सिलगढ़ी, १४ मार्चः वरिष्ठ साहित्यकार एवं राजनीतिक चिन्तक पी. अर्जुनकृत नाटक सङ्ग्रह ‘अचानो’-को विमोचन भएको छ।
आज सालबारी सेवा समाज भवनमा एक कार्यक्रमबीच कार्यक्रम अध्यक्ष वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, प्रमुख अतिथि प्रा. मोहन पी. दाहाल, नाट्यकर्मी/कलाकार मेनुका प्रधान, कृतिकार पी अर्जुन, साहित्यसेवी मीमलाल सापकोटा, नाटककार ध्रुव लोहागुण, साहित्यकार ज्ञानेन्द्र खतिवड़ा, साहित्यकार कमला राई, राजेन तामाङलगायत अन्यको हातबाट अचानोको विमोचन गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन पी. दाहालले कृति र कृतिकारमाथि संक्षिप्त तर गहन कुरा राखे। उनले साहित्यकार पी. अर्जुनले आफ्ना कृतिमार्फत् धेरै अर्जुनहरू जन्माइसकेको बताए। साथै पी. अर्जुनका नाटकले हाम्रा अवस्था र सङ्घर्ष र इतिहासलाई जीवन्त रूपमा प्रस्तुत गरेको जनाए।
नाटककार पी. अर्जुन, नाट्यकृति र अवदान तथा दार्जीलिङे नाट्य परम्परामाथि लोकनाथ उपाध्याय चापागाइँ, नरबहादुर दाहाल र मेनुका प्रधानले आ-आफ्नो विचार राखेका थिए।
बबिता मादेनले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार कालुसिंह रनपहेंलीले कृतिकारको परिचय राखेका थिए।
नाटककार पी. अर्जुनले आफ्नो कुरामा दार्जीलिङ नाट्य परम्परामाथि जानकारी गराउँदै कार्यक्रममा उपस्थित नाटककार र नाट्यकर्मी क्रमैले विश्वमणि हिङमाङ, मेनुका प्रधान, लक्ष्मी प्रधान, मरिमित लेप्चा, पूर्ण गुरुङ ‘निरुपण’, जीवन गुरुङलगायत अन्यको परिचय गराएका थिए।
कार्यक्रममा बाल कलाकार निवृति शर्माले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने समीर शर्माले गजल प्रस्तुत गरे।