दार्जीलिङ, 15 मार्च : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) तृणमूल कङ्ग्रेस उम्मेद्वार अमरसिंह राईलाई पराजित गर्न ‘जाति र माटोप्रेमी’ गोर्खाहरूलाई एकजुट भएर अघि आउने आह्वान गरेको छ।
शुक्रबार गोरामुमोको स्टेरिङ कमिटीको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता नीरज जिम्बाले यस्तो आह्वान गरेका हुन्।
आगामी लोकसभा चुनाउलाई लिएर पार्टीको स्टेरिङ कमिटीको बैठक बसिएको तथा उक्त बैठकमा ‘साझा सहमतिका उम्मेद्वार’ र गोरामुमोको भूमिकामाथि विशद् चर्चा परिचर्चा गरिएको उनले बताए।
जिम्बाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “दार्जीलिङ लोकसभा क्षेत्रबाट साझा सहमतिको उम्मेद्वारका लागि गोरामुमोले हरसम्भव प्रयास गर्नेछ। विभिन्न पार्टीहरूको आ-आफ्नै समस्या भएकोले आज हुने भनिएको सर्वदलीय बैठक हुनसकेन, तर साझा सहमतिको उम्मेद्वारका लागि गोरामुमोले अन्तिम समयसम्म पहल गर्नेछ।”
जिम्बाका अनुसार पछिल्लो बैठकमा लिइएको आमनिर्णयका अनुसार चर्चा-परिचर्चा गरी आज साझा उम्मेद्वारको घोषणा गर्ने भनिएको थियो, तर दुर्भाग्य यस्तो हुनसकेन। आज साझा उम्मेद्वारको घोषणा हुननसके तापनि अझै नामाङ्कन भर्ने प्रक्रिया शुरु हुन 8 दिन बाँकी रहेकोले यो समय अवधिभित्र कुनै पनि प्रकारको महत्त्वपूर्ण राजनीतिक विकास हुनसक्ने आशा व्यक्त गरे।
“गोरामुमो पार्टीले अहिले पनि भन्दैछ, हाम्रो ढोका खुल्ला छ। विनय-अनित-अमर एन्ड ग्रुपलाई पराजित गर्न हामी यमराजसँग पनि हात मिलाउन तयार छौं”, उनले थपे, “अहिले राजनीतिमा तुरुकको पत्ता खोलिहाल्नु हुँदैन। गोरामुमोको यो नै खुबी छ। ‘गेम अव् कार्ड’-मा ससानो पत्ता हुनेहरूले आफ्नो पत्ता खोलिहाल्छ र ‘प्याक’ पनि गरिहाल्छ। त्यस्ता दुई-चारजना प्याक भइसके दार्जीलिङमा। 10 मार्चमा अस्ति एउटा पार्टी प्याक भयो। अस्ति एउटा पार्टी प्याक भयो। हिजो गोरामुमोको जस्तै झण्डा भएको अर्को पार्टी प्याक भयो।”
जिम्बाले विनय-अनित एन्ड ग्रुप र तृणमूल कङ्ग्रेसलाई यसपालि कुनै पार्टी नभएर गोर्खाले पराजित गर्नुपर्ने बताए।
“विभिन्न राजनीतिक दलले आ-आफ्नो उम्मेद्वार दिए पनि गोर्खाहरूले विनय-अनित र तृणमूललाई पराजित गर्नु पर्नेछ। यिनीहरूलाई हराएनौं भने गोर्खाको अस्मिता, गोर्खाको अस्तित्व, गोर्खा शब्द र गोर्खाको सपना गोर्खाल्याण्ड सबै भूमिभित्र दबिनेछ”, गोरामुमो प्रवक्ता जिम्बाले भने।
उनले आफ्नै भूमिमा जन्मेका ‘मिर जाफर’ ‘जयचन्द’-हरूको सट्टा दार्जीलिङ पहाड़, यहाँको माटो र गोर्खा जातिलाई माया गर्ने ‘बाहिरको उम्मेद्वार’ नै असल रहेको पनि बताए।
उनले एक प्रश्नको उत्तरमा गोरामुमोको मुख्य लक्ष्य नै ‘गद्दारहरू’-लाई पराजित गर्नु रहेको पनि बताए। “पहाड़बाट गद्दारहरूलाई पराजित गर्नु नै मुख्य लक्ष्य हो। गद्दारहरूलाई पराजित गर्न सकिएमा अरु सबै ‘सेकेण्डरी’ हुनेछ”, उनले भने।