दार्जीलिङ, १४ मार्चः आउँदो विधानसभा चुनाउमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गठबन्धन गरेरै अघि बढ़्ने निर्णय गरे तापनि तालमेल बन्न नसके एक्लै चुनाउ लड़्ने सम्भावनालाई पनि खुल्ला राखेको छ।
आज मारेबुङ चियाबारीको गुम्बाडाँड़ा र घूम रेलवे स्टेशनमा क्रामाकपाले पथसभा गरेको थियो, जसलाई सम्बोधन गर्दै क्रामाकपा नेतृत्वहरूले क्रामाकपा गठबन्धनमै रहने निर्णय गरे तापनि चुनावी तालमेल हुननसकेको खण्डमा एक्लै चुनाउ लड़्नसक्ने बताएका हुन्।
“क्रामाकपा कसैको खेताला होइन। यो कोलकाता र दिल्लीको सरकारद्वारा सञ्चालित दल पनि होइन। तर जनताको आवाज बोक्ने खाँटी क्षेत्रीय दल हो”, क्रामाकपा नेताहरूले थपे, “गोर्खाको उन्मुक्ति दिलाउँछु भन्ने दलहरूले गोर्खाको गौरव र आत्मसम्मानसम्म बेची खाइसके। राजनीतिक संस्कार कहालीलाग्दो बनाए। न चिया मजदुर, श्रमिक श्रेणीक आङमा घाम लाग्यो, न त पहाड़मा ठोस विकास भयो। न गोर्खा अस्मिताको रक्षा भयो।”
उनीहरूका दावीका अनुसार यस्तो परिवेशभित्र पनि क्रामाकपा निरन्तर सम्झौताहीन सङ्घर्षमा लागिपरेको छ।
क्रामाकपा दार्जीलिङ आञ्चलिक समितिको आयोजन मारेबुङ चियाबारीमा सम्पन्न सभालाई बले डुक्पाले अध्यक्षता गरेका थिए भने शेखर छेत्री, नर्बु लामा, अरुण घतानी र सुनिल राईले सम्बोधन गरेका थिए।
यसैसभाबीच बिजनबारी क्षेत्रका नेता मदन तामाङ पुनः क्रामाकपामा फर्किए।
अर्कोतिर घूम रेलवे स्टेशनमा आजै सम्पन्न अर्को पथसभालाई सञ्जिला घिसिङ, गोविन्द छेत्री र शेखर छेत्रीले सम्बोधन गरेका थिए।