विनय-अनितकै नेतृत्वमा पहाड़को हित छः एनपीसी

0
1325
पत्रकारहरूलाई सम्बोधन गर्दै एनसीपी नेता फैजल अहमद।

दार्जीलिङ, १५ जनवरीः राष्ट्रवादी कङ्ग्रेस पार्टी (एनसीपी)-ले आउँदो १९ जनवरीका दिन सिलगढ़ीमा पार्टी कार्यकर्ता सम्मेलनको आयोजना गर्ने तय गरेको छ, जसमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका पार्टी कार्यकर्ताहरूका उपस्थिति रहने एनसीपी दार्जीलिङ जिल्ला कमिटी अध्यक्ष फैजल अहमदले जानकारी गराएका छन्।

उनले एनसीपीका राष्ट्रिय अध्यक्ष शरद पवारले पनि सीएए एनआरसीलाई विरोध जनाएको बताउँदै यसको विरोधमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उठाइरहेको आवाजको पनि समर्थन जनाएको बताए।

“केन्द्र सरकारमा बसेका प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाहले सीएए एनआरसीको लागि विशेष एक धर्मका साथै गोर्खा समुदायलाई पनि निशाना बनाइरहेका छन्। असममा कैयौं गोर्खालाई एनआरसीबाट अलग गरेर अन्याय गरिएको छ। जुन गोर्खा समुदायका पूर्वजहरूले देशरक्षाका लागि आफ्नो ज्यानमा आहुति दिएका छन्’’, उनले थपे,  “यसमाथि दार्जीलिङका सांसद राजु विष्टले आफ्नो अड़ान स्पष्ट पार्नुपर्छ। यसरी नै यसै एनआरसी सीएएको विरोधमा अहिले पनि देशमा सङ्घर्ष जारी छ। यसै विषय लिएर एनसीपीले पनि आगामी १९ जनवरीको दिन सिलगढ़ीको चम्पासरीमा एक पार्टी कार्यकर्ता सम्मेलन आयोजना गर्ने तय गरेको छ।’’

उनले थप भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयंलाई हिटलर प्रमाणित गर्ने प्रयास गरिरहेका छन्। देशमा युवावर्गलाई रोजगार प्राप्त भएको छैन, देश विकासको मार्गबाट भट्किरहेको छ। तर, यसको ठीक विपरीत देशका प्रधानमन्त्री अनि गृहमन्त्री अन्य देशका नागरिकहरूलाई भारतको नागरिकता दिन तम्सिरहेका छन्। जसबाट देशमा अझै बेरोजगारीका साथै जनसङ्ख्या बढ्ने निश्चित छ।’’

फैजल अहमदको दाबीका अनुसार  देशका मुस्लिम समुदायलाई लक्ष्य गरेर नै एनआरसी सीएए लागू गरिने भएको छ। यो सबै आरएसएसको निर्देशमा नै भइरहेको पनि उनले आरोप लगाए।

“यसको विरोधमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जुन आन्दोलन गरिरहेकी छन्, त्यसलाई एनसीपीको पूर्ण समर्थन छ। यसैले आगामी २२ जनवरीको दिन दार्जीलिङमा तृणमूल कङ्ग्रेस विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आयोजना निकालिइने ऱ्यालीमा एनसीपीलाई निम्तो गरे, हामी अवश्यै भाग लिनेछौं’’, उनले भने।

फैजल अहमदले देशमा परिवर्तनको लहर चलिरहेको बताउँदै मोदी सरकारको समय पनि अब बेसी नरहेको दाबी गरे।

यसरी नै उनले दार्जीलिङ पहाड़मा विनय तामाङ अनित थापाको नेतृत्वमा सही विकासको काम भइरहेको बताउँदै उनीहरूको अगुवाईमा नै पहाड़को हित रहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here