कुपन प्रणाली यथावत, टाइगर हिल जाने वाहन सङ्ख्यामा वृद्धि

0
1076
टाइगर हिल।

दार्जीलिङ, 14 सेप्टेम्बर : पर्यटक बोकेर टाइगर हिल जाने वाहनहरूका लागि अनिवार्य गरिएको कुपन प्रणालीलाई फिर्ता लिने माग गर्दै पर्यटन हितधारकहरूले दार्जीलिङ पुलिस-प्रशासनलाई दिएको दुईदिने अल्टिमेटमलाई फिर्ता लिएको छ।

शनिवार स्थानीय डालीमा पुलिससँग बसेको बैठकपछि पर्यटन हितधारकहरूले   अल्टिमेटमलाई फिर्ता लिएका हुन्। बैठकमा लिइएको निर्णयका अनुसार कुपन प्रणाली यथावत रहनेछ। तर, प्रतिदिन टाइगर हिल जाने वाहनहरूको सङ्ख्या बढ़ाएर  300 देखि 600 बनाइएको छ।

उल्लेखनीय छ, पर्यटनको मौसममा शहरलाई जाममुक्त राख्न र यातायात सुचारु बनाउनका लागि दार्जीलिङ पुलिसले पछिल्लो 1 सेप्टेम्बरदेखि नयाँ ट्राफिक नियम लागू गरेको थियो।

उक्त नयाँ नियम लागू गर्नअघि दार्जीलिङ पुलिसले चौरस्तामा आम जनता र पर्यटन हितधारकहरूलाई लिएर एक अन्तर्क्रिया सभा आयोजन गरेको थियो। दार्जीलिङ पुलिसले लागू गरेको नयाँ नियमअन्तर्गत् ठूला मालवाहक वाहनहरूलाई दिउँसोको समय बजार प्रवेश गर्न निषेध गरिका साथै टाइगर हिल जाने वाहनहरूको सङ्ख्या घटाएर 300 गरिएको थियो।

यसका साथै टाइगर हिल जाने वाहनहरूले अनिवार्य रूपमा कुपन लिनुपर्ने नियम बनाइएको थियो। कुपन प्रणालीलाई अनिवार्य बनाइएपछि  पर्यटन हितधारकहरूले यसको विरोध गर्दै आइरहेका थिए भने पछिल्लोपटक बसेको बैठकमा पुलिस प्रशासनलाई कुपन प्रणालीलाई अविलम्ब फिर्ता लिनुपर्ने बताउँदै यसका लागि दुई दिनको अल्टिमेटम दिनका साथै  यथाशीघ्र नयाँ नियमबारे समीक्षा बैठक डाक्नुपर्ने माग गरेका थिए।

बैठकबारे बोल्दै अतिरिक्त पुलिस अधीक्षक हरिकृष्ण पाईले भने, “आज हामीले दोस्रो समीक्षा बैठक बस्यौं। हामीले उनीहरूद्वारा प्रस्तावित दुईवटा परिवर्तनलाई स्वीकारेका छौं। ती दुईवटा परिवर्तनमध्ये पहिलो टाइगर हिल जाने वाहनहरूको सङ्ख्या बढ़ाएर  300 देखि 600 बनाएका छौं। दोस्रो बतासे लुपमा प्रवेश समय बिहानको 5 बजे गरेका छौं।”

उनले टाइगर हिलमा पार्किङ सुविधालाई फराकिलो बनाउने कार्य भइरहेको बताएका छन्। यदि यसो भएको खण्डमा थप सङ्ख्याका वाहनहरू त्यहाँ पार्किङ गर्न सकिने उनको भनाइ छ। उनका अनुसार कुपन प्रणालीलाई फिर्ता भने लिइनेछैन। पुलिसले कुपन प्रणालीले स्थानीय पर्यटन हितधारकहरूलाई फाइदा पुग्ने दाबी गर्दै आएको छ।

अर्कोतिर, हिमालयन ट्रान्सपोर्ट कोअर्डिनेशन कमिटीका अध्यक्ष एसएन प्रधानले ‘अण्डर प्रोटेस्ट’ कुपन प्रणाली स्वीकार गरेको बताएका छन्।

उनले पुलिसद्वारा राखिएका केही तर्क  आफूहरूलाई न्यायोचित लागेको पनि बताए। “टाइगर हिलमा पार्किङको स्थलको कार्य पूरा भएलगत्तै कुपन प्रणालीलाई फिर्ता लिने हामीलाई आश्वासन दिएको छ”, उनले भने।

पार्किङ स्थल पूरा भएपछि त्यहाँ करिब एक हजार वाहन अँटाउन सकिनेछ। यसैबीच कुपन प्रणालीको कारण स्थानीय पर्यटन हितधारकहरूले सहिरहेको समस्यालाई उनले पुनः एकचोटि उठाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here