खरसाङ, 1 4 फरवरीः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-लाई समर्थन जनाएको कुरालाई सरासर गलत र भ्रामक बताउँदै तिलक गुरुङले खण्डन गरेका छन्।
तिलक गुरुङ गोर्खा जनमुक्ति मोर्चा खरसाङ समिति र चालक महासङ्घ खरसाङका पूर्व अध्यक्ष हुन्। उनी पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि जेलसम्म बसेका थिए।
हिजो उनले जीटीए बीओए अनित थापासँग भेट गरी विनय तामाङ र अनित थापाको सोच/विचारलाई समर्थन गरेको समाचार प्रकाशमा आएको थियो। तर तत्कालै गुरुङले एक विज्ञप्ति जारी यो समाचारको खण्डन गरेका छन्।
‘गोर्खा जनमुक्ति मोर्चा -2 –मा सामेल भएको जुन समाचार सोशल मिडियामा आएको छ, त्यो सरासर गलत र भ्रामक हो’, तिलक गुरुङले थप भनेका छन्, ‘मैले जीटीए बीओएका अध्यक्ष थापालाई भेट गरेको सत्य हो। अनि मैले उनलाई जीटीए बीओएका हैसियतमा आधिकारिक भेट गरेको हो। तर त्यस भेटघाटको उद्देश्य मैले गोर्खा जनमुक्ति मोर्चा-2 लाई समर्थन जनाउन होइन।’
उनले थप भनेका छन्, ‘वर्तमान राज्य सरकारले गोर्खा जातिमाथि गरेको भेदभावपूर्ण नीति र दमनलाई म कदाचित बिर्सिन सक्दिन। यसैले कुनै नि मत राज्य सरकारको पक्षमा खस्छ भने म त्यस राजनीतिको सहयात्री बन्न सक्दिन।’
यसका साथै उनले आफ्नो जीवन सम्पूर्ण रूपले गोर्खा जाति र गोर्खा भूमिको पक्षमा सदा सर्वदा रहने प्रतिबद्धता पनि जाहेर गरेका छन्।
उल्लेखनीय छ, हिजो विनयपन्थी मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरी तिलक गुरुङ विनयपन्थी मोर्चामा सामेल भएको बताएको थियो। यसका साथै उनको समर्थनलाई खरसाङको जनसभाअघि विमल गुरुङका लागि ठूलो झट्का रहेको दावी गरिएको थियो।
‘तिलक गुरुङले विमल गुरुङको सोच, रणनीति र नेतृत्व केवल कुर्सीको राजनीति र जनतालाई अल्मल्याउने राजनीति रहेछ, पहाड़लाई चाहिएको नेतृत्व विनय तामाङ र अनित थापाको नेतृत्व नै सही हो भन्ने सोच राखेर नयाँ सोच अनि नयाँ विचारको गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्’, विनयपन्थी मोर्चाद्वारा जारी विज्ञप्तिमा यस्तो दावी गरिएको थियो।