दार्जीलिङ/सिलगढ़ी, 14 मार्च : दार्जीलिङ लोकसभा समष्टिका लागि तृणमूल उम्मेद्वार अमरसिंह राईलाई दार्जीलिङमा बिहीवार भव्य स्वागत जनाइएको छ। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) विनय समूहले उनलाई बिहीवार दार्जीलिङमा हजारौं समर्थकका साथमा स्वागत जनाएको हो।
बाघडुग्रादेखि दार्जीलिङसम्मै उनलाई स्वागत जनाउन उर्लिएको भीड़ देखेर उत्साहित बनेका विनय तामाङले राईले दुई लाखभन्दा अधिक भोटको व्यवधानले चुनाउ जित्ने दाबी गरे।
दार्जीलिङका विधायकसमेत रहेका राईलाई आज बाघडुग्रा हवाई अड्डामा गोजमुमो र तृणमूलका सयौं समर्थकहरूले स्वागत गरेका थिए।
रोड शो गर्दै उनलाई सुकना, तीनधारे, खरसाङ हुँदै दार्जीलिङ पुर्याइएको थियो। दार्जीलिङ शहर पुग्दा उनलाई पटेका पड़्काएर तथा बाजा-गाजासहित स्वागत गरियो। यो स्वागत गोजमुमो केन्द्रिय समितिको कार्यालयसम्म जारी थियो। दार्जीलिङ आइरहेको समय उनी गिद्देपहाड़स्थित मन्दिरमा पनि दर्शनका लागि पसे।
“हाम्रो आलोचना गर्नेहरूलाई भन्न चाहन्छु-तपाईंहरू बाघडुग्रादेखि दार्जीलिङसम्म हामीलाई स्वागत गर्ने मानिसहरूको समर्थन र भीड़ हेर्नुहोस्। मैले आज नै हामीले जितिसकेको महसुस गरेको छु। हामीले जनतालाई नबोलाइ नै यस्तो स्वागत गरिनु शुभसङ्केत हो। आज ग्रामीण क्षेत्रका मानिसहरू यहाँ आएनन्, नत्र भीड़ अझ बढ्नेथियो”, विनय तामाङले दार्जीलिङमा भने।
उनले अझ भने, “यसअघि मैले हाम्रा उम्मेद्वारले डेढ़ लाख भोटले जित्नेछन् भनेको थिएँ, तर जनसमूह हेर्दा हामी दुई लाखभन्दा अधिक मतले जित्नेछौं भन्ने मलाई विश्वास भयो। यदि भाजपाले यहाँ नरेन्द्र मोदी वा अमित शाह नै ल्यायो भने पनि उनीहरूले जमानत जफत हुनेगरी हार्नेछन्।”
राईले पर्सी कोलकातामा विधायक पदबाट राजीनामा दिने अनि 26 मार्चमा आफ्नो मनोनयन भर्ने तामाङले जानकारी दिए।
तृणमूल कङ्ग्रेससँगको गठबन्धनमाथि बोल्दै उनले भने, “हामी जनतालाई स्पष्ट गर्न चाहन्छौं, हामी तेस्रो मोर्चामा सामेल भएपछि तृणमूलसँग थियौं। राजनीतिमा लेनदेन हुन्छ। जनता भूमिपुत्र चाहन्थे। टीएमसीको कोर कमिटीले यसप्रति सहमति जनायो। हाम्रा उम्मेदवार टीएमसीबाट उठ्नुपर्ने सुझाउ आयो जसमा हामी सहमत भयौं।”
उम्मेद्वारले नामाङ्कन भरेपछि टीएमसी र गोजमुमोले सँगै मिलेर प्रचार गर्ने अनि संयुक्त कार्यालय खोल्ने उनले जनाए। यसका लागि टीएमसीसँग बैठक गर्ने उनले बताए। तेस्रो मोर्चासमक्ष उठाएका मुद्दाहरू नै चुनावी मुद्दा हुने तामाङले जानकारी दिए।
देशमा गोर्खा चिन्हारी, सुरक्षा र परिचय, 11 जातगोष्ठीलाई जनजातिको मान्यता, सिन्कोना र चिया बगानका श्रमिकहरूलाई पर्चापट्टा, नेपाली समुदायलाई भाषिक अल्पसङ्ख्यकको दर्जा, पूर्वोत्तर परिषद् (नर्थ इस्ट काउन्सिल)-मा जीटीएको अन्तर्भुक्ति, चिया बगानमा निम्नतम हाजिरा ऐन लागू, कालेबुङमा डीआई फण्ड क्षेत्रको भूमि तथा भूमि सुधार विभागलाई हस्तान्तरण अनि जीटीएको संवैधानिक मान्यता जस्ता मुद्दाहरू चुनावी एजेण्डा हुने उनले जनाए।
अर्कोतिर, बाघडुग्राबाट जनसंवाद प्रतिनिधिले जनाएअनुसार, गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) विनय समूहका समर्थक र तृणमूल कङ्ग्रेसका हजारौं कार्यकर्ताले बिहीवार बाघडुग्रा हवाई अड्डामा दार्जीलिङबाट लोकसभाका उम्मेदवार अमरसिंह राईलाई भव्य स्वागत जनाए अनि पहिलोपटक रोड शो गरेर दार्जीलिङ लिएर गएका थिए।
हिजो बिहान बागडोगरा हवाई अड्डामा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) नेता विनय तामाङ र दार्जीलिङ टीएमसी प्रमुख तथा पर्यटन मन्त्री गौतम देवसहित हजारौं समर्थकले अमरसिंह राईलाई स्वागत जनाए।
यसअवधि विनय समूह मोर्चा समर्थकहरूले भूमिगत नेता विमल गुरुङ र भाजपा नेता एसएस अहलुवालियाको विरोधमा पनि नाराबाजी गरे।