दिसन अस्पतालमा मङ्पूनिवासी एक व्यक्तिको मृत्यु

0
1104

सिलगढ़ी, १३ मईः सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको सिलगढ़ी कावाखालीस्थित दिसन अस्पतालमा थप एकजना व्यक्तिको मृत्यु भएको छ।

बङ्ग्ला दैनिक उत्तर बङ्गाल संवादको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार ४८ वर्षीय ती मृतक व्यक्ति रङ्ग्ली-रङ्लियट थानाअन्तर्गत् मङ्पूनिवासी हुन्।

जानकारीका अनुसार ती व्यक्तिलाई बुधवार राति दिसन अस्पतालमा भर्ती गरिएको थियो, जहाँ उपचाराधीन अवस्थामा आज बिहान उनको मृत्यु भएको हो।

मृतकको रालको नमूना सङ्ग्रह गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा जाँचका लागि पठाएको छ। जाँच रिपोर्ट आएपछि नै शव परिवारपक्षलाई सुम्पिने बताइएको छ। रिपोर्ट बेलुकीसम्म आइपुग्ने बताइएको छ।

उल्लेखनीय छ, कावाखालीस्थित यस सारी अस्पतालमा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। ती सबैको टेस्ट रिपोर्ट भने नेगिटिभ आएको छ। अर्थात् दिसन अस्पतालमा आजका दिनसम्म जति पनि मृत्यु भएका छन्, उनीहरू अन्य बिमारीकै कारण मृत्यु भएको जाँच रिपोर्टमार्फत् पुष्टि भइसकेको छ।

यसैले पनि दिसन अस्पतालमा उपचाराधीन बिरामीको मृत्युलाई लिएर आतङ्कित बनिहाल्नु कुनै कारण देखिँदैन।

अर्कोतिर, आज अपराह्नसम्म यस अस्पतालमा कोरोना सङ्क्रमणको आशङ्का गरिएका कुल १९ जना बिरामी उपचाराधीन रहेका छन्।

यसैबीच, कोरोना सङ्क्रमणकै आशङ्कामा गरिएका ६ जना बिरामी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा उपचाराधीन रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here