पर्जापट्टा नभएका कारण क्षतिपूर्तिबिनै जनतालाई बेदखल गर्ने प्रशासनले प्रयास गर्दैछ

0
938

राजु बिष्ट

पुस्तौंदेखि बसिआए तापनि आफ्नो जमिनको पर्जापट्टा नपाउनु हाम्रो क्षेत्रको जनताले भोग्नु परेका पुराना समस्याहरूमध्ये एक हो। पर्जा पट्टा नहुनाले दार्जीलिङ पहाड़, तराई र डुवर्सका जनता भारत सरकार साथै पश्चिम बङ्गाल सरकारद्वारा प्रदान गरिने अनेकौं सुविधाहरू र योजनाहरूको लाभ उठाउनबाट वञ्चित भइरहेका छन्। यसले गर्दा हाम्रो क्षेत्रका जनता कुनै पनि बेला आफ्नै ठाउँबाट विस्थापित हुने जोखिममा छन्।  जस्तो कि, प्रस्तावित सेवक-रम्फू रेल लाइन निर्माणका लागि त्यहाँ पुस्तौंदेखि बसोबास गर्दै आइरहेका मानिसहरूलाई पर्जापट्टा नभएका कारण प्रशासनद्वारा कुनै क्षतिपूर्ति बिना उनीहरूलाई बेदखल गर्ने प्रयास भइरहेको छ। यस्तै स्थिति टिस्टा बाँध निर्माणको बेलामा पनि त्यहाँका मानिसहरूले भोग्नु परेको थियो।

मेरो चुनाउ प्रचार अभियानको बेलामा, हाम्रा जनता पर्जापट्टाको अभावमा कति जोखिमपूर्ण अवस्थामा छन् भन्ने जानकारी मलाई भयो, अनि म निर्वाचित भएको पहिलो दिनदेखि नै, यस विषयलाई लिएर विभिन्न केन्द्रिय मन्त्रालयहरूसँग अनुगमन गर्दै आएको छु र हाम्रा जनताका समस्याहरूलाई सरकारको उच्चतम स्तरमा उठाउँदै आइरहेको छु।

मैले 18 जुलाई 2019 मा, दार्जीलिङ पहाड़, तराई र डुवर्स क्षेत्रका जनताका लागि पर्जापट्टाको मामिला 17औं लोकसभाको प्रथम सत्रको शून्यकालमा उठाएको थिएँ। मेरो सम्बोधनमा मैले आजसम्म पश्चिम बङ्गाल सरकारद्वारा पर्जापट्टा नदिइएको राजवंशी, आदिवासी, गोर्खा, राभा, मेचे,  टोटो आदि समुदायहरूले भोग्नु परेको भेदभावबारे प्रकाश पारेको थिएँ। मैले संसदलाई के जानकारी पनि दिएको थिएँ भने दार्जीलिङ र कालेबुङ जिल्लाहरू भारतका यस्तो एकमात्र जिल्लाहरू हुन्, जहाँ स्थानीय जनतालाई भूमि अधिकार र पर्जापट्टा नदिन 1838-मा लागू गरिएको ब्रिटिश कर प्रणालीअन्तर्गत्  डी.आई. फण्ड (DI Fund) व्यवस्था अहिलेसम्म अस्तित्वमा छ। मैले संसदलाई चियाबगान र सिन्कोना बगानमा बसोबास गर्ने जनतालाई पुस्तौंदेखि कुनै भूमिअधिकार वा पर्जापट्टा दिइएको छैन भनी पनि जानकारी दिएको थिएँ। वनवासीहरूलाई विशेष रूपले भूमि अधिकार प्रदान गर्ने वन अधिकार कानून-(एफआरए 2006) समेत दार्जीलिङ र कालेबुङ जिल्लाहरूमा लागू गरिएको छैन, जसले हाम्रा जनता झनै मर्कामा परेका छन्। 

तसर्थ मैले, केन्द्र सरकारसँग हाम्रो क्षेत्रको जनताको पक्षमा तुरुन्तै हस्तक्षेप गर्ने अनुरोध गरेको थिएँ।

आज, मलाई केन्द्रिय ग्रामीण विकास मन्त्रालय, भूमि संसाधन विभागबाट जवाफ प्राप्त भएको छ, जसमा उनीहरूले पश्चिम बङ्गाल सरकारलाई संसदमा मैले उठाएको मामिलाको आधारमा “यथोचित कारबाही” गर्न भनेका छन्।

म एकपटक फेरि पश्चिम बङ्गालकी माननीय मुख्यमन्त्री ममता ब्यानर्जीलाई यस मामिलाको तुरुन्तै संज्ञान लिने अनि पुस्तौंदेखि बसोबास गर्दै आएका हाम्रा जनतालाई भूमि अधिकार प्रदान गर्ने दिशामा चाँड़ोभन्दा चाँड़ो ठोस पाइलाहरू सार्ने अपील गर्दछु।

म, टीएमसीलगायत अन्य सबै राजनीतिक पार्टी तथा उनीहरूका क्षेत्रीय गठबन्धन दलहरूलाई यस मामिला राज्य सरकारसमक्ष उठाउने  र हाम्रो क्षेत्रका जनता वैधानिक भूमि अधिकारहरूबाट वञ्चित नहोऊन् भनी सुनिश्चित गर्ने अनुरोध गर्दछु।

पर्जापट्टा मामिलाको समाधान हाम्रो क्षेत्र र जनताद्वारा भोग्न परेका राजनीतिक र सामाजिक समस्याहरूको सम्बोधनका लागि अत्यन्तै आवश्यक हो, र हाम्रो क्षेत्रका जनतालाई पर्जा पट्टा प्रदान गर्नु ऐतिहासिक भूलहरूलाई सच्च्याउने शुरुआत  हुनसक्छ। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here