनि तर अहँभन्नै मन परेन/सकिनँ। यन्त्रवत उठेँ। त्यही कमरासित जोडिएको अर्को कोठामा रहेछ किचन।

त्यहाँ भएका चिजहरूबाट साधारण खाना बने – भात, आलु-भिन्डीको सब्जी, गोलभेँडाको अचार, मुसुरी दाल। तर – कुन्नि किन मेरा हातहरू छिटो-छिटो चल्दै थिए।

एउटा पुरानो र मलाई मनपर्ने गीत गुनगुनाइरहेकी थिएँ। त्यसबेला।

बनाइसकेर म कुनै कुशल गृहिणीजस्तो ऊ भएकहाँ उभिरहेकी थिएँ –  बोलाउन उसलाई।

ऊ ओछ्यानमै थियो। पल्टिबसेको। सिगरेट थियो हातमा।

हातको सिगरेट खोसेर फ्याँकिदिऊँ जस्तो लागेको थियो।

‘‘पाक्यो ?’’ – सोध्यो।

म उभिरहेँ। भन्नै नसकिने मनस्थिति थियो मेरो। कसरी भनुँ – म कस्तो फिल गरिराखेकी थिएँ।

‘‘पस्क न।’’ – उसले फेरि भन्यो।

कसै गरी केही भन्न नसकेर म फेरि भान्साभित्र पसेँ। जतिसक्दो राम्ररी भाग बनाएर ल्याएँ। पुरानो एउटा टेबल ठिक्क पारिसकेको रहेछ।

‘‘राख न यहाँ।’’ – भन्यो। राखेँ।

‘‘पानी ल्याऊ।’’ – भन्यो। ल्याएँ।

‘‘तिम्रो पनि।’’ – भन्यो। ल्याएँ।

‘‘बस न।’’ – भन्यो। बसेँ।

‘‘ख्वाउनु पर्छ ?’’ – भन्यो। उज्यालो उसले।

‘‘मेरो हात छैन र ?’’ – कत्ति छिटो यत्ति नजिक !

ओठे जवाबको च्याम्पियन भन्नु हुन्थ्यो बाबा मलाई।  जीवनको त्यो पाटा, व्यवहारको त्यो पक्ष ; मारेर राखेको पनि कत्ति भइसकेको रहेछ। चोखो ठट्टा कसैसित नगरेको पनि कत्ति भइसकेको रहेछ।

त्यसदेखि उता- भाँडा धुनु’ – भनेर अह्राएन। – तर धोएँ।

पानी गरम गरेर ल्याऊ है ।’ – भनेर पनि अह्राएन। – तर पानी तताएर हालेँ।

एकाएक सम्झेँ – भर्खर दस बज्दैछ। रात अझ बाँकी नै छ। फेरि तर कुन्नि कता मेरो त्यो त्रास हरायो। सम्झनै पनि रहेन राम्रो।

x x x

ओछ्यान बनाएर त्यहीमाथि सिगरेट सल्काएर ढल्किराखेको रहेछ।

‘‘तौलिया ऊ त्यहाँ छ।’’ – देखाइदियो।

‘‘बस यहाँ।’’ – अह्रायो हत्केलाले ढ्यापढ्याप पारेर ओछ्यानमाथि उसकै छेउमा। बसेँ।

‘‘कस्तो लाग्यो हाम्रो घर ?’’ – अँगालोमै बाँधेर सोध्यो उसले।

मैले विस्मय र प्रश्नका दृष्टिले हेरेपछि मुसुक्क हाँसेको देखियो ऊ।

अरे ! म लजाइछु !

लजाइछु ?

?

सोच्दै छु- कसरी लजाइछु, म त्यो पुरुषसामु।

थाहा छैन कुन प्रेरणाले मैले उसको हातबाट सिगरेट खोसेर डस्टबिनतिर फ्याँकिदिएँ।

ऊ मानिरह्यो।

x x x

हिज पनि म त्यहीँ थिएँ। त्यही कोठामा। कोठाभित्र।

खाना पकाइरहेकी थिएँ। पानी तताइरहेकी थिएँ।

x x x

एउटा जस्तो भए पनिकाम गर्न सुदूर कुनै गाउँबाट यहाँ आइपुगेको यो मान्छे – मेरो बाबुजस्तै।

ऊ र म सँगै ग्रेजुएट भएर निस्केका रहेछौँ।

जीवनको त्यो भाग टर्निङ पोइन्ट साबित भइदियो मेरा लागि।

‘‘यत्ति राम्रो पोस्ट………. …………… ………..।’’

-त्यो तालुखुइले मान्छे सम्झन्छु।

कति कमजोर रहिछु। अडिग किन बस्न सकिनँ हुँला आफ्नै बाटामा ? त्यस बुढाको प्रस्तावलाई ठोकर मारिसकेपछि फेरि किन त्यसैलाई विकल्प ठानिछु मैले ? कति सजिलै म बहकिएकी रहिछु। आजसम्म थाहा छैन – अनेकौँ पुरुष भेटेँ। तर यो मान्छे ?

‘‘होस्।’’ – भनिदिएँ पैसा।

‘‘किन ?’’ – उसले सोध्यो।

फेरि लिइदिएँ । रिसाएको अनुहार देखेर उसको।

‘‘भोलि………………..’’ – भनिहाल्यो।

नाइँभन्न नसकेर, फेरि पनि म त्यहीँ थिएँ।

x x x

‘‘कोकोलाई हेर्नुपर्छ तिमीले ?’’ – सोध्यो।

‘‘म र ………………… म मात्रै।’’ – जिस्केकी म।

‘‘तपाईंको ?’’ – म नै फेरि।

‘‘छन् धेरैजना एकादेशमा।’’ – ऊ।

‘‘किन यति जाबो पैसाका लागि यति टाढा आको ?’’ – म। जीवनले वाक्क म।

‘‘उतै पनि त कमिन्छ पैसा। कमिन्दैन ?’’ – म नै।

‘‘तर जसरी हामी हुर्क्यौं, ………………………. भयो, तिमी अनुभव गर्न सक्दैनौ मेरा कुरा। ……………………………… मान्छे कोहीबेला खै के हुन्छ। …. भन्नै नसकिने।’’

– बोलिरह्यो ऊ – ‘‘मलाई पनि सिजन फूलहरू स्याहार्ने रहर थियो आफ्नै घरको आँगनमा।

………………………. घर नगएको पनि छ वर्ष भइसक्यो ……………..।’’

‘‘बिहा नगर्नुहुने अन्त ?’’

– आज एउटा अलि मायालाग्दो लोग्नेमान्छे भेट्टाउँदा भएभरका ती क्रूर, हिंस्रक, कामपिपासु लोग्नेमान्छेहरूप्रतिका सम्पूर्ण घृणा, रिस र आक्रोश भेला गरेर उसको मर्ममै प्रहार गरेकी यो मैले।

‘‘त्यै त अन्त तिमीलाई ल्याको।’’ – बोल्ने ठाउँ नै नपाएजस्तो चुप्पो लागेँ म।

बिहान उसले फेरि भन्यो-

‘‘आज मुभी जाने। बेलुकीको शो।’’

x x x

दिनैभरि फोन बन्द रह्यो मेरो।

साँझ खस्न आँटेको छ। बजार उज्यालिँदै जाँदैछ।

म जान्छु।

आज पनि म जान्छु।

  • सिटोङ

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here