डा. मिचुङ र डा. वीणाले गरिरहेका कार्य प्रशंसनीय : चामलिङ

1
959

गान्तोक, 13 जूनः कोविड महामारी कालमा मानिसहरूको घर दैलोमा पुगेर स्वेच्छाले सेवा पुर्‍याइरहेका डा. मिचुङ भोटिया र डा. वीणा बस्नेतको कार्यको पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले प्रशंसा गर्नका साथै कोविड कालमा विश्वको कुनै पनि स्थानमा नदेखिएको सेवा पुर्‍याइरहेका यी दुईजना डाक्टरलाई प्रोत्साहन दिनका सट्टा सरकार मन्दबुद्धिको भएकाले उनीहरूलाई पुलिस लगाएर सताउने काम गरेको भन्दै यसको भर्त्सना पनि गरेका छन्।

 “राज्य सरकारले निजी डाक्टरहरूलाई प्रोत्साहित गर्नुका सट्टा कोविड महामारीका समय मामिसाहरूलाई स्वैच्छिक रूपमा गृहसेवा पुर्‍याइरहेका डा. मिचुङ भोटिया र डा. विणा बस्नेतलाई अपमानजनक कार्य गरेको छ। तपाईं यी दुई डाक्टर, जनता र सरकारलाई के सन्देश दिन चाहनुहुन्छ?” भन्ने  साप्ताहिक प्रश्नको जवाबमा चामलिङले सरकारले डा. मिचुङ र डा. वीणामाथि गरिएको व्यवहारको आलोचना र निन्दा गरेका हुन्।

आफ्नो उत्तरमा चामलिङले भनेका छन्,-वर्तमान राज्य सरकारको अहंकार र मूर्खता देखेर स्तब्ध र निराशा व्यक्त गर्ने शब्दहरू मसित छैन। हामी दुर्लभ प्रकारको एक विश्वव्यापी महामारीसँग लड़िरहेका छौँ। कोविड -19 विरुद्ध लड्ने योद्धाहरूलाई एकजुट गर्न विश्वले सबै सम्भावित प्रयास गरिरहेको छ। यस्तो समयमा यदि जीवन बचाउँछ भने हामीले हाम्रा आफ्नै मानिसको सहयोग लिन अस्वीकार गर्नुभन्दा शत्रुको सहयोग लिन पनि तयार हुनुपर्छ। तर, अर्कोतर्फ, सिक्किममा हाम्रो सरकार यति घमण्डी रूपमा देखिएको छ, जसले मानिसहरूको घर दैलोमा पुगेर नि:शुल्क सेवा प्रदान गरिरहेका स्वयंसेवी चिकित्सकहरूलाई पनि सताइरहेछ।’

डा. मिचुङ भोटिया र विणा बस्नेतले मानिसहरूको घर-दैलोमा पुगेर दिएको सेवालाई ‘विश्वव्यापी उदाहरण’ –को संज्ञा दिँदै उनले यो महामारीमा कोही पनि मेडिकल डाक्टर विश्वको कुनै पनि कुनामा मेडिकल सेवा लिएर मानिसहरूको घर दैलोमा पुगेका उदाहण छन्? भन्ने प्रश्न गरेका छन्।

‘मानिसहरू उपचारका लागि अस्पताल जानुपर्ने अवस्थामा यहाँ दुईजना डाक्टरले निजी रूपमा सबै औषधीय सुविधा जोहो गरेर मानिसहरूको सेवा पुर्‍याइरहेको र उनीहरूलाई सरकारले कुनै भुक्तानी गर्नु पर्ने छैन’, चामलिङले थप भनेका छन्, ‘यी दुई डाक्टरलाई सरकारले पहिला धन्यवाद भनेर उनीहरूलाई प्रोत्साहित गर्न सहयोग पुर्‍याउनुपर्ने थियो। तर पुलिसलाई प्रयोग गरेर उनीहरूलाई सताउने कार्य राज्य सरकारले गरेको छ जो कल्पनाभन्दा बाहिरको कुरा हो। सरकारको यो कार्य घोर अन्याय र दमनकारी मानसिकता मात्र होइन, तर एक अमानवीय र उदासीन दिमागको उपज पनि हो।‘

