‘विन्द्या सुब्बा साहित्यिक विदुषीः अन्तरङ्ग बहिरङ्गहरूमा’-को लोकार्पण

0
1911

तीनधारे, १३ जुलाईः सोमबार तीनधारेमा २०६औं भानु जयन्तीको सुअवसरमा वरिष्ठ साहित्यकार विन्द्या सुब्बा अभिनन्दन ग्रन्थ ‘विन्द्या सुब्बा साहित्यिक विदुषीः अन्तरङ्ग बहिरङ्गहरूमा’-को लोकार्पण गरियो।

लोकार्पित अभिनन्दन ग्रन्थलाई कवि नगेन्द्र ‘गोर्खा’-ले सम्पादन गरेका छन्।

१३ जुलाई अर्थात् साहित्यकार विन्द्या सुब्बाको पनि जन्मदिन भएकाले यस अभिनन्दन ग्रन्थको लोकार्पण यसैदिन हुनु थप महत्त्वपूर्ण बनेको थियो।

भानु जयन्ती र अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रम साहित्य कला संस्थान तीनधारेको आयोजनमा स्थानीय महात्मा गान्धी हलमा सम्पन्न भएको थियो।

लोकार्पण कार्यक्रम शुरू हुनअघि स्थानीय चिल्ड्रेन पार्कमा रहेको भानुको सालिक श्रद्धार्पण गर्दै माल्यार्पण गरिएको थियो।

त्यसपछि मूल कार्यक्रम गान्धी हलमा सम्पन्न भएको थियो। अभिनन्दन ग्रन्थ कार्यक्रम अध्यक्ष हरिप्रसाद छेत्री, विन्द्या सुब्बा, सम्पादक नगेन्द्र गोर्खा, पूर्ण राई, मनोहर राई, संस्थानका अध्यक्ष रञ्जनकुमार रसाइली, संरक्षक पूर्ण मास्के, सचिव सन्तोष लामा आदिको बाहुलीबाट लोकार्पण गरिएको थियो।

यसअवसरमा साहित्यकार सुब्बाको जन्मदिन रहेकाले संस्थानले शल ओड़ाएर सम्मान जनाइयो।

कार्यक्रममा योगेश शर्मा, महेश छेत्री, सरोजिनी देवान, युवराज सुन्दास, अनिल ब्राह्मण र मन विश्वले कविता वाचन गरेका थिए। त्यसैगरी दीपशिखा लामा भानुमाथि लेख पठन गरिन्।

संस्थानका सल्लाहकार सुकुमार बराइलीद्वारा सञ्चालित कार्यक्रममा विन्द्या सुब्बा र नगेन्द्र सुब्बाले लोकार्पित ग्रन्थमाथि आ-आफ्नो मन्तव्य राखेका थिए।

स्मरणरहोस्, आफ्नो प्रखर लेखनले नेपाली साहित्यमा छुट्टै स्पेस बनाएकी विन्द्या सुब्बा तीनधारेकै गोलाइपाखामा जन्मी-हुर्की गरेकी हुन्।

यसैले पनि तीनधारेले एक छोरीलाई दिएको यो सम्मानले आफ्नो जीवनमा ठूलो अर्थ र महत्त्व राख्ने उनको भनाइ थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here