केन्द्रले चाँड़ो राजनीतिक वार्ता शुरु गर्नुपर्छः गोरामुमो

0
1168

दार्जीलिङ, 14 मार्चः दार्जीलिङ पहाड़का जनताले चाहेमा भाजपासँग गोरामुमोले गठबन्धन तोड़्न तयार रहेको बताएको छ।

शनिवार केन्द्रिय समितिको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले एक प्रश्नको उत्तरमा यदि जनताले चाहेको खण्डमा गोरामुमोले भाजपासँगको गठबन्धन तोड़्न तयार रहेको बताए।

तर भाजपासँग गठबन्धन तोड़्न अघि जनताको विचार जान्ने छेत्रीले बताएका छन्। यसैले गोरामुमोले राजनीतिक कार्यक्रम बनाएको पनि उनले बताए।

“यदि जनताले भाजपासँगको सम्बन्ध तोड़्न चाहेमा हामी गठबन्धन तोड़्नेछौं। हामी यसका लागि तयार छौं”, छेत्रीले थपे, “हामीले पछिल्ला 11 वर्षदेखि तीनपटक भाजपालाई जितेका छौं, तर अहिलेसम्म हाम्रा एउटै मुद्दामाथि डायलग ओपन गरेको छैन। यसैले हामी चाहन्छु, कम्तीमा पनि यहाँको राजनीतिक मुद्दामा भाजपाले पोलिटिकल डायलग ओपन गरोस्।”

उनले भाजपाले अहिलेसम्म सङ्कल्प-पत्रमा उल्लिखित दुई मुद्दा सम्बन्धमा भाजपाले वार्ता शुरु नगरेकोमा असन्तुष्टि जताए।

उनका अनुसार गोरामुमोले गृहमन्त्री अमित शाहलाई भेट्ने अपोइन्ट्मेन्ट मागे तापनि आजका दिनसम्म अपोइन्ट्मेन्ट नपाएको तथा सङ्कल्प-पत्रमा वाचा गरिएका दुई मुद्दा गोर्खाहरूको स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यता विषयबारे यथाशीघ्र वार्ता शुरु होस् भन्ने मागमा पार्टीले गृहमन्त्रालयलाई चाँड़ै पत्राचार गर्ने बताए।

“स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिन प्रतिबद्ध रहेको भाजपालाई पछिल्लो लोकसभामा चुनाउमा हामीले जिताएर पठाएको छौं। अब यी मुद्दाहरूका लागि वार्ता शुरु गर्नु भाजपाको कर्तव्य रहन्छ”, छेत्रीले भने।

यसका साथै भाजपामाथि चाप सृष्टि गर्नका लागि ब्राञ्चस्तरमा लगातार पार्टीले कार्यक्रम गर्ने निर्णय गरेको छेत्रीले बताए।

उनका अनुसार कोरोना भाइरसको सङ्क्रमण घटेमा आउँदो 5 अप्रेलका दिन दार्जीलिङमा गोरामुमो केन्द्रिय समिति विराट् जनसभा आयोजन गर्नेछ। यो जनसभा पार्टीको स्थापना दिवसकै एक हिस्सा हुनेछ।

अर्कोतिर, उनले गठबन्धनकै सहयोगी विमल गुरुङपन्थी गोजमुमोमाथि पनि कटाक्ष गर्न बिर्सेनन्।

उनले परोक्ष रूपमा विमलपन्थी गोजमुमोमाथि कटाक्ष गर्दै भने, “हामी अरू पार्टीजस्तो दिल्ली गएर मन्त्री र सांसदहरूलाई खदा माला गर्दैनौं। यस्तो हामीले 2007 देखि देख्दै आएका छौं। फोटो खिचाउने, ज्ञापन दिनेतिर गोरामुमो जाँदैन। र आउँदो दिनमा पनि त्यस्तोतिर जानेछैन। त्यसैले हामी चाहन्छौं केन्द्र सरकारले चाँड़ोभन्दा चाँड़ो राजनीतिक वार्ता शुरु गरोस्।” स्मरणरहोस्, गोरामुमोको केन्द्रिय समितिको बैठक अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसिएको थियो। जुन बैठकमा केही प्रस्ताव ग्रहण गरिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here