तृणमूलको कथित हत्याकारी राजनीतिविरुद्ध केन्द्रलाई गुहार्दै बङ्गाल भाजपा

0
1021

नयाँ दिल्ली, १४ जुलाईः उत्तर दिनाजपुर जिल्लाको हेमताबादका भाजपा विधायक देवेन्द्र नाथ रे-को रहस्यमय मृत्युलाई केन्द्र गरी आज भाजपाका बङ्गाल प्रभारी कैलाश विजयवर्गीयको नेतृत्वमा भाजपाको एउटा टोलीले राष्ट्रपति रामनाथ कोविन्द र गृहमन्त्री अमित शाहसँग भेट गऱ्यो।

टोलीमा सह-प्रभारी अरविन्द मेनन; पर्यावरण, वन एवं जलवायु परिवर्तन राज्यमन्त्री बाबुल सुप्रियो, राज्यसभा सांसद स्वपन दासगुप्त र राजु बिष्ट सामेल थिए।

भाजपाले तृणमूल कङ्ग्रेसका ‘गुण्डाहरू’ -ले भाजपा विधायक रे-को हत्या गरेको दावी गर्दै सीबीआई जाँचको माग गर्दै आइरहेको छ। आज यसै सन्दर्भमा भाजपाको यो शीर्ष टोलीले राष्ट्रपति र गृहमन्त्रीलाई भेट गरेको हो।

सांसद राजु बिष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएअनुसार टोलीले राष्ट्रपति र गृहमन्त्रीलाई बङ्गालमा लगातार भाजपा कार्यकर्ताहरू तृणमूल कङ्ग्रेसको राजनीतिक हिंसाको शिकार भइरहेको अवगत गरायो।

‘हामीले गृहमन्त्रीलाई पश्चिम बङ्गाल राज्यमा तृणमूल कङ्ग्रेसले कसरी विशेषगरी भाजपा नेताहरू र कार्यकर्ताहरूविरुद्ध हिंसा र हत्याको राजनीति गर्न जारी राखेको छ भनी अवगत गरायौं। हेमताबादका विधायक देवेन्द्रनाथ रे-लाई झुण्ड्याएर भयानक ढङ्गले गरिएको हत्याले तृणमूल कङ्ग्रेसद्वारा फिँज्याइएको जघन्य हत्याको सिलसिलामा एक अर्को कड़ी थपेको छ’, बिष्टले विज्ञप्तिमा थप भनेका छन्, ‘तृणमूल कङ्ग्रेसले यसैप्रकारले भाजपाका अन्य कार्यकर्ताहरू जस्तै  पुरुलियाका त्रिलोचन महतो र दुलाल कुमारको हत्या गरेको थियो। पश्चिम बङ्गाल पुलिसले ती हत्याहरूलाई आत्महत्याको नाम दिने प्रयास समेत गरेका थिए।’

उनका अनुसार टोलीले गृहमन्त्रीलाई हालैका वर्षहरूमा तृणमूल कङ्ग्रेसद्वारा १०५ भन्दा बढ़ी भाजपा कार्यकर्ताको हत्या गरिएको र राज्यमा आतङ्क राज फैलाइएकोबारे जानकारी गराएको थियो।

‘गृहमन्त्रीलाई प्रतिनिधिमण्डलले दार्जीलिङ र कालेबुङ जिल्लाका हजारौं युवाले कसरी २०१७ देखि लगातार उत्पीड़नको सामना गरिरहेका छन्, र आफ्नो घर फर्कन सकिरहेका छैनन् भन्नेबारे पनि स्मरण गरायो’, उनले थप जानकारी गराएका छन्, ‘हामीले अमित शाहलाई हाम्रो गठबन्धन पार्टी गोर्खा जनमुक्ति मोर्चाका वरिष्ठ नेताहरूविरुद्ध कसरी नयाँ झूटा मुद्दाहरू लगाइएको छ भन्ने जानकारी पनि दियौं। र, यस सम्बन्धमा गोर्खा जनमुक्ति मोर्चाद्वारा पठाइएको स्मरण-पत्र अमित शाहलाई बुझायौं।‘

गृहमन्त्रीसँगको भेटवार्तामा भाजपा टोलीले विधायक देवेन्द्र नाथ रे-को हत्या भएको दावी मामिलाको जाँच सीबीआईद्वारा गराउने अनुरोध गर्दै बङ्गाल पुलिसले यस तथा अन्य राजनीतिक हत्याहरूका स्वतन्त्र र निष्पक्ष जाँच गर्छ भन्ने भाजपालाई पटक्कै विश्वास नरहेको पनि स्पष्ट पारेको छ।

यसैगरी टोलीले बङ्गालमा हिंसा समाप्त गर्न तथा कानून र न्यायको शासन स्थापित गर्न यथोचित उपायहरू शुरू गर्नका लागि हस्तक्षेपको माग पनि गृहमन्त्रीसमक्ष गरेको विज्ञप्तिमा राजु बिष्टले जानकारी गराएका छन्।

गृहमन्त्रीलाई भेट्नअघि भाजपाको यस टोलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरी बङ्गालमा भइरहेको राजनीतिक हिंसा र विधायक देवेन्द्रनाथ रे-को ‘हत्या’ -बारे अवगत गराएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here