स्वतन्त्र उम्मेद्वारको रूपमा ऋषिका छेत्रीले चुनाउ लड़्ने : गोर्खाल्याण्ड प्रमुख मुद्दा बनाउने

0
1439
पत्रकार सम्मेलन सम्बोधन गर्दै ऋषिका छेत्री।

सिलगढ़ी, 15 मार्च : आगामी लोकसभा चुनाउमा दार्जीलिङ संसदीय क्षेत्रबाट ऋषिका छेत्री निर्दलीय उम्मेद्वारको रूपमा  खड़ा हुनेछन्। उनी गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट (गल्फ) –की अध्यक्ष हुन्। बिहीवार सिलगढ़ीको जर्नलिस्ट क्लबमा सम्पन्न पत्रकार सम्मेलनमा छेत्रीले आफू स्वतन्त्र उम्मेद्वारको रूपमा आगामी लोकसभा चुनाउमा उठ्ने घोषणा गरिन्।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छेत्रीले चुनाउमा गल्फको प्रमुख मुद्दा छुट्टै राज्य गोर्खाल्याण्ड रहने बताइन्।

“गोर्खाल्याण्डको निर्माण संवैधानिक अधिकार हो। छुट्टै राज्यले मात्र देशलाई बलियो बनाउँछ”, उनले भनिन्।

यसका साथै गल्फले झूटा मुद्दाहरू थोपिएर जेलमा परेका र भूमिगत भएका गोर्खाल्याण्ड आन्दोलनकारीहरू पुनः पहाड़ फर्काउने, चियाकमानमा न्यूनतम रोज लागू, पहाड़मा पञ्चायत भोट, राजवंशी र कामतापुरी भाषालाई संवैधानिक मान्यता, दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामा सुधारलगायत अन्य समस्यालाई मुद्दा बनाउने बताइन्।

एक प्रश्नको उत्तरमा उनले पहाड़का विभिन्न राजनीतिक दलका विचार र सिद्धान्त फरक फरक भए तापनि मुद्दा एउटै छुट्टै राज्यको रहेको र छुट्टै राज्य गोर्खाल्याण्डको विरोधमा रहेको दलहरूले चुनाउ जित्न नसकून् भनेरै आफू निर्दलीय उम्मेद्वारको रूपमा लोकसभा चुनाउमा खड़ा हुने निर्णय लिएको स्पष्ट पारिन्।

उल्लेखनीय छ, ऋषिका छेत्री गोर्खा, आदिवासी, राजवंशी युनाइटेड फ्रन्टकी अध्यक्ष पनि हुन्। उनले छुट्टै राज्य गोर्खाल्याण्डसँग सँगै कामतापुरी र राजवंशी भाषाले संवैधानिक मान्यता पाउनुपर्ने माग पनि गर्दै आएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here