चामलिङका अनुसार डा. मिचुङ भोटियाले गाउँको भ्रमणका क्रममा सरकारले कोविड किट र औषधि लापरवाहीपूर्ण वितरण गरेको पाएका थिए। यस सम्बन्धमा सरकारलाई प्रश्न गर्दा सरकारले सही जवाफ दिन नसकेको पनि यी पूर्व मुख्यमन्त्रीले बताएका छन्।

चामलिङको दावीका अनुसार सरकारले वितरण गरेको कोविड औषधि स्तनपान गराउने र गर्भवती महिलाका लागि खतरनाक थियो। यद्यपि डा. मिचुङ भोटिया र डा. वीणा बस्नेतले मानिसहरूलाई घर घर पुगेर हरसम्भव सहयोग पुर्‍याएको तथा मानिसहरूको अवस्था जाँच गरी अति आवश्यक परेकालाई तत्काल उपचारको व्यवस्था गरेको पवन चामलिङको दावी छ।

राज्यमा यी दुई युवा डाक्टरको सेवामा आफूले गर्वबोध गरेको बताउँदै राज्यमा मानिसहरू पनि उनीहरूले दिएका सेवाबाट खुशी रहेका तर सरकारमा रहेका केही सङ्कुचित नेताहरू मात्र दुई डाक्टरको निःशुल्क सेवा देखेर निराश भएको उनको आरोप छ।

चामलिङले थप भनेका छन्, ‘यस सरकारको अमानवीय मनोवृत्ति र अभद्र सूक्ष्मतालाई इतिहासले कहिले पनि भुल्ने र क्षमा गर्नेछैन।‘

उनका अनुसार डा. मिचुङ र डा. वीणासँग राज्यवासी र साथ र आशीर्वादमा छ, त्यसैले उनीहरूद्वयले हार मान्नु हुन्न।

साथै आफूहरूको समर्थन, शुभकामना पनि यी दुई डाक्टरसँग रहेको उनले बताएका छन्।

यसैगरी आफ्नो स्वेच्छाले सेवा दिन चाहने कोही पनि योग्य मेडिकल डाक्टर र नर्सहरू राज्यमा छन् भने उनीहरूलाई पनि बिना कुनै हिच्किचाहट अघि आएर मानिसहरूलाई सेवा दिन चामलिङले आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘हाम्रा मानिसहरू कष्टमा छन्। र, उनीहरूलाई सहयोग चाहिएको छ। एक चिकित्सा कर्मचारीले घर घरमा भ्रमण गर्दा ठूलो फरक पार्न सक्छ। मानिसहरू चिन्तित छन्। उनीहरूलाई परामर्श र चेकअप आवश्यक छ। उनीहरूले तपाईंको आवाज सुन्न आवश्यक छ। तपाईंहरूले सेवा गर्दा चाहिने सबै आवश्यक आधिकारिक समर्थन, उपकरण, औषधि इत्यादि प्रदान हामी प्रदान गर्न तयार छौँ।‘

पूर्व मुख्यमन्त्री चामलिङले थप भनेका छन्, ‘केही सिक्किमविरोधी मूर्खहरूले हामीले कोविड महामारीको राजनीति गरिरहेको आरोप लगाएका छन्। उनीहरूलाई थाह होस् हामी यस अवस्थाको लापरवाही सरकारको विनाशकारी व्यवस्थापन बारेमा हाम्रो हार्दिक चिन्ता साझा गर्दैछौँ। हामी के योगदान र सेवा दिन सक्छौँ भन्ने हाम्रो इमानदार इच्छुकता साझा गरिरहेका छौँ।  हामी सिक्किम र सिक्किमेली जनतालाई धेरै माया गर्छौं। मानिसहरूले आफ्नो जीवनका सबै थोक गुमाइरहेको समय हामी मौन दर्शक बन्न सक्दैनौँ। म सरकारलाई यति नै अपील गर्न चाहन्छु, हामीले यो समय राजनीति गरिरहेका छौँ भन्ने सोच्न बन्द गर। अहिलेको सर्वोच्च प्राथमिकता के हुनुपर्दछ भन्ने कुरा हामीलाई राम्रोसित थाह छ। हामीलाई अहिले कुनै राजनैतिक फाइदा कमाउनु छैन। हामीबाट ध्यान हटाएर कृपया आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ।‘

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here