गोरामुमोले भन्यो- जीटीए हटाऊ, पहाड बचाऊ

0
857

दार्जिलिङ, १४ दिसम्बरः शुरूदेखि नै जीटीएलाई असंवैधानिक बताउँदै आएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले यसविरुद्ध सडकमै ओर्लेर पोस्टरिङ शुरू गरेको छ।

‘जीटीए हटाऊ, पहाड़ बचाऊ’ पोस्टरमा भनिएको छ, ‘जीटीए गो ब्याक।’

पोस्टर पहाड़का विभिन्न स्थानमा टाँसिएको छ। यति मात्र होइन, गोरामुमोले स्थायी राजनीतिक समाधान पनि चाहेको छ।

रोहिणीको टोल प्लाजानजिक जीटीएविरुद्ध र स्थायी राजनीतिक समाधानको पक्षमा भित्ता लेखनपछि बोल्दै गोरामुमो नेतृ मञ्जिला तामाङले आफ्नो पार्टी जीटीएविरुद्ध तथा स्थायी राजनीतिक समाधानको पक्षमा रहेकाले पोस्टरिङ शुरू गरेको जानकारी गराइन्।

तामाङले गोरामुमोले स्थायी राजनीतिक समाधानमार्फत् पहाड़का लागि राम्रो कुरा सोचेको पनि बताइन्। तर, त्यो सोचेको राम्रो कुरा के हो, त्यो भने खुलाइनन्।

स्मरणरहोस्, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा शुरूदेखि नै जीटीएको विरोधमा छ। यसले जीटीएविरुद्ध न्यायालयमा अघिबाटै मुद्दा पनि हालेको छ।

अहिलेघरी पहाडमा जीटीए चुनाउको कुरा चलिरहेको बेला फेरि गोरामुमो यसविरुद्ध सडकमा ओर्लेको हो।

जीटीए असंवैधानिक व्यवस्था भएकाले यसले पहाडका जनताको जन आकाङ्क्षा पूरा नगर्ने बताउँदै पहाड़का लागि स्थायी राजनीतिक समाधानमार्फत् जीटीएभन्दा माथिको संवैधानिक व्यवस्था गठन गरिनुपर्ने गोरामुमोको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here