भाजपालाई भोट दिएर पहाड़ले पश्चाताप गरिरहेको छः तृणमूल कङ्ग्रेस

0
1307
पत्रकारहरूलाई सम्बोधन गर्दै एनबी खवास र अन्य।

दार्जीलिङ, 15 मार्चः दार्जीलिङ पहाड़का जनताले गत लोकसभा चुनाउमा भारतीय जनता पार्टीलाई भोट दिएर हाल पश्चताप गरिरहेको तृणमूल कङ्ग्रेसले दाबी गरेको छ।

यसैले अर्को वर्ष 2021-मा हुने बङ्गाल विधानसभाको चुनाउमा दार्जीलिङ पहाड़मा मात्रै होइन, समग्र बङ्गालभरिकै विधानसभा आसनमा तृणमूल कङ्ग्रेसको जीत हुने पनि तृणमूल कङ्ग्रेसको दार्जीलिङ विधानसभा क्षेत्रका समन्वयक एनबी खवासले ठोकुवा गरेका छन्।

हाल तृणमूल कङ्ग्रेसले राज्यका 294 वटै विधानसभा आसनमा जन-सम्पर्क अभियान चलाइरहेको छ। यसै क्रममा दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले पनि रिम्बिक-लोधोमा समष्टिबाट आफ्नो जन-सम्पर्क अभियान चलाइरहेको छ।

यसैबीच, आज पार्टीले स्थानीय पार्टी कार्यालयमा नै एक सभाको आयोजन गरेको थियो।

सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै खवासले भने, “पार्टीले राज्यमा 75 दिने जन-सम्पर्क अभियान चलाइरहेको छ। यसै समय पहाड़का जनताले गत लोकसभा चुनाउमा भाजपालाई भोट दिएर जिताएकोमा पश्चताप गरिरहेका छन्।”

यसैले आउँदो विधानसभा चुनाउमा पहाड़का जनताले तृणमूल कङ्ग्रेस अनि विनय तामाङपन्थी गोजमुमोको गठबन्धनको पक्षमा नै मतदान गर्ने निश्चित भइसकेको खवासको दाबी छ।

किनभने, तृणमूल कङ्ग्रेसले सत्यको आधारमा राजनीति गरिरहेको र विकासलाई प्राथमिकता दिएर जनताअघि जाने काम गरिरहेको उनले बताए।

“तर यसको ठीक विपरीत केन्द्रमा सत्तारूढ़ रहेको भारतीय जनता पार्टीले देशभरिकै जनतालाई झूटो आश्वासन मात्रै दिने काम गरिरहेको छ”, तृणमूल नेता एनबी खवास आरोप लगाए।

उनका अनुसार भाजपाले दार्जीलिङका लागि स्थायी राजनीतिक समाधान र 11 वटा जात-गोष्ठीलाई अनुसूचित जनजातिको मर्यादा दिने पनि वचन दिएको थियो” उनले थपे, “तर केन्द्रमा भाजपा सत्तामा रहेको 6 वर्ष पूरा भइसक्दा पनि दार्जीलिङ पहाड़ र गोर्खा जातिका लागि कुनै काम भएको छैन।”

यसैले आउँदो विधानसभा चुनाउअघि पनि भाजपाले पहाड़का जनतालाई लट्याउनका लागि नयाँ कुनै रणनीति ल्याएर आउने निश्चित रहेको उनको भनाइ छ। तर अब पहाड़का जनताले भाजपाको झूटो राजनीति र फोस्रो आश्वासन बुझिसकेका ठोकुवा गरेका छन्।

खवासका दाबीका अनुसार यसैले आउँदो विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का जनताले भाजपालाई सही जवाब दिनेछन्।

यसैबीच, तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़का आफ्ना निष्क्रिय बनेर बसेका 80 प्रतिशत कार्यकर्ताहरूलाई पुनः सक्रिय बनाउन सकेको पनि खवासले बताए।

उनले भने, “2017-को आन्दोलनपछि पहाड़का अधिकांश तृणमूल कङ्ग्रेस कार्यकर्ता निष्क्रिय बनेका थिए। यसैले उनीहरूलाई पार्टीले पुनः सक्रिय बनाउने कमा गरेको छ।”

एक प्रश्नको उत्तरमा उनले भने, “पार्टीले कार्यकर्ताहरूलाई सक्रिय बनाउनका साथै पहाड़का जनताको मन बुझ्ने काम पनि गरिरहेको छ। यसै मन बुझ्ने क्रममा नै पहाड़का जनताले भाजपालाई दिएको भोट खेरो गएको अनुभव गरिरहेको पत्तो पाएको हो।”

यसरी नै पार्टीले दार्जीलिङ नगरपालिका क्षेत्रमा विगत केही वर्षदेखि चलिरहेको अमरूत जल परियोजनाको काममा असन्तुष्टि पनि जाहेर गरेको छ।

यसबारे खवासले भने, “हाल अमरूत जल परियोजनाअन्तर्गत् पानीको पाइप लाइन ओछ्याउनका लागि खनिएका खाल्डोहरू राम्रोसित पुर्ने काम भएको छैन। धेरैवटा स्थानमा पानीको पाइप ठीकसित गाड़िएको पनि छैन। यसैले बर्खाको समय यी खाल्डोहरूबाट पानी सोसिएर ठूलो दुर्घटना हुने सम्भावना प्रबल बनेर गइरहेको छ।”

केही वर्षअघि मिरिकको टिङलिङमा पनि यस्तै खाल्डोको कारण ठूलो दुर्घटना भएको खवासले बताए। यसैले यस्तो त्यस्तो दुर्घटना दार्जीलिङमा नदोहोरियोस् भन्ने उनको भनाइ छ।

“बर्खा लाग्नअघि नै दार्जीलिङ नगरपालिका प्रशासनले यो जल परियोजनाको काम पूरा गरिसक्नुपर्छ”, उनले माग गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here