पार्टी फेर्दै जेबी तामाङ, गोरामुमो त्यागेर विनयपन्थी मोर्चामा सामेल

0
1097
अनित थापाको हातबाट झण्डा ग्रहण गर्दै जेबी तामाङ।

दार्जीलिङ, १४ जुलाई : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का कार्यकारी अध्यक्ष जेबी तामाङ विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-मा सामेल भएका छन्। उनी गोरामुमोका शीर्षस्थ नेताहरूमध्ये एक थिए।

गोरामुमो त्यागेका तामाङले आइतवार बिहान रङ्गबुलमा सम्पन्न एक कार्यक्रममा विनयपन्थी मोर्चाका महासचिव अनित थापाको हातबाट गोजमुमोको झण्डा थापे। तामाङसँगै अन्य गोरामुमो समर्थकहरू पनि विनयपन्थी मोर्चामा सामेल भएको दाबी गरिएको छ।

तामाङ विनयपन्थी मोर्चामा सामेल भएपछि गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्यूयू र जोइन्ट फोरमको कार्यक्रममा भने झट्का लागेको छ। किनभने तीन-चारदिन अघिसम्म तामाङकै नेतृत्वमा जोइन्ट फोरमले श्रमिकहरूको विभिन्न मागमा डीटीए, पीएफ र एएलसी कार्यालयमा धरना-कार्यक्रम गरिरहेको थियो।

आज दल त्यागेर गोजमुमो दोस्रो खेमामा सामेल भएका जेबी तामाङ जोइन्ट फोरमका हिल्स सब-कमिटीका संयोजक पनि हुन्। एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष हुनअघि पछिल्लो गोर्खाल्यान्ड आन्दोलनअघिसम्म उनी हिल तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठनका नेता थिए। तामाङ कुनै समय मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) दार्जीलिङ जोनल कमिटीमा शीर्ष नेताको रूपमा चिनिन्थे। त्यसपछि २००७-पछि गोर्खाल्याण्डको मागमा विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको गठन भएपछि यो पार्टीमा पनि उनी केही वर्षसम्म संलग्न रहेको गोर्खाल्याण्डको आन्दोलनमा खटिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here