रणजी ट्रफीमा सिक्किमको लगातार दोस्रो जीत

0
1076
सिक्किमको रणजी टीम।

गान्तोक, 14 नोभेम्बर : यसै सत्रदेखि रणजी ट्रफीको प्लेट ग्रुपमा खेल्ने मौका पाएको सिक्किमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अहिलेसम्म खेलिएका दुवै खेल जितेको सिक्किम अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ।

पछिल्लो खेलमा मणिपुरविरुद्ध एक पारी र 27 रनको ऐतिहासिक जीत दर्ता गर्ने सिक्किमले दोस्रो खेलमा नागाल्याण्डलाई 9 विकेटले पराजित गरेको छ। डिमापुरमा खेलिएको यो खेलमा सिक्किमले टस जितेर नागाल्याण्डलाई पहिला ब्याटिङ गर्ने निम्तो दियो। सिक्किमको कसिलो बलिङअघि असहाय देखिएको नागाल्याण्डले पहिलो पारीमा सबै विकेट गुमाएर केवल 179 रन जोड़ेको थियो।
नागाल्याण्डका लागि कप्तान रोङ्सेन जोनाथनले सर्वाधिक 86 रन बनाए। उनीबाहेक तमिद अहमदले 33 र रूचित भाटियाले 22 रन बनाए। यी तीन ब्याट्सम्यानलाई छाड़ेर  नागाल्याण्डका अन्य कुनै पनि ब्याट्सम्यानले धेरै रन बटुल्न नसकेकोले पनि झिनो रन सङ्ख्यामा समेटिएको हो।
सिक्किमका बलरहरूले कतिसम्म कसिलो बलिङ गरेका थिए भने नागाल्याण्डका सातजना ब्याट्सम्यान दोहोरो अङ्कसम्म पनि पुग्न सकेनन्। सिक्किमका लागि ईश्वर चौधरीले चार, विपुल शर्माले तीन, मिलिन्द कुमारले दुई र ली योङ लेप्चाले एक विकेट लिए।
नागाल्याण्डले पहिलो पारीमा बनाएको 179 रनको जवाफमा सिक्किमले स्टार ब्याट्सम्यान मिलिन्द कुमारको दोहोरो शतकको सहयोगमा सबै विकेट गुमाएर 374 रन सङ्ग्रह गरी 195 रनको महत्त्वपूर्ण अग्रता हासिल गरेको थियो। मिलिन्दबाहेक विपुल शर्माले पनि उपयोगी 90 रन बनाए। यद्यपि यी दुईलाई छाड़ेर पहिलो पारीमा सिक्किमका अन्य ब्याट्सम्यानहरूले धेरै रन बनाउन सकेनन्।
प्रारम्भिक ब्याट्सम्यान फैजान खान (0), कप्तान निलेश लामिछाने (11), पाल्जर तामाङ (0), क्षितिज तामाङ (11) आशिष थापा (17), ली योङ लेप्चा (7), पदम लिम्बू (4) र ईश्वर चौधरी (2) सस्तोमै आउट भए। नागाल्याण्डका लागि पवन सुयलले सात, तमिद अहमदले दुई र इमलिवती लेम्टुरले एक विकेट लिए।
पहिलो पारीमा 195 रनको फराकिलो अन्तरले पछाड़िएको नागाल्याण्डले दोस्रो पारीमा सुध्रिएको प्रदर्शन गरे तापनि पराजयलाई टार्न सकेन। दोस्रो पारीमा नागाल्याण्डले विकेटकिपर ब्याट्सम्यान केबी बसनले बनाएको उत्कृष्ट 134 र इमलिवती लेम्टुरको उपयोगी 61 रनको सहयोगमा सबै विकेट गुमाएर273 रन सङ्ग्रह गरी सिक्किमलाई 79 रनको सानो विजयी लक्ष्य दिएको थियो, जुन विजयी लक्ष्य सिक्किमले 25.4 ओभरमा फैजान खान (27) –को विकेट गुमाएर प्राप्त गर्यो। कप्तान निलेश लामिछाने (33) र आशिष थापा(20) आफ्नो टीमलाई उत्कृष्ट जीत दिलाएर अविजित फर्के। नागाल्याण्डका लागि एकमात्र विकेट पवन सुयलले लिए।
मणिपुरविरुद्ध खेलिएको पहिलो खेलमा झैं यो खेलमा पनि सिक्किमले ब्याटिङबलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो। पहिलो पारीमा चार विकेट लिने सिक्किमका  ईश्वर चौधरीले नागाल्याण्डको दोस्रो पारीमा पनि पाँच विकेटसहित खेलमा कुल9 विकेट लिए। त्यस्तै पहिलो पारीमा तीन विकेट लिने विपुल शर्माले नागाल्याण्डको दोस्रो पारीमा पनि तीनवटै विकेटसहित खेलमा कुल 6 विकेट लिए।
12 देखि 14 नोभेम्बरसम्म डिमापुरमा खेलिएको यो दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्ने सिक्किमका ब्याट्सम्यान मिलिन्द कुमार प्लेयर अफ् द म्याच चयन भए। लगातार दोस्रो खेलमा दोहोरो शतक बनाउने मिलिन्दले 224 रन बनाउन केवल 215 बल खर्चेका थिए। यसअवधि उनले 31 चौका र तीनवटा छक्का हुर्याएका थिए।
उल्लेखनीय छ, उनले पहिलो खेलमा पनि मणिपुरविरुद्ध 261 रनको उत्कृष्ट पारी खेलेका थिए। यो उत्कृष्ट ब्याटिङका लागि मिलिन्दलाई उक्त खेलमा पनि प्लेयर अव् द म्याच छनौट गरिएको थियो।
दुई खेलमा 13 अङ्कसहित शीर्ष स्थानमा रहेको सिक्किमले अब तेस्रो खेल उत्तराखण्डविरुद्ध खेल्नेछ। उत्तराखण्डको पनि 13 अङ्क नै छ, तर नेट रन रेटको आधारमा सिक्किम उत्तराखण्डभन्दा माथि छ। उत्तराखण्डसँग हुने खेलआगामी 20 नोभेम्बरदेखि ओडिसाको भुवनेश्वरमा खेलिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here