किराती खम्बु राई एसोसिएशनले भोट बहिष्कार गर्ने

0
1380
भारतीय किराती खम्बु राई एसोसिएशनका सदस्यहरू।

दार्जीलिङ, १५ मार्च : अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले आगामी लोकसभा चुनाउमा मतदान गर्ने घोषणा गरेको छ। खम्बु राई जातिले जनजातिको मान्यता नपाएकै कारण एसोसिएशनले यसपालि भोट नगर्ने अड़ान दिएको यसका अध्यक्ष योगेश मुक्सु राईले बताएका छन्।

शुक्रबार दार्जीलिङमा एक पत्रकार सम्मेलनको आयोजन गरी उनले यसबारे जानकारी गराएका छन्। योगेश मुक्सु राईका अनुसार एसोसिएशनको मूल माग जनजाति हो। यसका लागि राज्य र केन्द्र सरकारलाई धेरैपटक अर्जी चढ़ाउँदा पनि माग पूरा नभएको बताएका छन्।

उनले अघिल्लो सङ्गठनले समुचित कार्य नगरेको कारण अखिल भारतीय खम्बु राई एसोसिएशन गठन गरी जनजाति र राई जातिका अन्य समस्याहरू समाधानका लागि कार्य गरिरहेको दाबी गरे।

योगेश मुक्सु राईका अनुसार ८ वटा राज्यमा सङ्गठन छन्। भने सङ्गठनमा लगभग दुई-अढ़ाई लाख सदस्य छन्। उनले जनजाति प्राप्तिका लागि सङ्गठनले सबै प्रकारको पहल गरेको र सबै मापदण्ड पूरा गरिसकेकोले दिनु नदिनु सरकारको हातमा रहेको बताए।

सङ्गठनले सबै प्रकारको पहल गर्दा पनि सरकारले जनजातिको मान्यता दिने कुनै छनक नदेखिएपछि आगामी चुनाउमा भोट नहाल्ने सङ्गठनले निधो गरेको खुलाए। यद्यपि यो निर्णय सङ्गठनका पदाधिकारीहरूको एकल निर्णय नभएर सबै सदस्यको सरसल्लाहमा लिइएको निर्णय रहेको उनले बताए।

माग पूरा नभएपछि खम्बु राई सदस्यहरू रूष्ट बनेको उनको भनाइ छ। राई जाति भोट मशिन मात्र होइन भन्ने योगेश मुक्सु राईले बताएका छन्।

उनले राई विकास बोर्डमार्फत्  राई जातिका गरीब र आवश्यकीय सदस्यहरूलाई फाइदा पुग्न नसकिरहेको पनि बताएका छन्। जसलाई घरको आवश्यकता छ, जो लड़िसकेका र लड़्न लागेको कच्चा घरमा बसिरहेका छन्, त्यस्ता सदस्यहरूको घर बनिनको सट्टा राम्रो कतिजनाको राम्रै रहेको घरलाई भत्काएर राई घर बनाइने कार्य भइरहेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here