दार्जीलिङ, 14 सेप्टेम्बरः दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले आजदेखि रिले अनशन शुरू गरेका छन्।
यसैगरी आउँदो 28 सेप्टेम्बरसम्म पनि आफूहरूको माग पूर्ण नभए 29 सेप्टेम्बरदेखि आम हड़ताल गर्ने पनि यी कर्मचारीहरूले चेताउनी दिएका छन्। जसअनुसार, 29 सेप्टेम्बरदेखि दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले न नगरपालिका क्षेत्रको सफा गर्नेछन्, न त मैला नै उठाउनेछन्। न पानी सर्वराह गर्नेछन्, न स्ट्रीट लाइट नै जलाउनेछन्।
यस्ता चेताउनीहरू दिँदै आजदेखि नगरपालिकाका 5 जना कर्मचारीले 24 घण्टे रिले अनशन शुरू गरेका छन्।
दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूका विविध समस्या समाधानबारे भइरहेको धरना, पेनडाउन हड़तालले पनि केही नभएपछि नै आजदेखि यहाँका कर्मचारीहरूले 24 घण्टे रिले अनशन शुरू गरेका हुन्।
यसबारे प्रश्न गर्दा दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनका सहसचिव प्रणय शर्माले भने, “दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले 7 सूत्री माग लिएर नै विगत केही सप्ताहदेखि आन्दोलन गरिरहेको छ। दार्जीलिङ नगरपालिकामा 200 भन्दा अधिक रिक्त पद छन्, जसमा नगरपालिकामा नै कार्यरत् अस्थायी कर्मचारीहरूलाई नियुक्त गर्नुपर्छ। 116 जना कर्मचारीले नगरपालिकामा नियुक्ति पाए पनि उनीहरूले हालसम्म सरकारी अनुमोदन पाउन सकेका छैनन्, जसका कारण भविष्यमा उनीहरूलाई धेरै असुविधा हुनसक्छ।’’
यसैले उनीहरूलाई सरकारी अनुमोदन प्रदान गर्नुपर्ने सङ्गठनको दोस्रो माग रहेको उनले बताए।
यति मात्रै होइन, सङ्गठनले सर्भिस बुक अनलाइन गर्नुपर्ने, मृतक कर्मचारीहरूका उत्तराधिकारीहरूलाई नोकरी दिनुनपर्ने जस्ता मागहरू गरिरहेको छ। तर यस दिशामा नगरपालिका प्रशासनले कुनै ध्यान नै दिएको छैन।
यसैकारण नै आजदेखि यहाँका कर्मचारीहरू रिले अनशनमा बस्न बाध्य बनेका हुन्।
उनले भने, “दशैं आउन अब बेसी समय छैन, दशैंको समय पानी, बत्ती तथा स्ट्रीट लाइट आदि जस्ता आवश्यक सेवाहरू ठप्प नबनोस् भन्ने हामी चाहन्छौं। नगरपालिकाका कर्मचारीहरूको समस्या समाधानका लागि भइरहेको आन्दोलनले आम जनता पीड़ित बन्न नपरोस् भन्ने पनि हामी चाहन्छौं। यसैले सरकार तथा जिल्ला प्रशासनले पनि नगरपालिकाका कर्मचारीहरूको समस्या समाधानको लागि शीघ्र ठोस पहल गर्नुपर्छ।’’
उनले आजदेखि शुरू गरिएको रिले अनशनमा सामाजिक दूरीको नियमलाई पूर्ण रूपले पालन गरिएको पनि बताए।