दार्जीलिङ, 15 जनवरीः थामी वेलफेयर एसोसिएशनका पदाधिकारीहरूले राज्य र केन्द्र सरकारबाट आएका सहुलियतहरू बाहिर देशबाट आएका थामीहरूले उपभोग गरिरहेको छन् भन्ने आरोपको विरोधमा आज कैयौं थामीहरूले दार्जीलिङ सदर थानामा विक्षोभ प्रदर्शन गरे।
उनीहरूको भनाइ छ, “थामी वेलफेयर एसोसिएशनका पदाधिकारी महेन्द्र थामी, एके थामीहरूले कुन आधारमा दार्जीलिङ पहाड़का थामीहरू बाहिर देशबाट आएका हुन् भन्ने आरोप लगाए, त्यसको प्रमाण देखाउनुपर्छ।’’
यसका साथै थामी सांस्कृतिक एवं विकास सङ्घका सचिव सुमिरण थामीले भोलिदेखि दार्जीलिङ पहाड़भरिका थानाहरूमा थामी समुदायले महेन्द्र थामीहरूविरूद्ध मुद्दा दर्ता गर्ने निर्णय लिएको पनि बताए।
उनले भने, “महेन्द्र थामीहरूले दार्जीलिङ पहाड़मा भारत स्वतन्त्र हुनअघिदेखि बसोबासो गर्दै आइरहेका थामी समुदायलाई कसरी बाहिर देशबाट आएका हुन् भन्ने बताए, यसबारे शीघ्र स्पष्टीकरण दिनुपर्छ।’’
यसैबीच, उनले आफ्नो भोटर कार्ड देखाउँदै अन्यलाई पनि भारतीय हुन् भन्ने प्रमाणित गर्न भोटर कार्ड देखाउने अपील गरे। जसअनुसार, दार्जीलिङ सदर थाना परिसरमा भेला भएका थामी समुदायका सदस्यहरूले पनि आ-आफ्नो भोटर कार्ड देखाए अनि महेन्द्र थामीहरूको पहल वा ज्ञापनको कठोर शब्दमा आलोचना गरे।
सुमिरण थामीले थपे, “महेन्द्र थामीको आरोपले सम्पूर्ण थामी समुदायमाथि आघात पुगेको छ अनि यसविरुद्ध पुलिस प्रशासनले शीघ्र ठोस पहल गर्नुपर्छ।’’
यसरी नै थामी सांस्कृतिक एवं विकास सङ्घका अध्यक्ष विकास थामीले महेन्द्र थामीहरूलाई सम्पूर्ण थामी समुदायलाई विदेशी भन्ने आँट कहाँबाट आयो? भन्ने प्रश्न गर्दै यस्ता व्यक्तिहरूविरुद्ध कारबाही गर्नुपर्ने माग गरे।
उनले भने, “महेन्द्र थामी, एके थामी आदिद्वारा हस्ताक्षर गरिएको एक ज्ञापन दार्जीलिङका जिल्लापाललाई प्रदान गरिएको छ, जसमा बाहिर देशबाट आएका थामीहरूले केन्द्र र राज्य सरकारबाट आएका सहुलियतहरूको उपभोग गरिरहेका आरोप लगाइएको छ।’’
यसैबीच, थामी वेलफेयर एसोसिएशनका मूलसचिव महेन्द्र थामीसित यसबारे प्रश्न गर्दा उनले आफ्नो पक्षबाट यस्तो आरोप लगाइएको पूर्णरूपले झुटो हो भन्ने बताए।
उनले भने, “विशेष थामी विकास बोर्डका केही शीर्ष पदाधिकारीहरूले मनोपोली नीति अप्नाइरहेका छन् उनीहरूको विरोधमा एउटा सङ्गठनले आवाज उठाउँदा अन्य थामी समुदायका सदस्यहरूलाई दिग्भ्रमित पारेर आज विक्षोभ प्रदर्शन गर्न ल्याइएको हो।’’