गान्तोक,14 मार्चः सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज राज्य विधानसभाका 32 सीटमध्ये 18 वटा सीटमा उम्मेदवारको नाम घोषणा गरेको छ।
18 जनामध्ये 10 जना नयाँ अनुहारलाई अवसर दिइएको छ। 4 जना महिला उम्मेदवार रहेका छन् भने युवा उम्मेदवार झण्डै 6 जना रहेका छन्। 8 जना उम्मेदवारले यसपटक पनि पुनः टिकट पाएका छन्, जसमध्ये चारजना निवर्तमान मन्त्रीहरू छन्।
पश्चिम जिल्लाका 8 मध्ये 6 वटा, दक्षिण जिल्लाका 8 मध्ये 7 वटा, पूर्व जिल्लाका 12 मध्ये 4 वटा र उत्तर जिल्लाका 4 मध्ये एउटा सीटमा सत्तारूढ़ पार्टीले आफ्ना उम्मेदवार घोषणा गरेको हो। पार्टीले आधिकारिक रूपमा पत्रकार सम्मेलन आयोजन गरेर उम्मेदवारको नाम घोषणा गर्नअघि नै सामाजिक सञ्जालमा नामहरू सार्वजनिक भइसकेको थियो।
एसडीएफ संसदीय समितिले जारी गरेको सूची मोबाइल-मोबाइलमा पुगेपछि राज्यभरि उम्मेदवारलाई लिएर समर्थकहरू खुशी मनाउन तथा समर्थनमा नाराबाजी र रोड शो गर्नथाले। पार्टी मुख्यालयमा पनि समर्थकहरूको निकै भीड़ जमेको थियो। केही उम्मेदवारलाई मुख्यालयबाटै खादा-माला लगाएर आफ्ना समष्टितिर लगिएको थियो।
उम्मेदवारहरूका नाम सार्वजनिक भएको केही पछि एसडीएफ पार्टीले पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा यो नामलाई मोहर लगायो। एसडीएफ प्रवक्ता तथा निवर्तमान सांसद पीडी राईले पार्टीका 18 जना उम्मेदवारको नाम पढ़ेर सुनाए।
“संसदीय समितिले धेरै नयाँ अनुहार ल्याएको छ। हामी सबैलाई स्वागत गर्दछौं। दोस्रो तथा अन्तिम चरणको सूची आगामी केही दिनमै जारी गरिनेछ”, राईले पत्रकारहरूलाई जानकारी दिए।
पार्टीले शीघ्रै चुनाउ घोषणा-पत्र जारी गर्ने बताउँदै उनले भने,“हाम्रो चुनाउ घोषणा-पत्र यसपटक ऐतिहासिक हुनेछ। घोषणा-पत्रले सिक्किमलाई अर्को उँचाइमा पुर्याउनेछ। घोषणा-पत्रमा युवाहरूलाई विशेष प्राथमिकता दिइएको छ।”
यसपटकको चुनाउको मुख्य मुद्दा ‘सिक्किम बचाउनुपर्छ’ भन्ने रहेको उनले बताए। अर्का प्रवक्ता भीम दाहालले दोस्रो चरणको टिकट वितरणमा पनि जनताको इच्छा, सुझाउ र पार्टीको रणनीतिलाई ध्यानमा राखेर उम्मेदवार दिइने अवगत गराए। दुईजना तामाङ र एकजना लिम्बूले टिकट पाइसकेको र पार्टीको घोषणाअनुसार लिम्बू समुदायलाई अझै दुईवटा टिकट प्रदान गरिने पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा उनले बताए।