दूध उत्पादकहरूले अब प्रतिलिटर आठ रुपियाँ प्रोत्साहन राशि पाउने

0
1019

गान्तोक, 14 अक्टोबरः सिक्किमका दूध उत्पादकहरूलाई प्रोत्साहन गर्न मुख्यमन्त्री पीएस गोलेले बुधवार ‘हाम्रो क्रान्ति दुग्ध क्रान्ति’ नामक अभियानको थालनी गरे।

यस अभियानअन्तर्गत राज्य सरकारले दूध उत्पादकहरूलाई प्रतिलिटर आठ रुपियाँको दरले प्रोत्साहन राशि प्रदान गर्नेछ।

सिक्किम सहकारी दुग्ध उत्पादक सङ्घले राज्यको पशुपालन तथा पशु चिकित्सा सेवा विभागको सहयोगमा अघि बढ़ाउने यस अभियानको उद्घाटन कार्यक्रम चिन्तन भवनमा आयोजन गरिएको थियो।

यस किसानमुखी कार्यक्रमलाई ऐतिहासिक बताउँदै मुख्यमन्त्रीले आत्मनिर्भर भारतअन्तर्गत् यो नवीन कार्यक्रमको थालनी गरिएको बताए।

प्रतिलिटर दूधमा आठ रुपियाँका दरले प्रोत्साहनराशि प्रदान गरिने र यसबाट राज्यका 12 हजार दूध उत्पादन गरिरहेका कृषक लाभान्वित हुने गोलेले जानकारी दिए। यो प्रोत्साहनराशि सरकारले सीधै किसानलाई दिनेछ भने यसमा बिचौलिया र जीएसटी सामेल हुनेछैन।

यो प्रोत्साहन कोभिड महामारीका समयमा पौष्टिक दूध उत्पादन गरेर राज्यलाई दिने किसानहरूका लागि कृतज्ञता स्वरूप प्रदान गरिएको पनि मुख्यमन्त्रीले जानकारी दिए।

यस अवसरमा मुख्यमन्त्रीले केही किसानलाई यस योजनाअन्तर्गत किसानलाई दिइने धनराशिको चेक पनि हस्तान्तरण गरे।

दूध सङ्कलनका लागि प्रत्येक जिल्लामा प्रतिवर्ष दुइवटा दूध सङ्कलन केन्द्र सरकारले स्थापना गर्ने पनि मुख्यमन्त्री पीएस गोलेले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here