डीएचआरको विकास र संरक्षणमा भारतीय रेलवे र युनेस्कोले मिलेर कार्य गर्ने

0
1472
पत्रकारहरूलाई सम्बोधन एनएफ रेलवे महाप्रबन्धक र डीआरएम कटिहार।

दार्जीलिङ, 14 सेप्टेम्बर : समुचित संरक्षण र विकासको अभावले सङ्कटकालीन अवस्था भोगिरहेको दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-को कायाकल्पका लागि भारतीय रेलवे र युनेस्को मिलेर कार्य गर्ने निर्णय गरेका छन्। यसै विषय मिलेर युनेस्काका प्रतिनिधि र भारतीय रेलवेका अधिकारीहरूबीच बैठक सम्पन्न भएको छ।

हिजो र आज गरी दुई दिन बसिएको उक्त बैठकमा विश्व धरोहरको मान्यताप्राप्त दार्जीलिङ हिमालयन रेलवेको संरक्षण र विकासका लागि सहकार्य गर्ने निर्णय गरिएको हो। यसका साथै डीएचआरको विकासमा राज्य सरकार, वन विभाग, क्षेत्रीय प्रशासन जीटीए र नगरपालिकाले आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्ने कुरामा जोड़ दिइएको छ।

युनेस्को र भारतीय रेलवेले मिलेर दार्जीलिङ हिमालयन रेलवेको विकासका लागि व्यापक संरक्षण प्रबन्धन योजना तयार पारेका छन्। जसअन्तर्गत यसको संरचना, सम्पत्ति, सीमा र महत्त्वको विकास, संरक्षण र सुन्दरीकरण आदि सामेल छन्। बैठकमा युनेस्को र रेलवेका अधिकारीलगायत हितधारकहरूको पनि उपस्थिति थियो।

“दार्जीलिङ हिमालयन रेलवे देशकै एक गौरव हो”, एनएफ रेलवेका महाप्रबन्धक सञ्जीव रायले थपे, “हामी यसको विश्व धरोहरको मान्यतालाई बचाइराख्न चाहन्छौं। त्यसैले पनि डीएचआरको विकास र संरक्षणका लागि योजना बनाइरहेको युनेस्कोसँग हामीले बैठक गरेका हौं।”

रायका अनुसार भारतमा विश्व धरोहरको मान्यता पाएका तीनवटा रेलवे छन्, जसमध्ये डीएचआर सबैभन्दा महत्त्वपूर्ण रेलवे हो। उनले डीएचआरको विकास, संरक्षण र रखरखावका लागि राज्य सरकार, वन विभाग जीटीए नगरपालिकासँग सँगै अन्य हितधारकहरूको जिम्मेवारी पनि उत्तिकै रहेको बताए।

अर्कोतिर, बैठकमा ‘बफर जोन’-को मुद्दा पनि उठेको थियो।  डीएचआरको रेलवे ट्र्याक, यसको जमिन, सम्पत्ति र सीमाको रखरखाउ र संरक्षणलाई लिएर बैठकमा धेर चर्चा गरिएको बताइएको छ।

जानकारीका अनुसार दार्जीलिङको हिमालयन रेलवेको सुन्दरतालाई बचाइराख्नका लागि ‘बफर जोन’ निर्माण गर्ने पहल भइरहेको छ। यसअन्तर्गत् सड़क किनारमा लगाइएका ठूल्ठूला होर्डिङलाई हटाउनका साथै टोय ट्रेनमा चढ़ेर यात्रा गर्ने पर्यटकहरूका लागि पहाड़को प्राकृतिक सौन्दर्य अवलोकन सुनिश्चित बनाउनु हो।

एक प्रश्नको उत्तरमा महाप्रबन्धक सञ्जीव रायले युनेस्कोले डीएचआरलाई दिएको विश्व धरोहरको मान्यतालाई फिर्ता लिनबारे सोचिरहेको छ भन्ने खबरलाई निराधार बताउनका साथै डीएचआरको रेलवे ट्र्याकको सरसफाइलाई लिएर उल्टै युनेस्कोले प्रशंसा गरेको दाबी गरेका छन्। यसका साथै उनले टोय ट्रेनको जोय राइडसँगै  जलपाइगढ़ीदेखि दार्जीलिङसम्मको रेलवे सेवामा प्रतिवर्ष रेल यात्रीको सङ्ख्या बढ़ेको बताएका छन्।

यसैगरी कटिहार डिभिजनल रेलवे म्यानेजर रवीन्द्र कुमार बर्माले यसै महिनाको अन्त्यसम्म सोनादा र घैयाबारी रेलवे स्टेशन   सञ्चालनमा आउने बताए। उनका अनुसार अन्य रेलवे स्टेशनहरूको  रखरखाव र सरसफाइका कार्य भइरहेको छ। बर्माका अनुसार यी रेलवे स्टेशनहरू विश्व धरोहरकै भाग रहेको पहिलाकै संरचनालाई यथावत राख्न पर्नेछ।

उल्लेखनीय छ, दार्जीलिङ हिमालयन रेलवे कटिहार डिभिजनअन्तर्गत नै पर्छ।  डीआरएम बर्माले पनि डीएचआरको विकास, रखरखाव र संरक्षणका लागि भारतीय रेलवेले युनेस्कोसँग मिलेर कार्य गरिरहेको बताए।

अर्कोतिर, युनेस्कोको संस्कृति विभाग एवं कार्यक्रमका  विशेषज्ञ जुही हानले बैठक फलदायी रहेको बताइन्। उनका अनुसार डीएचआरको विकास र संक्षणका लागि सबैभन्दा पहिला यसको सीमा सुनिश्चित गरिनुपर्ने  कुरामा जोड़ दिँदै यसका लागि  भारतीय रेलवे सहमत भएको बताइन्। उनका अनुसार डीएचआरको सीमालाई लिएर रेलवेले अन्य मन्त्रालयसँग कार्य गर्न सहमत भएको छ।

बङ्गाल सरकार र राष्ट्रिय राजमार्ग मन्त्रालयसँग पनि डीएचआरको सीमा निर्धारणका लागि चर्चा-परिचर्चा गर्ने बताइएको छ। हानका अनुसार यसका लागि चरणबद्ध रूपमा कार्य गरिनेछ। उल्लेखनीय क्षेत्र डीएचआरको ट्र्याक र अन्य जमिनमा अतिक्रमणको आरोप पुरानो हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here