दार्जीलिङ, 15 जनवरीः दार्जीलिङ सङ्गीत जगतका ‘पारस’ अर्थात् पारस गजमेर अब सशरीर हामीबीच रहेनन्।
आज राति दार्जीलिङ पवन रोडस्थित निवासमा उनको निधन भएको बताइएको छ।
साँझ घाम डुब्यो गीत यात्रा अझै बाँकी नै छ..गीतले प्रसिद्धि कमाएका गायक/सङ्गीतकार/शब्दकार पारस हिजो राति अचानकै बिते। यो क्षति नेपाली सङ्गीत जगतकै लागि अपुरणीय क्षति हो।
दृष्टिविहीन भए तापनि पारस गजमेर बहुप्रतिभाले सम्पन्न थिए। अत्यन्त जिनियस थिए। अद्भूत कल्पनाशक्तिका धनी थिए।
“पारस गायक मात्र थिएन, उनी साँच्चिकै मेलोडियस सङ्गीतकार थिए। मर्मस्पर्शी गीत लेखे। दाम्मी गिटार बजाउँथे”, वरिष्ठ सङ्गीतकार चन्दन लोम्जेल सुनाउँछन्, “पारस त हाम्रो सङ्गीतका हिरा हुन्। उनी राम्रा पफर्मर थिए। प्यारोडी गीतमा खप्पिस। अत्यन्त कल्पनाशील व्यक्ति। जोक्स पनि उत्तिकै राम्रो सुनाउँथे।”
दार्जीलिङको सूचना एवं संस्कृति विभागमा एक गिटारवादकको रूपमा नोकरी गर्दै आएका पारस गजमेरले साँझको घाम डुबे.. यात्रा अझै बाँकी नै छ गीत आफै लेखे। आफै सङ्गीत गरे र आफै गाए। यो गीतले सबैको मन छोयो। एउटा मास्टरपिस गीत बन्यो।
पारसभित्रको सङ्गीत पारस सबैले चिने। उनैले लेखेको परदेशीले चिट्ठी लेख्छु भन्थ्यो… अर्का चर्चित गीत चर्चित गायिका मनिला सोताङले गाएकी छन्।
यो गीत पारसको अर्का मनछुने गीत हो। त्यस्तै उनको अर्का चर्चित गीत दोबाटो छोड़ेर मलाई तिमीले ठूलो भूल गऱ्यौ…. भन्ने गीत महेश परियारले पनि गाएका छन्। यति मात्र होइन, उनका अरूरू गीत पनि मर्मस्पर्शी छन्। मन छुने छन्।
यी जिनियस पारस तर असामयिकै बिते। पारस सधैँ सकारात्मक बने। जति बाँचे सङ्गीतमै बाँचे। दृष्टिविहीन छु भन्ने कहिल्यै उनले देखाएनन्। बरू यसलाई सिर्जनाशक्तिको रूपमा रूपान्तर गरे। उच्च कल्पनाशक्तिका खानी बनिए पारस। मनका पीड़ा उनले कहिल्यै देखाएन्। ओठमा हाँस्यो लिएर बाँचे। आफ्ना स्रोता र साथी साथीसङ्गीहरूलाई जोक्स सुनाएर हसाउँथे। आफू पनि हाँस्थे उनीहरूसँगै बरू।
“पारस गजमेर हाम्रो सङ्गीतका हिरा नै हुन्। जिनियस व्यक्ति”, चन्दन लोम्जेल थप्छन्, “पारसको निधन हाम्रा लागि ठूलो क्षति हो।”
गीतकार पुरण गिरी भन्छन्, “हामीले एकजना अत्यन्त राम्रो गायक/सङ्गीतकार गुमायौँ। पारस गजमेरको यसरी असामयिक निधन हुनु नेपाली सङ्गीतकै लागि ठूलो क्षति हो। उनको योगदानलाई हामीले सदैव कदर गर्नुपर्छ। उनका कार्य, योगदान र कृतिहरूलाई खोजी गरेर सङ्ग्रहित गर्नुपर्छ। सुरक्षित राख्न पर्नेछ। यो कहिल्यै पूरा नहुने क्षतिमा आज हामी अत्यन्त दुःखित छौँ। शोकसंतप्त छौँ।’’
गीतकार गिरी थप्छन्, “पारस सङ्गीतका एक निधि थिए। अत्यन्त बहुप्रतिभाशाली व्यक्ति थिए।”
जानकारीका अनुसार आजै दार्जीलिङमा उनको अन्तिम संस्कार गरिनेछ।