चम्पासरी-मिलन मोड सड़कमा बिरुवा रोपेर विरोध प्रदर्शन

0
1135

सिलगढ़ी, 14 सेप्टेम्बर : सड़कमा बनेका ठूल्ठूला खाड़लहरूको मरम्मतीमा प्रशासनले कुनै ध्यान नदिएपछि  शनिवार आक्रोशित बनेका मानिसहरूले सड़कबीचका ती खाड़लहरूमा बिरुवा रोपेर विरोध प्रदर्शन गरे।

यसका साथै उनीहरूले बीच सड़कमा टायर जलाएर पथावरोध गरेका थिए। जसको फलस्वरूप घण्टौंसम्म यातायात ठप्प बनेको थियो। यो घटना चम्पासरी-मिलन मोड सड़कको हो। पछिल्ला केही महिनायता सड़कमा ठूल्ठूला खाड़लहरू बनेको कारण यातायातमा बिघ्नै समय सिर्जना भए तापनि प्रशासनले आँखा चिम्लेर बसेको उनीहरूको आरोप छ।

आज विरोध प्रदर्शनमा उत्रेका मानिसहरूका अनुसार चम्पासरी-मिलन मोड सड़कमा ठूल्ठूला खाड़ल बनेको धेरै समय भइसक्दा पनि सड़क मरम्मतीका लागि प्रशासनले कुनै पहल गरेको छैन।  प्रशासनले आँखा चिम्लेर बसेपछि नै आफूहरूले आज सड़कमा बिरुवा रोप्नका साथै प्रतिवाद स्वरूप टायर जलाएर पथावरोध गरेको प्रदर्शनहरूले बताए।

“सड़ककै दुरवस्थाको कारण सड़क दुर्घटनाको जोखिम बढ़ेको छ। केही किलोमिटर यात्रा गर्नका लागि हामीहरूले धेरै दुःख भोगिरहेका छौं”, प्रदर्शनकारीहरूले थपे, “तर, प्रशासनले अहिलेसम्म सड़क मरम्मतीका लागि कुनै पहल गरेको छैन। यो सड़क व्यस्त रहने सड़कमध्ये एक हो। सड़कबीच ठाउँ ठाउँमा रहेका खाड़लहरूकै कारण कुनै दिन ठूलो दुर्घटना हुने आशङ्का पनि छ।”

स्थानीय निवासी राजु शाहका अनुसार न  भाजपा न त तृणमूल कङ्ग्रेस नै जनताका समस्याहरू समाधान गर्नका लागि इमानदार छ। सड़ककै दुरवस्थाको कारण  धेरैपटक दुर्घटना भइसकेको उनको भनाइ छ।

“पछिल्लो लोकसभा चुनाउअघि राजु विष्ट र राज्यका मन्त्री गौतम देव यो क्षेत्रमा भोट माग्न आएका थिए। चुनाउ सकियो तर सड़कको अहिलेसम्म मरम्मती भएको छैन”, उनले भने।

सड़कको मरम्मतीका लागि सम्बन्धित विभागलाई पटक पटक अर्जी चढ़ाउँदा पनि लामो समयदेखि मरम्मती हुननसकेको प्रदर्शनकारीहरूको भनाइ छ। सड़कको दुरवस्थाबाट सबैभन्दा बढ़ी स्थानीय विद्यार्थीहरू पिरोलिरहेका छन्। यदि अविलम्ब  सड़कको मरम्मती नगरिए बृहत् आन्दोलन गर्ने उनीहरूले चेताउनी दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here