दार्जीलिङ, १४ मार्चः रिम्बिक-लोधोमा समष्टिअन्तर्गत लोधोमा ग्राम पञ्चायत-एकको तामाङ गाउँमा गएको पैह्रोले पुरिएर एकै परिवारका तीनजना सदस्यको मृत्यु भएको छ।
मृतकहरूमा ३० वर्षीय निमा तामाङ (पति), २७ वर्षीया चन्द्र तामाङ (पत्नी) र ५ वर्षे छोरो नियाल तामाङ छन्।
भाग्यवश छोरी सन्ध्या तामाङ भने यस बीभत्स घटनाबाट बाँचेकी छन्। केही दिनअघि फेञ्चेटारस्थित मामा घर गएकी सन्ध्या पैह्रोबाट बाँचेकी हुन्।
स्थानीयहरूका अनुसार पैह्रो आज बिहान करिब ४ बजे गएको हो। पैह्रो लगभग १४ फुट माथिबाट झरेको छ।
बिहान जतिबेला यो पैह्रो झऱ्यो, त्यसबेला उनीहरू गहिरो निद्रामा थिए। त्यसैले पनि उनीहरूले पैह्रो आएको पत्तै पाएनन्।
घर माथिबाट तामाङ परिवारले तानेको खाने पानीको पाइप खोलिएको कारण रातभरि पानी सोसिएर पैह्रो गएको स्थानीयहरूको भनाइ छ।
स्थानीयहरूले पैह्रोमा पुरिएका तीनजनाको शव निकालेका छन्। जानकारीका अनुसार शवलाई पोस्टमर्टमका लागि दार्जीलिङ सदर अस्पताल पठाइएको छ।