भाजापाले गोर्खाल्याण्डमाथि विचार गर्ने वाचा गरेको छ : विमल

0
1593
विमल गुरुङ (फाइल फोटो)।

कोलकाता, १४ अप्रेल : भारतीय जनता पार्टी यदि पुनः सरकारमा आएको खण्डमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामाथि गम्भीरतापूर्वक विचार गर्ने वाचा गरेको गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङले दाबी गरेका छन्।

‘छुट्टै राज्यको माग प्रत्येक दार्जीलिङ पहाड़वासीको सपना हो’, उनले थपे, ‘भाजपाले आफ्नो मेनिफेस्टोमा दार्जीलिङको समस्याको स्थायी राजनीतिक समाधानको मुद्दा समावेश गर्नु ‘धेरै प्रेरणादायी’ कुरा हो।’

भाजपाले आफ्नो मेनिफेस्टोमा ‘छुट्टै राज्य’-को स्पष्ट उल्लेख गरेको छैन। तर दार्जीलिङ पहाड़, सिलगढ़ी तराई र डुवर्स क्षेत्रको समस्याको स्थायी राजनीक समाधान र जनजाति पाउनबाट छुटेका गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने प्रतिबद्धता जताएको छ।

विमलका अनुसार उनीहरूले गोर्खाल्याण्डको माग गर्दै भाजपालाई ज्ञापन चढ़ाएको थियो भने भाजपाले सरकारमा आएको खण्डमा छुट्टै राज्यको मागलाई विचार गर्ने वचन दिएको छ। पीटीआईसँग टेलिफोनिक कुराकानी गर्दै भाजपाले आफ्नो घोषणा-पत्रमा दार्जीलिङ पहाड़को समस्याको स्थायी राजनीतिक समाधानको मुद्दालाई समावेश गरेको पनि उनले खुशी व्यक्त गरे।

गुरुङले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहको प्रशंसा पनि गरे। ‘उनीहरूले दार्जीलिङ पहाड़को समस्याप्रति सहानुभूति राख्छन्।’

अर्कोतिर उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भोट ब्याङ्कको राजनीति गरिरहेको आरोप पनि लगाए।’

‘ममता कहिले पनि पहाड़को मूल मुद्दालाई सम्बोधन गरेकी छैनन्। उनलाई दार्जीलिङ पहाड़को साँचो विकासमा पनि कुनै इच्छा छैन। यदि ममता ब्यानर्जीले पहाड़ र पहाड़वासीको साँचो हित र कल्याण चाहन्छिन् भने श्वेत-पत्रमा लेखेर दिउन्’, गोजमुमो प्रमुख विमल गुरुङले भने।

गुरुङले गोर्खाल्याण्ड नै आफूहरूको एक मात्र प्रमुख मुद्दा रहेको र अन्त्यसम्म यसका लागि सङ्घर्ष गरिरहने बताए। साथै उनले भाजपाले दोस्रो कार्यकालमा गोर्खाल्याण्ड मुद्दामाथि गम्भीरतापूर्वक विचार गर्ने कुरामा विश्वास व्यक्त गरे।

पीटीआईसँगको कुराकानीमा उनले यसपटक भाजपा उम्मेदवार राजु विष्टले ठूलो मतान्तरले जीत दर्ता गर्ने बताए। विमल गुरुङका उनीनेतृत्व गोजमुमो, गोरामुमो, क्रामाकपा, गोरानिमो, अभागोली, केकेएस, एनजीसी, सुमेटि मोर्चा, जीएसएसएसलगायत अन्यले समर्थन गरेकोले भाजपा  उम्मेदवार विष्टको जीत निश्चित भएको हो।

भाजपा उम्मेदवार विष्ट जितिपछि सपना साकार बनाउन आफूहरू अझ नजिक पुग्ने गुरुङको भनाइ छ।

यसअवधि उनले आफू चाँड़ै पहाड़ फर्किने बताएका छन्। ‘पहाड़ चाँड़ै फर्किने कुरामा म विश्वस्त छु। सर्वोच्च न्यायालयको आदेश हुँदा हुँदै पनि बङ्गाल पुलिसले मलाई किन रोक्यो, मैले बुझ्नै सकेको छुइनँ’, उनले भने।

कुराकानीअवधि विमलले विनय तामाङमाथि पनि कटाक्ष गरेको छन्। साथै पहाड़वासीले विनय तामाङलाई कहिले माफी नदिने बताए। उनले भने, ‘यदि विनय तामाङ  म र गोर्खा जातिसँग इमानदार छैनन् भने उ कसरी ममता ब्यानर्जीसँग इमानदार हुनसक्छन्?’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here