दार्जीलिङ, 15 जनवरी: पश्चिम बङ्गाल भोटिया विकास बोर्डले नेपालस्थित चित्रेमा पनि सरकारी घर निर्माण गरिदिएको वेष्ट बेङ्गल भोटिया जोइन्ट एक्शन कमिटीले आरोप लगाएको छ।
यसका साथै कमिटीले भोटिया बोर्डका अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरूलाई आ-आफ्नो पदबाट बर्खास्त गर्नुपर्ने, भोटिया विकास बोर्डको कालेबुङ युनाइटेड ब्याङ्कमा रहेको एकाउण्ट फ्रीज गर्नुपर्ने साथै विकास बोर्डद्वारा गरिएका विकासका कामहरूमाथि गहन जाँच गर्नुपर्ने माग गरेको छ।
आज यसै विषय लिएर जोइन्ट एक्शन कमिटीका कार्यकारी अध्यक्ष दावाङ्ला भोटियाले भने, “दार्जीलिङ पहाड़ तथा तराई-डुवर्सका विपन्न परिवारका भोटिया समुदायका मानिसहरूको उत्थान गर्ने उद्देश्यले राज्य सरकारले भोटिया विकास बोर्डको गठन गरेको हो। तर यसका लागि आएको धनराशिबाट नेपालका रैथाने भोटियाहरूको घर निर्माण गरिएको हामीसित प्रमाण छ।’’
यति मात्रै होइन, पोख्रेबुङनजिक निवासी एक युवतीको नाममा कालेबुङमा ब्याङ्क एकाउन्ट खोलेर त्यहाँ भोटिया विकास बोर्डद्वारा जमा गरिएको घर निर्माण गर्ने राशिको पनि घोटाला गरेको उनले आरोप लगाएका छन्।
उनले भने, “भोटिया विकास बोर्डले यथार्थमा काम गरेको छैन, तर कागजमा धेरै काम गरेको देखाइएको छ। यसका प्रत्येक प्रमाण वेष्ट बेङ्गल भोटिया जोइण्ट एक्शन कमिटीसित छ। अनि यी प्रमाणहरू संलग्न गरेर दार्जीलिङका जिल्लापाल, पुलिस अधीक्षकसमक्ष पनि उजुरी गरिएको छ।’’
यसमाथि पुलिस प्रशासनबाट सन्तोषजनक कार्वाही भइरहेको थाह लागे पनि जिल्ला प्रशासनबाट खासै काम भएको नभएको उनले बताए।