मिरिक, १४ सेप्टेम्बरः मिरिकका केही गोरामुमो कार्यकर्ताले आज पार्टीबाट राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा गोरामुमो मिडिया सेलमा लामो समय कार्य गरेका अरविन्द सुब्बा, गोरामुमो मिरिक टाउन कमिटीका सहसचिव विमल लिम्बूलगायत अन्य रहेका छन्।
विमल लिम्बू जीएनएसएफका संयोजक एवं मिरिक ब्राञ्च कमिटीका सदस्य पदमा पनि थिए।
“हामीले शुरूदेखि नै अजय एड्वर्डका साथमा रहेर कार्य गरिरहेका थियौँ। अजय एड्वर्डले नै गोरामुमो पार्टीबाट राजीनामा दिएपछि आज हामीले पनि राजीनामा दिएका हौँ”, अरविन्द सुब्बाले राजीनामाका कारण खुलाए, “गोरामुमो अध्यक्ष मन घिसिङका कतिपय कार्यदेखि हामी असन्तुष्ट थियौँ। अब हाम्रो पनि गोरामुमोसित सम्बन्ध रहनेछैन।”
अब अजय एड्वर्डको नेतृत्वमा आफूहरू अघि बढ़्ने बताउँदै उनले अबउसो युवाहरूलाई सङ्गठित बनाएर दलगत रूपमा अघि बढ्ने जनाए।
“हामी युवा र समाजको हितमा कार्य गर्नेछौँ”, उनले थपे।
यसैगरी अजय एड्वर्डलाई मिरिक निम्ताएर साङ्गठनिक कार्यक्रम गर्ने योजना पनि तयार पारेको पनि अरविन्द सुब्बाले थप जनाए।