दार्जीलिङ, 14 अगस्तः कोरोना सङ्क्रमित भीम राईको रेपिड एन्टिजेन टेस्ट रिपोर्ट नेगिटिभ आएको छ।
दार्जीलिङ पुलिसले आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी गराएअनुसार राईको आज दार्जीलिङ जिल्ला अस्पतालमा रेपिड एन्टिजेन टेस्ट गरिएको थियो भने टेस्ट नेगिटिभ आएको छ।
उल्लेखनीय छ, रिम्बिक लोधोमा समष्टिअन्तर्गत छोटाहट्टानिवासी भीम राईको पछिल्लो 31 जुलाईका दिन कोरोना टेस्ट पोजिटिभ आएको थियो।
त्यसपछि उपचारका लागि त्रिवेणी अस्पताल लैजाने क्रममा पछिल्लो 2 अगस्तका दिन अपराह्न जोरबङ्ग्लो थानाअन्तर्गत तीनमाइल गड्डीलाइनबाट शौचको बहाना बनाएर यी कोरोना सङ्क्रमित भीम राई भागेका थिए भने करिब 12 दिनपछि तीन माइलका युवकहरू, पुलिस प्रशासन, वनविभागका कर्मीहरूको कठोर मिहिनेतपछि रागेरूङ मुन्तिर रूङदुङ खोलाको जङ्गलबाट हिजो उनलाई पक्राउ गरिएको थियो।
पक्राउ गरिएपछि उनलाई दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ भने आज उनको रेपिड एन्टिजेन टेस्ट गरिएको हो। जानकारीका अनुसार अहिले दार्जीलिङ जिल्ला अस्पतालमै उपचाराधीन छन्।
आज रेपिड एन्टिजेन टेस्ट नेगिटिभ आएपछि भीम राईले भागेरै कोरोना भाइरसको सङ्क्रमणलाई जितेको स्पष्ट भएको छ।